नेभिगेशन
प्रदेश
भोटेकोशी बाढीः

सम्पर्कविहीन घर फर्किने आशामा

महेन्द्रनगर । जोनापुरका विनोद डगौराले छोरो घर फर्किने आशामा बसेको आज पाँच दिन बित्यो । 

भोटेकोशी बाढीका कारण छोरा सम्पर्कमा नआएकाले डगौँराका परिवार चिन्तित छन् । रसुवाको स्वाफ्रुबेँसीस्थित जलविद्युत् आयोजनामा मजदुरी गर्थे उनका छोरा । गत जेठ महिनामा छोरा दीपेन्द्र रसुवा गएका थिए । डगौराका परिवार दीपेन्द्रको खोजीका लागि काठमाडौँ जाने तयारी हुँदै गर्दा  कृष्णभीरको पहिराका कारण रोकिन पर्यो । 

“दुई दिनअघि परिवारको सम्पर्कमा नरहेका यहाँका चार जना काठमाडौँ जाने भन्दै थियौँ,” डगौराले भन्नुभयो, “सडक अवरुद्ध भयो भनेपछि रोकियौं । जहाजमा जाने क्षमता भएन ।” दीपेन्द्र घरका एक्ला छोरा हुन् । बाढी आउनु केही दिनअघिसम्म परिवारको सम्पर्क भए पनि बाढीपछि उनको अवस्थाबारे कुनै जानकारी छैन । 

“परिवारको एक्लो छोरा हुन् दीपेन्द्र । अब त सम्पर्कमा आउने आशा पनि न्यून हुँदै गयो,” उनले भने, “छोरो सम्पर्कविहीन भएपछि परिवारमा दुःख आइलागेको छ ।”  गाउँका अन्य युवासँग रसुवा गएका दीपेन्द्रका साथीसमेत परिवारको सम्पर्कभन्दा बाहिर छन् । उनले छोराको सकुशल रिहाइको आशा मारेका छैनन् । “सबैतिर सरकारले उद्धार गरिरहेकाले कति सुरक्षित ठाउँमा छोरो भेटिन्छ कि जस्तो लाग्छ,” उनले भने ।

टिमुरे भन्सारमा कार्यालयमा कार्यरत भीमदत्त नगरपालिका–१३ बडैपुरका नरेशदत्त जोशीका आफन्त पनि खोजीका लागि काठमाडौँ पुगेका छन् । काठमाडौँ पुगेका जोशीको छोरीज्वाई टीका भट्टले आशा मारेका छैनन् । “टिमुरे भन्सारबाट ज्यान जोगाएर आएका भन्सार कर्मचारीसित भेट गरेँ,” भट्टले भने, “टिमरे बजार नै बाढीले बगाइसक्यो । शवहरु अहिले पनि त्यहाँ छरपष्ट छन् भन्ने सुनियो ।”

गत शुक्रबार काठमाडौँ पुगेका भट्टले टिमुरे भन्सार कार्यालयबाट सम्र्पकविहीन १५ जना कर्मचारीका आफन्त खोजीका लागि काठमाडौँ पुगेको बताए । त्यसैगरी, यहाँको लालझाडी गाउँपालिका–५ का पदमसिंह साउद अपर त्रिशूली जलविद्युत् आयोजनामा काम गर्थे । बाढी आउनुअघि सोही दिन बिहान साढे ७ बजे परिवारका सदस्यहरुसित कुराकानी भएको साउदका भतिज खडक थापाले जानकारी दिए ।

“काकाको प्रायः राति डियुटी हुनाले त्यो दिन बिहान घरमा कुरा गरेर सुत्छु भनेर फोन राख्नुभयो । त्यसपछि सम्पर्क नै भएन,” थापाले भने, “परिवारका सदस्यले फर्किने आशा मारिसकेँ ।” उनले काका बस्ने जलविद्युत् आयोजनाको क्याम्प नै बाढीले बगाइसकेकाले फर्किने आशा मरिसकेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले भोटेकोशी बाढीबाट कञ्चनपुर घर भएका ३९ जना मध्ये सात जना मात्रै परिवारको सम्र्पकमा आएको बताए । “दुई जना उपचाररत र सात जना परिवारको सम्पर्कमा आउनुभयो,” उनले भने, “अन्यको खोजी कार्य जारी छ । प्रहरी प्रधान कार्यालयसित नियमित समन्वय हुँदैछ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्