काठमाडौं । विराटनगर–७ को पण्डित मेघराज शर्मा मार्गमा सोमबार एकाबिहानै ठूलो संस्यामा प्रहरी तैनाथ भयो । जिल्ला प्रहरी कार्यालय मोरङ र वडाका गरी आधा दर्जन पिकप र ट्रकमा पुगेका प्रहरीले सडकमा आवागमन बन्द गरायो । आधाजस्तो दलबल प्रतिष्ठित औद्योगिक घराना देवेनारा समूहको मुन्दडा निवासमा पस्यो र, कुनै आतंककारी समात्न परिचालित भएजसरी खानतलासी थाल्यो ।
पाँच घण्टा लामो खानतलासीपछि ‘कुनै आपत्तिजनक सामग्री फेला परेन’ भन्दै प्रहरी टोली हिँड्यो । मुन्दडा परिवार त्यसपछि बल्ल घरबाहिर आयो । बाहिर निस्केका वेनीगोपाल मुन्दडा र उनका भतिजा व्यापार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दडाले सञ्चारकर्मीसँग गलत सूचनाका कारण प्रहरीले खानतलासी गरेको दुखेसो पोखे । ‘उहाँहरुले खानतलासी गर्न आएका हौं भन्नुभयो, सबैतिर हेर्नुभयो, गैरकानुनी केही भेटेनौं भन्नुभयो,’ वेनीगोपालले भने ।
बालेन सरकारसँग निजी क्षेत्र नयाँ लगानी बिस्तारका आश्वस्त हुन नसकेका बेला मुन्दडा निवासमा प्रहरीको छापाले उद्योगी व्यवसायीलाई तर्साएको छ । घटनाले निजी क्षेत्र र लगानीकर्तामाझ व्यापक चासो पैदा गरेको छ ।
खानतलासीमा कुनै पनि गैरकानुनी वस्तु फेला नपरे पनि अपरेसनको शैली, परिमाण र प्रक्रियाले उद्योगी–व्यवसायीहरूमाथि बिना प्रमाण दुःख दिने प्रवृत्ति बढेको स्पष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले मुन्दडा निवासमा सोमबार बिहान करिब ४ः ४५ बजेदेखि छापा मारेको थियो । प्रहरीले घर र कार्यालयलाई पूर्ण रूपमा घेराबन्दी गरी करिब साढे चारदेखि साढे पाँच घण्टासम्म विस्तृत खानतलासी गरेको थियो । गोल्छा मोडदेखि मेघराज मार्गसम्मको सडकमा आवागमन पूर्ण रूपमा बन्द गरिएको थियो ।
वास्तविक सूचनाको अभावमा जनमानसमा आतंक र त्रास फैलिने गरी सर्वसाधारणको आवतजावत रोकिएको थियो । स्थानीयहरूका अनुसार दृश्य सामान्य खानतलासीभन्दा आतंककारी पक्राउका लागि गरिने सुरक्षा अपरेसनजस्तो देखिन्थ्यो । करिब दुई सयको हाराहारीमा प्रहरी परिचालन भएको स्थानीय स्रोतहरूले बताएका छन् ।
निजी क्षेत्रलाई उच्च मनोबलका साथ लगानी विस्तार गर्न, उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न आग्रह गर्दै आएको सरकारकै प्रतिबद्धताविपरीत भएको सोमबारको घटनाले सरकारप्रति विश्वस्त हुन नसक्ने आधार बनाएको निजी क्षेत्रका अगुवाहरु बताउँछन् ।
प्रधानमन्त्री र अर्थमन्त्रीले पछिल्ला सार्वजनिक कार्यक्रमहरूमा निजी क्षेत्र अर्थतन्त्रको प्रमुख साझेदार भएको उल्लेख गर्दै लगानीकर्तालाई ढुक्क भएर उद्योग विस्तार गर्न, उत्पादन बढाउन र रोजगारी सिर्जना गर्न पटक–पटक आग्रह गर्दै आएका छन् । सरकारले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, बजेट र श्वेतपत्रमार्फत पनि निजी क्षेत्रसँग सहकार्य गर्दै लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ ।
अवैध नगद कारोबार, हुन्डी, कर छली तथा अवैध चाँदी कारोबारसम्बन्धी सूचनाका आधारमा अनुसन्धान गरिएको भने पनि कुनै आपत्तिजनक वस्तु बरामद हुन नसकेको प्रहरीले जनाएको छ ।
