नेभिगेशन
प्रदेश

मापदण्डविपरीतका सात आँखा अस्पतालमा सिलबन्दी

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रमा सञ्चालित सात आँखा अस्पतालमा प्रशासनले सिलबन्दी गरेको छ । न्यूनतम कानुनी मापदण्ड र आवश्यक प्रक्रिया पूरा नगरी सेवा सञ्चालन गरेको पाइएपछि ती स्वास्थ्य संस्थामा सिलबन्दी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मोरङ र कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको संयुक्त टोलीले बुधबार र बिहीबार अनुगमन गरेको थियो । अनुगमनका क्रममा अस्पतालहरूले भौतिक पूर्वाधार, जनशक्ति र प्राविधिक मापदण्ड पूरा नगरेको पाइएपछि प्रशासनले कारबाही अघि बढाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाको नेतृत्वमा गरिएको अनुगमनमा टोलीले गम्भीर प्रकृतिका त्रुटि भेटिएका ६ वटा आँखा अस्पतालमा सिलबन्दी गरिएको छ । एउटाको त्रुटि भेटिएपछि ल्याबमा ताला लगाइएको छ । 
कारबाहीमा परेकाहरुमा विराट आँखा अस्पताल, इफराह आँखा अस्पताल,  सञ्जीवनी आई केयर, हिमाल आँखा अस्पताल, विराट रानी आँखा अस्पताल, अखण्ड ज्योति आँखा अस्पताल र नेपाल आँखा अस्पताल छन् । प्रशासनका अनुसार यी संस्थाले प्रचलित कानुनी व्यवस्था पूरा नगरी आँखा उपचार सेवा सञ्चालन गरेका थिए । जनस्वास्थ्य सेवा नियमावली, २०७७ ले अप्थ्याल्मोलोजीलाई विशेषज्ञ सेवाअन्तर्गत राखेको छ । विशेषज्ञ अस्पताल सञ्चालनका लागि कम्तीमा एक सय शड्ढया हुनुपर्ने कानुनी व्यवस्था छ ।
५० देखि २०० शड्ढयासम्मका विशेषज्ञ अस्पतालको इजाजत स्वास्थ्य सेवा विभागबाट लिनुपर्ने प्रावधान छ । प्रदेश सरकारको व्यवस्थाअनुसार आँखा उपचार केन्द्रले सीमित सेवा मात्र दिन पाउँछन् । त्यस्ता केन्द्रले प्रारम्भिक आँखा उपचार र नेत्र विशेषज्ञबाट दिइने सेवा सञ्चालन गर्न सक्छन् ।
भिजुअल एक्युटी, रिफ्र्याक्सन र सामान्य उपचारजस्ता सेवा मात्र सञ्चालन गर्न पाउने व्यवस्था छ । तर, अनुगमन गरिएका संस्थाले स्वीकृत संरचना र प्रक्रिया पालना नगरेको पाइएको प्रशासनले जनाएको छ । स्थानीय प्रशासनले भारतीय बिरामीको चापलाई लक्षित गरी दक्षिणी क्षेत्रमा खुलेका स्वास्थ्य संस्थामा निगरानी बढाएको छ । जनस्वास्थ्यसँग प्रत्यक्ष जोडिएका संस्थाले न्यूनतम मापदण्ड अनिवार्य रूपमा पूरा गर्नुपर्ने प्रशासनको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्