नेभिगेशन
प्रदेश

एकीकरणमा अमरसिंह थापाको योगदानको स्मरण गरियो

काठमाडौं । विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देहत्याग गरेका नेपाल एकीकरणमा योगदान रहेका राष्ट्रिय विभूति अमरसिंह थापाको २१०औं स्मृति दिवस राजधानीमा मनाइयो । 
    राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले शनिबार आयोजना गरेको कार्यक्रममा विसं १८०० मा नुवाकोट विजय गरेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शिलान्यास गरेको नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पु¥याएको योगदानका विषयमा स्मरण गरिएको हो । 
    कार्यक्रमलाई सम्बोधन गर्दै सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेलले अमरसिंह थापा इतिहासका असाधारण व्यक्तित्व भएको बताए । राष्ट्रनिष्ठा र स्वाभिमानले युक्त थापाले प्रलोभन आउँदा ‘म बाघको बच्चा (डमरु) हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिएको अभिव्यक्तिले नै उनको व्यक्तित्व प्रस्ट हुने बताए । सबै नेपालीले अमरसिंहको चरित्र बोक्नुपर्ने समय आएको न्यायधीश पोखरेलले बताए । स्वाभिमानबाट बनेको अमरसिंहको इतिहास कसैले मार्न चाहेर नमर्ने पनि उनको भनाइ थियो ।
    वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले कुमाउ, गढवाल, काँगडालगायतका स्थल अमरसिंहले नेपालमा गाभ्न सफल भएको जानकारी दिए । यस्ता व्यक्तित्वका नाममा ऐतिहासिक संग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट सहयोगको पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए । अर्का वाग्मती प्रदेशसभा सदस्य उद्धव थापाले धादिङको केवलपुरमा निर्माण भएको बडाकाजी अमरसिंह धामको विकासका लागि बागमती प्रदेश सरकारबाट सहयोगका लागि पहल गर्ने बताए । 
    इतिहास एवं संस्कृति विषयका प्रा. डा. राजाराम सुवेदीले अन्य बाइसे, चौबिसे राज्यमा नभएको एकीकरणमा मरेका सेनाका परिवारलाई मरवटबापत जग्गा दिने प्रचलनले नै गोरखा राज्यले नेपालको एकीकरण गर्न सफल भएको बताए । 
    अमरसिंहका विषयमा विद्यावारिधि शोध गरेकी प्रा. डा. इन्दिरा जोशीले नुवाकोट जितेको २५ वर्षपछि पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गरेको जानकारी गराउँदै त्यो युद्धमा अमरसिंह पनि सक्रिय सहभागी भएको बताइन् । अमरसिंहको निडरता र निष्पक्षताको सबै नेपालीले अनुशरण गर्नुपर्ने उनको भनाइ थियो । 
     कार्यक्रममा गोरखाको सिरानचोक गाउँपालिकाका पूर्वअध्यक्ष राजु गुरुङलाई सम्मान गरिएको थियो । गाउँपालिका अध्यक्ष हुँदा उनले अमरसिंहको स्मृति दिवस पारेर प्रत्येक वर्ष साउन १६ गते पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराएका थिए । सम्मानपछि उनले विसं १८०८ मा गोरखाको सिरानचोकमै अमरसिंह जन्मिएको प्रमाण आफूले विभिन्न पुस्तकमा प्राप्त गरेपछि स्मृति दिवसमा पालिकास्तरमा सार्वजनिक बिदा दिने निर्णय गराएको बताए । सिरानचोकका डाँडामा पाँच÷पाँच किलोमिटरको दूरीमा गढी रहेकाले त्यसको संरक्षणका साथ प्रचारप्रसार पनि गरिनुपर्ने पनि उनले बताए ।
    नेपाली सेनाका पूर्वसहायक रथी एवं सैनिक इतिहासविद् डा. प्रेमसिंह बस्नेतले पूर्वमा टिस्टादेखि पश्चिममा किल्ला काँगडासम्म नेपालको सीमा विस्तार गर्ने काममा अमरसिंहको महŒवपूर्ण भूमिका रहेको बताए । अमरसिंहले विसं १८२० मा धुलिखेलको युद्धदेखि लडाइँ लड्न सुरु गरेको पनि उनले कार्यक्रममा जानकारी गराए ।
    प्रतिष्ठानका संस्थापक अध्यक्ष बाबुरमसिंह थापाले अमरसिंहले सुगौली सन्धिलाई स्वीकार नगरी त्यही कारणले विसं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देहत्याग गरेको बताए । देशको माया गर्ने अमरसिंह जस्ता व्यक्तित्वलाई भावी पुस्ताले सम्झने माध्यम बनाउनकै लागि प्रतिष्ठान स्थापना गरिएको जानकारी पनि उनले गराए ।
    कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष गणेश थापा, वरिष्ठ उपाध्यक्ष इन्द्रबहादुर कार्की, कवयित्री डा. शशी पण्डित, प्रा. डा. श्रीरामप्रसाद उपाध्यायलगायतले नेपाल एकीकरणको इतिहासमा अमरसिंहले खेलेको भूमिकाबारे चर्चा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्