एक उद्योगीले भने, ‘राज्यले कुनै पनि बहानामा छापा मार्ने धरपकड गर्ने भएकाले अहिले केही प्रतिक्रिया दिन सकिने अवस्था छैन । आज कुनै प्रमाण र आधार सयौं प्रहरी परिचालन गरी श्वेत आतंक मचाउने कार्य राज्यको तर्फबाट भयो ।’
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले प्राप्त सूचनाका आधारमा कानुनी प्रक्रियाअनुसार खानतलासी गरिएको जिकिर गरे ।
नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ तथा विभिन्न वस्तुगत संघहरूले पछिल्ला महिनादेखि उद्योगमैत्री वातावरण, नीतिगत स्थायित्व र लगानीकर्ताको मनोबल बढाउने उपाय अपनाउन सरकारसँग आग्रह गर्दै आएका छन् । अर्थतन्त्र सुस्ताएको, निजी लगानी अपेक्षाअनुसार नबढेको र औद्योगिक उत्पादन विस्तार चुनौतीपूर्ण बनेको अवस्थामा यस्तो घटनाले उद्योगी समुदायमा थप चासो उत्पन्न गरेको छ ।
देवेनरा समूह मोरङको पुरानो औद्योगिक घराना हो । समूहअन्तर्गत बाबा आयल रिफाइनरी, जेजे ज्वेलर्स, बाबा जुट मिल, हाइलाइफ चप्पललगायत विभिन्न उत्पादनमूलक उद्योग सञ्चालनमा छन् । प्रकाश मुन्दडा नेपाल उद्योग परिसंघ (सीएनआई) कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्षसमेत हुन् ।
उद्योगी–व्यवसायीहरूले अनुसन्धान पारदर्शी, प्रमाणमा आधारित र लगानीको वातावरणमा प्रतिकूल असर नपर्ने ढंगले सञ्चालन हुनुपर्ने बताएका छन् । घटनापछि सरकारले निजी क्षेत्रलाई दिएको लगानीमैत्री सन्देश र कार्यान्वयनबीच तालमेलको विषयमा पनि व्यावसायिक वृत्तमा बहस सुरु भएको छ ।
प्रहरीका एक दर्जनभन्दा बढी गाडी प्रयोग गरिएको थियो । मोरङ प्रहरी प्रमुख एसपी कटवालको नेतृत्वमा डीएसपी मकेन्द्रकुमार मिश्र, डीएसपी सन्तोष श्रेष्ठ, वडा प्रहरी कार्यालयका डीएसपी लोकेन्द्रसिंह गुरु, इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरे लगायतका अधिकारीहरू अपरेसनमा सहभागी थिए ।
प्रहरीले घरका सबै कोठा, भान्सा, बैठक, शयनकक्ष, दराज, बाकस, भकारी र सेफसम्म खोलेर सूक्ष्म रूपमा जाँच ग¥यो । तर कुनै पनि आपत्तिजनक वस्तु फेला पारेन । खानतलासी सकिएपछि प्रहरीले ‘क्लिन चिट’ दिएर फर्किन बाध्य भएको थियो ।
प्रकाश मुन्दडा र उनका काका बेनीगोपाल मुन्दडाले प्रहरीले पुर्जी देखाएर खानतलासी गर्न आएको र आफूहरूले पूर्ण सहयोग गरेको प्रतिक्रिया सञ्चार माध्यमहरुलाई दिए । बेनीगोपालले भने, ‘उहाँहरू बिहान ५ बजे आउनुभएको थियो । पुर्जी देखाएर खानतलासी गर्न आएको भन्नुभयो । हामीले अनुसन्धानमा पूरा सहयोग ग¥यौं । भान्सा, बेडरुम, बैठक, सबै ठाउँ हेर्नुभयो । सबै दराज र बाकस खोल्नुभयो । अन्तिममा केही भेट्नुभएन । हामीलाई क्लिन चिट दिएर जानुभयो ।’
प्रहरी स्रोतहरूका अनुसार अवैध रूपमा ठुलो परिमाणमा नगद सञ्चित गरी राखेको विशेष सूचनाका आधारमा खानतलासी गरिएको थियो । मुन्दडामाथि अवैध आर्जनमा संलग्न रहेको आरोप बारेका कुनै पनि दाबी प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन । सोमबारको छापाको कारण र अनुसन्धानको प्रकृतिबारे पनि गृहमन्त्रालय मौन छ ।
