नेभिगेशन
अर्थतन्त्र

आरुघाट युवा क्लवद्वारा ८ लाख ७ हजार सहयोग संकलन

आरुघाट, गोरखा । गोरखाको आरुघाट गाउँपालिका वडा नं. ९ मा रहेको आरुघाट युवा क्लवले रसुवा जिल्लाको भोटेकोशी क्षेत्रका बाढी पीडितहरूको राहत तथा पुनस्र्थापनाका लागि ८ लाख ७ हजार ७ सय २३ रुपैयाँ सहयोग संकलन गरेको छ ।
क्लवले एक प्रेस विज्ञप्ति जारी गर्दै रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार र समुदायको सहयोगार्थ आरुघाट नेवाः गुठी समाज, काठमाडौं र क्लवका सदस्यहरू तथा विभिन्न सहयोगी व्यक्तिहरूको स्वैच्छिक योगदानबाट सो रकम संकलन गरिएको जनाएको छ ।
क्लवका अध्यक्ष सञ्जयमान श्रेष्ठका अनुसार, संकलित कुल ८ लाख ७ हजार ७ सय २३ रुपैयाँ नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिनेछ ।
सहयोग संकलन अभियानमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले उत्साहजनक सहभागिता जनाएका छन् । क्लवद्वारा सार्वजनिक गरिएको ६१ जना सहयोगीहरूको नामावली अनुसार, सबैभन्दा बढी सहयोग वीरेन्द्र कुमार श्रेष्ठ (हाल अमेरिका) बाट १ लाख ३० हजार रुपैयाँ प्राप्त भएको छ । त्यस्तै, लक्ष्मी किशोर श्रेष्ठले १ लाख रुपैयाँ सहयोग गरेका छन् । 
सहयोग गर्नेहरूमा अमेरिका, अष्ट्रेलिया, क्यानडा र नेपालका विभिन्न शहरमा रहेका आरुघाटबासी तथा शुभचिन्तकहरू रहेका छन् । ५ सय रुपैयाँदेखि १ लाख ३० हजार रुपैयाँसम्म स्वैच्छिक सहयोग प्राप्त भएको क्लवले जनाएको छ ।
‘विपदको यस कठिन घडीमा पीडितहरू प्रति आफ्नो दायित्व र मानवीय संवेदना प्रस्तुत गर्दै गरिएको यो सहयोग सानो भए पनि मानवीय एकता र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण रहेको आरुघाट युवा क्लव र नेवा गुथी समाज आरुघाटले जनाएको छ ।
आरुघाट युवा क्लवले यस पुनित कार्यमा सहयोग गर्ने आरुघाट नेवाः गुठी समाज, काठमाडौंका सम्पूर्ण सदस्य र सबै सहयोगी हातहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ । क्लवले ‘विपदमा एकता पीडितलाई साथ– मानवताको सेवामा आरुघाट युवा क्लव“ भन्ने नाराका साथ आफ्नो सामाजिक सक्रियता जारी राख्ने प्रतिवद्धता समेत जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्