दोलखा । "जीवनको दिगो सुरुवातका लागि स्तनपान : प्रभावकारी कार्यहरूको सुदृढीकरण" भन्ने मूल नारासहित विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा दोलखाको भीमेश्वर नगरपालिका–२ स्थित इलाका स्वास्थ्य चौकीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ।
जनस्वास्थ्य कार्यालय दोलखा, दोलखा स्वास्थ्य चौकी तथा नेपाल क्षयरोग निवारण संस्था दोलखाको समन्वयमा आयोजित कार्यक्रममा गर्भवती तथा सुत्केरी आमाहरूलाई स्तनपानको सही विधि, आमाको दूधको महत्व, शिशुको पोषण, स्तनपानका फाइदा तथा स्तनपान नगर्दा हुन सक्ने असरबारे व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो। प्रशिक्षणमा जनस्वास्थ्य अधिकृत सिन्धु पौडेल र कृति प्रजापति, भीमेश्वर नगरपालिकाकी नर्सिङ अधिकृत सविना बस्नेत तथा धुलिखेल अस्पतालका डा. विराटले सहजीकरण गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा इलाका स्वास्थ्य चौकी दोलखाका इन्चार्ज टेकबहादुर राउतले सहभागीलाई स्वागत गर्दै मातृ तथा शिशु स्वास्थ्य प्रवर्द्धनमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताए । जनस्वास्थ्य कार्यालय दोलखाका प्रमुख दिलेन्द्र बुढामागरले विश्व स्तनपान सप्ताहको औचित्यमाथि प्रकाश पार्दै जन्मेको पहिलो घण्टाभित्र स्तनपान सुरु गर्ने र पहिलो छ महिनासम्म आमाको दूध मात्र खुवाउने अभ्यासलाई समुदायमा अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमका सभापति इलाका स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष स्टालिन श्रेष्ठ रहेका थिए भने प्रमुख अतिथिका रूपमा भीमेश्वर नगरपालिकाकी उपमेयर कमला बस्नेत सहभागी भएका थिए । कार्यक्रममा नेपाल क्षयरोग निवारण संस्था दोलखाका अध्यक्ष तीर्थबहादुर जोशीले स्वास्थ्य प्रवर्द्धनका यस्ता अभियानलाई सबै पक्षको सहकार्यबाट अझ प्रभावकारी बनाउनुपर्ने धारणा राखे ।
सो अवसरमा गर्भवती तथा सुत्केरी आमाहरूलाई ब्ल्याङ्केट वितरण गरिएको थियो। वितरण गरिएका सामग्रीको व्यवस्थापन दोलखा स्वास्थ्य चौकीका पूर्व प्रमुख समाजसेवि रामकृष्ण मास्केको अगुवाइमा विभिन्न सहयोगी व्यक्ति तथा संघ–संस्थाबाट संकलित सहयोगमार्फत गरिएको थियो। कार्यक्रममा दुई जना नयाँ महिला स्वास्थ्य स्वयंसेविकालाई स्वागत गरिएको थियो भने एक जना सेवा निवृत्त महिला स्वास्थ्य स्वयंसेवि देवकि खड्कालाई सम्मानपूर्वक बिदाइ गरिएको थियो ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य अधिकृत मनोज तामाङले गरेका थिए । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती तथा सुत्केरी आमा तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकका अनुसार विश्व स्तनपान सप्ताहलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी समुदायमा स्तनपानसम्बन्धी सही अभ्यास, मातृ–शिशु स्वास्थ्य र पोषणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो।