नेभिगेशन
प्रदेश

समाजसेवी श्रेष्ठद्वारा विद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ गुर्जपामा रहेको गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विद्यालय पोशाक (ट्रयाकसुट) तथा स्टेशनरी सामग्री सहयोग प्राप्त भएको छ। नेपाली कांग्रेसका नेता, युवा व्यवसायी एवं समाजसेवी प्रभुराम श्रेष्ठले ‘स्कूल अफ डेमोक्रेसी’ को तर्फबाट सो सामग्री उपलब्ध गराएका हुन् । 

कक्षा ८ सम्म अध्यापन हुने सो विद्यालयका विद्यार्थीहरूका लागि समाजसेवी श्रेष्ठले करिब दुई लाख रुपैयाँ बराबरको एक सय थान ट्रयाकसुट र विभिन्न स्टेशनरी सामग्री प्रदान गर्नुभएको पत्रकार एवं सामाजिक अभियन्ता गोकर्ण प्रसाद भण्डारीले जानकारी दिए । विकट क्षेत्रका बालबालिकाको शिक्षामा टेवा पुर्‍याउने उद्देश्यले श्रेष्ठले व्यक्तिगत एवं संस्थागत पहलमा सो सहयोग गरेका हुन् । 

उत्तरी दुर्गम क्षेत्रमा अवस्थित गुर्जपा आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमध्ये ९० प्रतिशत अति सिमान्कृत जाति थामी समुदायका छन् । बालबालिकाहरू निम्न तथा मध्यम वर्गीय परिवारका रहेकाले समाजसेवी श्रेष्ठबाट प्राप्त यो सहयोग अत्यन्तै समयसान्दर्भिक र उपलब्धिमूलक भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीले बताए। यस्ता सहयोगी मनहरूले गर्दा नै दुर्गमका बालबालिकाको विद्यालय सम्मको पहुँच र सिकाइमा उत्साह थपिने उनको भ्याइ थियो ।

शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीको सभापतित्वमा एक विशेष कार्यक्रमका बीच सो ट्रयाकसुट तथा स्टेशनरी सामग्री विद्यार्थीहरूलाई हस्तान्तरण गरिएको थियो । कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, जीवन लामा, गोकर्ण प्रसाद भण्डारी, प्रधानाध्यापक यामकुमार पाण्डे, सहायक प्रधानाध्यापक खेमबहादुर थामी, शिक्षक लक्ष्मी ओली, र शिक्षक–अभिभावक संघकी निरमाया थामी लगायतले आ–आफ्नो मन्तव्य राख्दै दाता श्रेष्ठको परोपकारी कार्यको उच्च प्रशंसा गरेका थिए ।

सोही अवसरमा दुर्गमको शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्‍याएबापत विद्यालयको तर्फबाट समाजसेवी प्रभुराम श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो । साथै, सामाजिक क्षेत्रमा सक्रिय पत्रकार गोकर्णप्रसाद भण्डारीलाई पनि सम्मान पत्रद्वारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्