मोरङ प्रहरी प्रमुख एसपी कटवालले भने, ‘त्यहाँ कानुनविपरीतका केही सामान छन् भन्ने सूचना हामीले पाएका थियौँ । त्यसैले सर्च गरेका हौँ । तर सूचनामा भनिएअनुसार केही फेला परेन ।’ उनले ‘माथिको आदेशअनुसार छापा मारेको हो ?’ भन्ने प्रश्नमा ‘प्रहरीले खानतलासीका लागि माथि वा तलको आदेश भन्ने हुँदैन’ भनेर जवाफ दिए ।
देवेनारा ग्रुप विराटनगरका उद्योगपति देवकिसन मुन्दडा, बेनीगोपाल मुन्दडा, नरेन्द्र मुन्दडा र राजेन्द्र मुन्दडाको संयुक्त लगानीमा सञ्चालित औद्योगिक घराना हो । समूहले सीता एयरमा लगानी गरेको छ भने सेन्ट्रल मल र घरजग्गा कारोबार पनि गरिरहेको छ ।
उच्च स्रोतहरूका अनुसार गृह मन्त्रालयकै आदेशमा प्रहरीले मुन्दडा निवासमा छापा मारेको हो । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई समेत जानकारी नदिई यस्तो अपरेसन सञ्चालन गरिएको दाबी गरिएको छ । कुनै पनि आर्थिक वा व्यावसायिक विषय जोडिएको भए सम्पत्ति शुद्धीकरण वा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हेर्ने गर्छन् । तर जिल्ला प्रहरी कार्यालयको टोली कसरी छापा मार्न पुग्यो भन्ने प्रश्न उठेको छ। यसले गृह प्रशासनमा देखिएको ‘श्वेत आतंक’ को रूपमा टिप्पणी हुन थालेको छ ।
निजी क्षेत्रले पछिल्ला महिनादेखि ‘उद्योगीलाई तर्साउने’ र ‘लगानीको वातावरण बिगार्ने’ शैली अपनाएको भन्दै सरकारको आलोचना गरिरहेकै बेला विराटनगरमा भएको यो प्रहरी अपरेसनले उक्त बहसलाई थप विषय दिएको छ ।
निजी क्षेत्रको विश्वास र लगानीको वातावरण जोगाउन सरकार र सुरक्षा निकायले स्पष्ट जवाफ दिनुपर्ने माग उठेको छ । अन्यथा यस्ता घटनाले उद्योगी–व्यवसायीलाई थप त्रासमा राख्ने र विदेशी तथा स्वदेशी लगानीकर्तालाई नेपालबाट टाढा धकेल्ने खतरा बढ्ने देखिएको छ । विराटनगरको यो घटना केवल एक खानतलासी मात्र नभई निजी क्षेत्र र राज्यबीचको सम्बन्धमा गहिरो प्रभाव पार्ने घटनाका रूपमा हेरिएको छ ।
‘एक व्यवसायीले भने, विना प्रमाण प्रहरीले दुःख दिन पाउँदैन । लोकतान्त्रिक मूल्यलाई राज्यले सम्मान गर्नुपर्छ । अन्यथा उद्योगीहरूले यो हाम्रो देश होइन भन्ने भावना व्यक्त गर्ने अवस्था आउन सक्छ ।’
पछिल्ला केही महिनादेखि निजी क्षेत्रले सरकार उद्योगीप्रति कठोर बन्दै गएको, अनावश्यक अनुसन्धान, बारम्बारको निगरानी, कर प्रशासनको दबाब तथा विभिन्न निकायबाट हुने कारबाहीका कारण लगानीकर्तामा मनोवैज्ञानिक दबाब बढेको गुनासो गर्दै आएको छ । यस्तो अवस्थामा देवेनरा समूहमाथि गरिएको प्रहरी अपरेसनले ती गुनासालाई थप बल दिएको उद्योगीहरूको भनाइ छ ।
एक उद्योगीले भने, “यदि यस्ता शैलीमा उद्योगीको घर घेराबन्दी गरेर अन्तिममा केही पनि नपाइ फर्किने अवस्था दोहोरियो भने कसले नयाँ उद्योग खोल्न चाहन्छ ? विदेशी लगानीकर्ताले यस्ता दृश्य हेर्दा नेपाललाई कसरी सुरक्षित लगानी गन्तव्य मान्ने ?”
अर्का एक व्यवसायीका अनुसार उद्योगीमाथि अनुसन्धान आवश्यक भए पनि त्यसको प्रस्तुति र कार्यशैलीले राज्यको सोच झल्काउँछ । ‘व्यावसायिक विवाद वा आर्थिक अनुसन्धानलाई आतंककारी अपरेसनजस्तो देखिने गरी सञ्चालन गरियो भने त्यसले उद्योगीलाई मात्र होइन, सम्पूर्ण लगानी समुदायलाई डर पैदा गर्छ,’ उनले भने ।