नेभिगेशन
खेलकुद

एनपीएलको प्रसारण अधिकार बाँडफाँड

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया र टिकटिङ अधिकार विभिन्न संस्थालाई दिएको छ । क्यानले बोलपत्र प्रक्रिया सम्पन्न गरी टिकेटिङ र प्रसारण अधिकार घोषणा गरेको हो । 
क्यानद्वारा जारी प्रेस विज्ञप्ति अनुसार, प्रतियोगिताको ओटीटी अधिकार विश्वव्यापी रूपमा नेटटिभी प्राइभेट लिमिटेडले प्राप्त गरेको छ । यसका लागि नेटटिभीले चौध करोड चार लाख रुपैयाँ कबोल गरेको छ । 
त्यसैगरी, नेपाल क्षेत्रका लागि टेलिभिजन अधिकार हिमालय टेलिभिजनले प्राप्त गरेको छ । हिमालय टेलिभिजनले यसका लागि चौध करोड चौसठी लाख रुपैयाँ तिर्ने कबोलेको हो ।
यस्तै, एनपिएलको टिकटिङ अधिकार इसेवा लिमिटेडले पाएको  छ । इसेवाले सो अधिकारका लागि ८५ लाख रुपैयाँ कबोलेको हो । व्यावसायिक सर्तहरू अनुसार टिकटिङबाट प्राप्त हुने कुल आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत इसेवाले प्राप्त गर्ने बताइएको छ । 
क्यानका सचिव पारस खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनपिएलको तेस्रो संस्करणलाई यो कबोलले अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन भूमिका खेल्ने बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्