कुनै दिन मैदानमा एउटा जर्सी खाली हुनेछ । नीलो–सेतो धर्साले सजिएको त्यो जर्सीमा ‘१०’ नम्बर हुनेछ, तर त्यसलाई बलसँग नाचाउँदै, विपक्षीका तीन–चार खेलाडीलाई छलाउँदै, असम्भव देखिने कोणबाट गोल गर्दै दौडिने लियोनेल मेस्सी हुने छैनन् ।
अर्जेन्टिनाको फुटबलका लागि त्यो खाली ठाउँ केवल एउटा खेलाडीको अनुपस्थिति हुनेछैन । त्यो एउटा युगको अन्त्य हुनेछ ।
३९ वर्षको उमेरमा मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय फुटबललाई बिदाइ गरेका छन् । सोमबार इन्स्टाग्राममा भावुक पोस्ट लेख्दै उनले लामो समय सोचेर यो निर्णयमा पुगेको बताएका छन् ।
‘यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो,’ उनले लेखेका छन् ।
यो कुनै साधारण अवकाश घोषणा थिएन । यो त्यही खेलाडीको अन्तिम स्वीकारोक्ति थियो, जसले अर्जेन्टिनाको जर्सी लगाएर दुई दशकभन्दा बढी समय मैदानमा आफ्नो ज्यान, प्रतिभा र सपना सबै अर्पण ग¥यो ।
‘मैले सधैं सबैथोक दिएँ—केवल पछिल्ला वर्षहरूमा हामीले सबै जित्यौँ भनेर होइन, त्यसअघि पनि । मैले सधैं यो जर्सीका लागि लडें र मैदानमा सबै छाडें,’ मेस्सीले भनेका छन् ।
मेस्सीको अर्जेन्टिनासँगको कथा भने उपाधिबाट सुरु भएको थिएन । बरु, लामो समयसम्म त्यो कथा पीडाले भरिएको थियो ।
सन् २००५ मा राष्ट्रिय टोलीमा डेब्यु गर्दा उनी केवल १८ वर्षका थिए । त्यसपछि उनी अर्जेन्टिनाका आशा बने । तर ठूला प्रतियोगिता आउँदा हरेकपटक एउटा प्रश्न उनका अगाडि उभिन्थ्यो – क्लब फुटबलमा संसार जित्ने मेस्सीले अर्जेन्टिनालाई कहिले जिताउने ?
सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँगको हारले त्यो प्रश्नलाई अझ गहिरो बनायो । त्यसपछि २०१५ र २०१६ को कोपा अमेरिका फाइनलमा चिलीविरुद्ध लगातार दुई हार । २०१६ को पेनाल्टी सुटआउटमा पराजयपछि त मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाटै अवकाश घोषणा गरेका थिए । उनी त्यतिबेला केवल २९ वर्षका थिए ।
तर त्यो अन्त्य थिएन । मेस्सी फर्किए । र, फर्किएपछि उनले अर्जेन्टिनाको इतिहास नै बदलिदिए ।
सन् २०२१ मा ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका जित्यो । मेस्सीका लागि त्यो पहिलो ठूलो सिनियर अन्तर्राष्ट्रिय उपाधि थियो । त्यसपछि आयो २०२२ को कतार विश्वकप ।
दोहाको त्यो रात अर्जेन्टिनी फुटबलको इतिहासमा सदाका लागि लेखियो । फ्रान्सविरुद्धको फाइनलमा मेस्सीले दुई गोल गरे । पेनाल्टी सुटआउटमा अर्जेन्टिनाले बाजी मा¥यो । मेस्सीले विश्वकपको ट्रफी उचाले । वर्षौंदेखि उनको नामसँग जोडिएको एउटा अधुरो सपना पूरा भयो ।
त्यो क्षणमा उनले केवल विश्वकप जितेका थिएनन् । उनले आफ्नै आलोचकहरूलाई जवाफ दिएका थिए । अर्जेन्टिनाका लागि ‘ठूला खेलमा असफल हुने खेलाडी’ भनेर गरिएका टिप्पणीहरूलाई उनले इतिहासकै सबैभन्दा ठूलो ट्रफीले मौन बनाएका थिए ।
त्यसपछि २०२४ मा अर्को कोपा अमेरिका उपाधि आयो । मेस्सीको नेतृत्वमा अर्जेन्टिना लगातार सफलताको शिखरमा पुग्यो । एक समय फाइनलमा पुगेर हार्ने टोली अब उपाधि जित्ने टोली बनेको थियो ।
तर फुटबलमा कथाको अन्तिम पाना सधैं आफूले चाहेझैँ लेखिँदैन । २०२६ को विश्वकपमा मेस्सीले आफ्नो छैटौं विश्वकप खेले । अर्जेन्टिना फेरि फाइनल पुग्यो । यसपटक पनि उनको अगाडि एउटा ऐतिहासिक अवसर थियो—विश्वकप जितेर राष्ट्रिय टोलीबाट बिदा हुने ।
