काठमाडौँ । भोटेकोशी र त्रिशूली नदीमा आएको अकल्पनीय एवं बिकराल बाढीले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि प्रकोप व्यवस्थापन क्षेत्रमा क्रियाशील चार प्रमुख संस्थाहरूले संयुक्त रूपमा अपिल गरेका छन् ।
बाढी प्रभावित क्षेत्रमा सर्वसाधारणको जीवनयापन अत्यन्तै कष्टकर बन्दै गएको अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्दै ती संस्थाहरूले तत्काल उद्धार, प्रभावकारी समन्वय र निष्पक्ष राहत वितरणका लागि सरोकारवाला सबै पक्षसँग आग्रह गरेका हुन् ।
संयुक्त अपिल जारी गर्नेहरूमा सेन्टर फर इनोभेटिभ गभर्नेन्स प्राक्टिसेसका कार्यकारी अध्यक्ष कृष्णहरि बास्कोटा, राष्ट्रिय प्रकोप व्यवस्थापन सञ्जाल नेपालका अध्यक्ष सूर्यबहादुर थापा, डिपीनेट नेपालका अध्यक्ष डा वसन्तराज अधिकारी र नेपाल प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रका अध्यक्ष प्राडा विशालनाथ उप्रेती रहेका छन् ।
बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गर्दै संयुक्त अपिलमा बाढीमा परी बेपत्ता भएका नागरिकहरूको यथाशीघ्र खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकताका साथ प्रभावकारी रूपमा अघि बढाउन माग गरिएको छ । बेपत्ता व्यक्तिहरूको खोजी, उद्धार तथा प्रभावित परिवारलाई तत्काल राहत र आवश्यक सहयोग उपलब्ध गराउन सबै पक्षबिच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको कुरामा उनीहरूले जोड दिएका छन् ।
जोखिमपूर्ण स्थानहरूमा समेत खोज र उद्धारमा खटिनुपर्ने अवस्था भएकाले मैदानमा उत्रिएका उद्धारकर्मीहरूको सुरक्षा सुनिश्चित गर्दै उपलब्ध स्रोत, साधन र जनशक्तिको अधिकतम परिचालन गर्न सम्बन्धित सरकारी निकाय, सुरक्षा निकाय, र स्थानीय तहसँग विशेष अनुरोध गरिएको छ ।
यसका साथै प्रभावित परिवार तथा समुदायलाई आवश्यक खाद्यान्न, स्वास्थ्य सेवा, अस्थायी आश्रय तथा मनोसामाजिक सहयोग तत्काल उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ ।
अकल्पनीय बाढीबाट प्रभावित परिवारहरूको दैनिक जीवनयापन अत्यन्त कठिन बनेको अवस्थालाई मध्यनजर गर्दै तत्काल खाद्यान्न, खानेपानी, कपडा, औषधि, सरसफाइका सामग्री र अस्थायी आवास उपलब्ध गराउन सम्बन्धित सरकारी निकाय, स्थानीय तह, संघसंस्था, निजी क्षेत्र, र सहयोगी मनहरूमा हार्दिक अनुरोध गरिएको छ ।
राहत वितरण कार्यलाई निष्पक्ष, पारदर्शी र आवश्यकतामा आधारित बनाउनका लागि वास्तविक पीडित एवं जोखिममा रहेका परिवारहरू, विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला र आर्थिक रूपमा कमजोर परिवारलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । राहत सामग्री वितरण गर्दा दोहोरोपन नआउने र कुनै पनि पीडित परिवार नछुट्ने गरी स्थानीय तह र सम्बन्धित निकायबिच प्रभावकारी समन्वय र सहकार्य हुन जरुरी रहेको अपिलमा उल्लेख छ ।
यस विपद्को घडीमा आ–आफ्नो क्षमता र स्रोतअनुसार सहयोग जुटाई प्रभावित नागरिकको जीवनरक्षा, तत्कालीन आवश्यकता पूर्ति तथा पुनर्स्थापनामा योगदान गर्न सम्पूर्ण संघसंस्था, नागरिक समाज, व्यवसायी, दातृ निकाय तथा आम नागरिकमा अपिल गरिएको छ । संस्थाहरूले यस दुःखद् घडीमा एकअर्काको साथ दिन, बेपत्ताको खोजी र उद्धारमा जुट्न तथा प्रभावित परिवारको पीडामा मल्हम लगाउन सबैलाई एकजुट हुन हार्दिक आह्वान गरेका छन् ।