नेभिगेशन
प्रदेश

रोल्पा पहिरोः मृतकको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

रोल्पा । अविरल वर्षाका कारण रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारा (कोटलबारा) मा गएराति गएको भीषण पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित आधा दर्जन घरगोठ पुरिँदा ठुलो मानवीय क्षति भएको हो। घटनास्थल तथा प्युठानको माडीखोलाका विभिन्न स्थानमा भेटिएका शवहरूमध्ये हालसम्म आठ जनाको यथार्थ पहिचान खुलेको छ भने दुई जनाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। पहिरोमा पुरिएका अन्य तीन जना अझै बेपत्ता छन्।
प्रहरीका अनुसार पहिरोमा परी मृत्यु हुने थबाङ–५ का रैथाने बासिन्दाहरू हुन्। जसमा ६० वर्षीय कमलबहादुर पुन मगर, १८ वर्षीया शान्ति पुन मगर, ७१ वर्षीया मनरखी पुन मगर, ६७ वर्षीया हस्तकला रोका मगर र ७५ वर्षीय डलबहादुर पुन मगर रहेका छन्। यसैगरी पहिरोले बगाएर प्युठानको माडीखोला पुर्‍याएका ३८ वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर र ५ वर्षीय अशोक पुन मगरको शव पनि फेला परेपछि उनीहरूको पहिचान खुलेको हो। पहिरोमा परि अझै पनि ८० वर्षीय अजम्बर पुन मगर, ८० वर्षीय बलबहादुर पुन मगर र ६१ वर्षीय लिलबहादुर पुन मगर बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य तीव्र पारिएको छ।
घटनालगत्तै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री र जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको छ। सुरक्षाकर्मी र स्थानीयवासीको अथक प्रयासमा पहिरोमा पुरिएका २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगरलाई घाइते अवस्थामा जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ। लगातारको वर्षा र विभिन्न स्थानमा सडक सञ्जाल अवरुद्ध भएका कारण दुर्गम क्षेत्रमा खोज तथा उद्धार कार्यमा निकै कठिनाइ भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल पुगेको संयुक्त सुरक्षा टोली र स्थानीय उद्धारमा दिनभर खटिए। पहिरो ठूलो आएको र बस्ती नै पुरिएकाले खोजी तथा उद्धार कठिन बनेकाले ३ जना अझै फेला पार्न सकिएको छैन। घटनास्थल पुगेको उद्धार टोलीले शुक्रबार पनि खोजी गर्ने जनाइएको छ। पहिरो आसपासका केही घर जोखिममा छन्। एकै गाउँमा भएको यति धेरै मानवीय क्षतिले उवाबासी मात्र होइन सिंगो रोल्पा शोकमा डुबेको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्