तर न्यु जर्सीको इस्ट रदरफोर्डमा स्पेनले अर्जेन्टिनालाई १–० ले हरायो । त्यो हारसँगै मेस्सीको राष्ट्रिय टोलीका लागि अन्तिम खेल पनि त्यही बन्यो ।
सायद त्यसैले उनको अवकाश घोषणा पनि सामान्य थिएन ।
विश्वकप फाइनल सकिएको दुई दिनपछि नै उनले अवकाशसम्बन्धी आफ्नो सन्देश लेखेका थिए । तर त्यसपछि जीवनले उनलाई फुटबलभन्दा ठूलो पीडा दियो ।
अगस्टमा उनका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भयो । बाल्यकालदेखि नै छोराको फुटबल यात्राका सबै मोडमा साथ दिएका जर्ज मेस्सीका लागि लियोनेलको सफलताको कथा केवल छोराको सफलता थिएन, आफ्नै जीवनको एउटा ठूलो सपना पनि थियो ।
पिताको निधनपछि मेस्सीले लेखेका शब्दले उनको मनभित्र चलिरहेको द्वन्द्व प्रस्ट पारेको थियो ।
‘म तिमीबिना के गर्ने, कसरी अघि बढ्ने भन्ने नै थाहा छैन,’ उनले पितालाई सम्झँदै लेखेका थिए । उनले आफूले अहिलेसम्म फुटबल मात्र खेल्दै आएको र अब अझै धेरै समय खेलिरहने हो कि होइन भन्नेमा ‘धेरै शंका’ रहेको बताएका थिए ।
त्यसपछि आज आयो त्यो दिन, जसको कल्पना अर्जेन्टिनाका समर्थकहरूले गर्न चाहँदैनथे ।
मेस्सीले भने—अब पुग्यो ।
‘समय छोटिँदै गएको छ, अध्यायहरू बन्द हुँदैछन् र यो त्यस्तो अध्याय हो, जसले मलाई धेरै दुखाउँछ,’ उनले लेखेका छन् । ‘म अर्जेन्टिनाको राष्ट्रिय टोलीको हिस्सा हुन माया गर्छु, गरेको छु र सधैं गरिरहनेछु । मैले आफूमा भएको सबै दिएँ । अब दिन बाँकी केही छैन ।’
उनको यो वाक्यमा अवकाशभन्दा बढी एउटा स्वीकारोक्ति सुनिन्छ । शरीरले अब पहिलेझैं साथ नदिने वास्तविकता, नयाँ पुस्तालाई ठाउँ दिनुपर्ने आवश्यकता र आफूले पूरा गर्नुपर्ने सपना अब पूरा भइसकेको अनुभूति ।
अर्जेन्टिनाका लागि मेस्सीले २०७ खेल खेले र १२५ गोल गरे । दुवै कीर्तिमान हुन् । उनी अर्जेन्टिनाका सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा बिदा हुँदैछन् । विश्वकपमा पनि उनी सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् र ६ वटा विश्वकप खेल्ने पहिलो पुरुष खेलाडी बने । तर उनका सबैभन्दा ठूला तथ्यांक यी होइनन् ।
मेस्सीको सबैभन्दा ठूलो विरासत त्यो भावना हो, जसले अर्जेन्टिनाका करोडौं मानिसलाई एउटै खेलाडीको खुट्टामा आफ्नो सपना देख्न सिकायो । एक समय उनी अर्जेन्टिनाका लागि हारको पर्याय बनेका थिए । आज उनी त्यही देशका लागि विश्वकप विजेता कप्तान हुन् ।
एक समय उनले आँसु झार्दै राष्ट्रिय टोली छाड्ने घोषणा गरेका थिए । आज उनले त्यही जर्सीलाई चुम्बन गर्दै, त्यही देशलाई आफ्नो जीवनभर माया गर्ने वाचा गर्दै बिदा लिएका छन् ।
अब उनी अर्जेन्टिनाको जर्सीमा खेल्ने छैनन् । तर उनले आफैंले भनेझैँ उनी बाहिरबाट टोलीलाई समर्थन गर्नेछन्, सुखमा पनि, दुःखमा अझ बढी ।
क्लब फुटबलमा भने उनको यात्रा तत्कालै टुंगिने छैन । इन्टर मियामीसँग उनको सम्झौता सन् २०२८ को सिजनसम्म छ । त्यसैले फुटबलले मेस्सीलाई अझै केही समय मैदानमा देख्न पाउनेछ । तर अर्जेन्टिनाको नीलो–सेतो जर्सीमा भने अब उनको अन्तिम दृश्य त्यही हुनेछ—विश्वकपको फाइनलपछि निराश अनुहार, आँखामा पीडा र काँधमा कप्तानीको पट्टी । (एजेन्सीहरु)