नेभिगेशन
प्रदेश

थवाङमा भीषण पहिरो, १० जनाको मृत्यु, ३ वेपत्ता

काठमाडौं । अविरल वर्षासँगै रोल्पा जिल्लाको थबाङ गाउँपालिका–५ कोटलबारामा आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको संख्या जनधनको ठूलो क्षति भएको छ । पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् । दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा थबाङ–५ की १८ वर्षीया शान्ति पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर छन् । घाइते हुनेमा २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय सञ्जय घर्ती मगर छन् । उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब पौने ९ बजे माथिबाट पहिरो खस्दा कमलबहादुर पुन मगरको घरसहित करिब ६ वटा घर तथा गोठ पुरिएका थिए । घटनाबारे थाहा पाएर राति साढे ९ बजे इलाका प्रहरी कार्यालय उवाबाट सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ खटिएको थियो । 
बिहीबार दिउँसो प्यूठानका विभिन्न खोलाको किनारमा पाँच शव देखिएको थियो । ती शव थबाङ पहिरोका बेपत्ताहरूको रहेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी नरहरि अधिकारीका अनुसार आफन्तले सनाखत गरेपछि ती शव रोल्पाको पहिरोमा बगेर बेपत्ता भएकाहरुको रहेको  पुष्टि भएको हो ।
पहिचान भएका शवमा थबाङ–५ का ७ वर्षीय अशोक पुन मगर, ३४ वर्षीय महेन्द्र घर्ती, ६६ वर्षीया मनी पुन मगर, ३४ वर्षीया विष्णु पुन मगर र ८० वर्षीय बलबहादुर पुन मगर छन् । स्वर्गद्वारी–९ जुडापाटा, स्वर्गद्वारी–३ किमिचौर र स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा तीनवटा शव फेला परेका थिए । त्यसपछि स्वर्गद्वारी–५ सरोजास्थित लुंग्री खोला किनार र माण्डवी–५ अर्दुसस्थित माडी खोलाको किनारमा थप एक–एकवटा शव फेला परेको थियो । पाँचै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्