नेभिगेशन
खेलकुद

रेड पाण्डा म्याराथन पिकेपिकमा

रेड पाण्डा (हाब्रे) संरक्षणसँगै समुदायको सहभागिता र साहसिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले सोलुखुम्बुको सल्लेरीमा तेस्रो संस्करणको रेड पाण्डा म्याराथन आयोजना हुने भएको छ ।
रेड पाण्डा नेटवर्कको आयोजना, प्ले फर नेचरको सहयोग तथा हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुको सहकार्यमा आगामी भदौ २० मा म्याराथन आयोजना गर्न लागिएको हो ।
तल्लो सगरमाथा क्षेत्रको प्रवेशद्वारका रूपमा रहेको सल्लेरीमा आयोजना हुने म्याराथनले खेलकुदमार्फत रेड पाण्डा संरक्षणको सन्देश राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने आयोजकको लक्ष्य छ । साथै सोलुखुम्बुलाई साहसिक पर्यटनको गन्तव्यका रूपमा अन्तर्राष्ट्रिय बजारमा चिनाउने उद्देश्य पनि राखिएको छ ।
यस वर्षको मुख्य दौड सल्लेरीस्थित थेकछेन पेमा छोलिङ गुम्बाबाट सुरु भएर चार हजार ५४ मिटर उचाइमा रहेको पिके पिक पुगेर पुनः सोही स्थानमा फर्किनेछ । ४८ किलोमिटर लामो यो ट्रेल अन्तर्राष्ट्रिय ट्रेल रनिङ संघमा दर्ता भएको आयोजकले जनाएको छ ।
दौडमा करिब दुई हजार आठ सय ७२ मिटर उचाइ बढोत्तरी हुने भएकाले यो अनुभवी ट्रेल धावक तथा साहसिक खेलाडीका लागि चुनौतीपूर्ण हुने अपेक्षा गरिएको छ ।
दौड सात घण्टा ३० मिनेटभित्र पूरा गर्ने धावकले ३ आईट्रा अंक प्राप्त गर्नेछन् । दौडका क्रममा सहभागीले तल्लो सगरमाथाको हिमाली भू–दृश्यसँगै रेड पाण्डाको बासस्थान र स्थानीय समुदायसँग जोडिएको प्राकृतिक वातावरणको अनुभव गर्नेछन् ।
म्याराथनको तेस्रो संस्करणमा पहिलोपटक स्थानीय समुदाय तथा सर्वसाधारणलाई लक्षित गर्दै पाँच किलोमिटरको ‘रेड पाण्डा रन’ समेत आयोजना गरिने भएको छ । थेकछेन पेमा छोलिङ गुम्बाबाट थालिने दौड सेर्गा खोप, पोङ्बा डाँडा, फाप्लु र ठूलो घर हुँदै पुनः थेकछेन पेमा छोलिङ गुम्बामा पुगेर टुंगिनेछ ।
४८ किलोमिटरको मुख्य म्याराथन अनुभवी धावकका लागि लक्षित भए पनि पाँच किलोमिटरको दौड भने सबै उमेर र क्षमताका व्यक्तिका लागि खुला रहनेछ । आयोजकले स्थानीय सहभागितालाई विशेष प्राथमिकता दिने जनाएको छ ।
प्ले फर नेचरकी संरक्षण व्यवस्थापक फ्लेउर भिसरले पाँच किलोमिटरको दौड थपिएपछि सबै उमेर र क्षमताका मानिसलाई रेड पाण्डा संरक्षण अभियानमा जोडिने अवसर बढेको बताइन् ।
उनका अनुसार खेलकुदलाई संरक्षणसँग जोडेर समुदायको सहभागिता बढाउन सकिने भएकाले म्याराथनले रेड पाण्डा र यसको बासस्थान संरक्षणको सन्देश व्यापक बनाउन सहयोग गर्नेछ ।
रेड पाण्डा नेटवर्कका कार्यकारी निर्देशक आङफुरी शेर्पाले म्याराथनले स्वस्थ जीवनशैली प्रवर्धनसँगै सोलुखुम्बुमा रेड पाण्डा संरक्षणको महŒवबारे जनचेतना बढाउने बताए ।
संरक्षणसँगै पर्यटन प्रवर्धन
रेड पाण्डा म्याराथन नेपालमा रेड पाण्डा पाइने तथा रेड पाण्डा नेटवर्कले संरक्षण कार्यक्रम सञ्चालन गरेका विभिन्न क्षेत्रमा आयोजना हुँदै आएको छ ।
यसको पहिलो संस्करण २०२४ मा ताप्लेजुङ र दोस्रो संस्करण २०२५ मा इलाममा आयोजना भएको थियो । पहिलो दुई संस्करणमा १४० धावक सहभागी भएका थिए । नेपालका १६ भन्दा बढी जिल्लाका साथै भारत र दक्षिण कोरियाबाट समेत धावक सहभागी भएका आयोजकले जनाएको छ ।
म्याराथनले रेड पाण्डा संरक्षणको सन्देश फैलाउनुका साथै संरक्षण क्षेत्रलाई साहसिक पर्यटनसँग जोड्ने माध्यमका रूपमा समेत काम गर्दै आएको आयोजकको भनाइ छ ।
सोलुखुम्बुमा रेड पाण्डासहित विभिन्न वन्यजन्तु र जैविक विविधताले समृद्ध वन क्षेत्र भए पनि यहाँका प्राकृतिक सम्पदाबारे पर्याप्त जानकारी हुन नसकेको हिमाली स्वास्थ्य तथा वातावरणीय सेवा, सोलुखुम्बुका अध्यक्ष ङिमातेण्डुप शेर्पाले बताए । उनका अनुसार यस्ता कार्यक्रमले स्थानीय समुदायलाई आफ्नो प्राकृतिक सम्पदाको महŒव बुझाउन र संरक्षणलाई भावी पुस्ताको साझा जिम्मेवारीका रूपमा स्थापित गर्न सहयोग गर्छ ।
‘दौड’ सँगै संरक्षणको सन्देश
गत वर्ष इलाममा भएको म्याराथनले स्थानीय समुदाय र धावकमा संरक्षणप्रतिको चासो बढाएको आयोजकको दाबी छ । सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङले यस्ता कार्यक्रमले पर्यटक आकर्षित गर्नुका साथै रेड पाण्डा संरक्षणबारे जनचेतना बढाउन र समुदायलाई संरक्षण अभियानमा एकजुट गर्न सहयोग गर्ने बताएका थिए । आयोजकका अनुसार रेड पाण्डा म्याराथनको उद्देश्य केवल धावकलाई गन्तव्यसम्म पु¥याउनु मात्र होइन। दौडको बाटोमा पर्ने भूदृश्य, स्थानीय समुदाय र रेड पाण्डाको बासस्थानलाई एउटै संरक्षण अभियानसँग जोड्नु यसको मुख्य उद्देश्य हो ।
रेड पाण्डा नेटवर्कले स्थानीय समुदायलाई शिक्षा र सशक्तीकरणमार्फत रेड पाण्डा तथा यसको बासस्थान संरक्षणमा काम गर्दै आएको छ । संस्थाले नेपालका विभिन्न हिमाली क्षेत्रमा समुदायमा आधारित संरक्षण कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।
अनुभवी धावकलाई सहभागिताको आह्वान
आयोजकले प्रकृति, साहसिक यात्रा र संरक्षणमा रुचि भएका अनुभवी धावकलाई ४८ किलोमिटरको म्याराथनमा सहभागी हुन आह्वान गरेको छ । स्थानीय तथा सर्वसाधारणका लागि भने पाँच किलोमिटरको ‘रेड पाण्डा रन’ खुला गरिएको छ । म्याराथनमा सहभागिता जनाउन इच्छुकले रेड पाण्डा नेटवर्कमार्फत दर्ता गर्न सक्नेछन् । दर्ता तथा थप जानकारीका लागि रेड पाण्डा नेटवर्कको कार्यालयमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्