नेभिगेशन
प्रदेश

हराउँदै सुकुल भोज, घट्दो सामूहिकता

भक्तपुर । नेवार समुदाय चाडपर्व र जात्राले मात्र समृद्ध छैन । मौलिक खानपान र खाने शैली पनि यसको महŒवपूर्ण पहिचान हो । नेवार समुदायमा हरेक महिनाजसो कुनै न कुनै अवसरमा भोज हुने गर्छ । नेपाल भाषामा यसलाई ‘सुकु भ्वय्’ अर्थात् सुकुल भोज भनिन्छ ।
तर सामूहिक रूपमा सुकुलमा बसेर खाने यो परम्परा विस्तारै हराउँदैछ । पहिले व्रतबन्ध, बेलविवाह, गुफा, पास्नी र विवाहमा सुकुल भोज हुन्थ्यो । अहिले यस्ता भोज पार्टी प्यालेस र सभाहलमा हुन थालेका छन् । सुकुलको ठाउँ कुर्सी र टेबलले लिन थालेको छ ।
संस्कृति अध्ययनकर्ता गणेश रञ्जितकार बदलिँदो जीवनशैलीले यसको प्रचलन घटाएको बताउँछन् । बढ्दो व्यस्तता पनि यसको अर्को कारण हो । सुकुल भोजमा लामो समय बसेर क्रमशः परिकार खानुपर्छ । यस्तो शैली अहिलेको व्यस्त जीवनसँग मेल खान छाडेको उनको भनाइ छ ।
आधुनिक पहिरनले पनि समस्या थपेको छ । ‘वानपिस’, स्कर्ट, गाउन, पाइन्ट, हाफ पाइन्ट र लेहेंगामा लामो समय पलेँटी कसेर बस्न सहज हुँदैन । त्यसैले नयाँ पुस्ता आधुनिक भोजतर्फ आकर्षित भएको रञ्जितकार बताउँछन् ।
भक्तपुर थिमीकी सुमित्रा श्रेष्ठ पनि समय अभावलाई मुख्य कारण मान्छिन् । ‘पहिले मानिस भोजमा रमाउँथे । सबै मिलेर खाने र खुवाउने गर्थे,’ उनी भन्छिन्, ‘अहिले मानिस निकै व्यस्त छन् । सुकुल भोजमा समय धेरै लाग्छ । त्यसैले यसको चलन घटेको हुन सक्छ ।’
सुकुल भोजमा पाहुना लस्करै बसेर खान्छन् । परालबाट बनेको सुकुलमा पलेँटी कसेर बस्नुपर्छ । त्यसपछि परिकार निश्चित क्रममा पस्किइन्छ । सबै पाहुनालाई परिकार पस्किएपछि मात्र खान सुरु हुन्छ । माथिल्लो स्थानमा बसेकाले खान थालेपछि अरूले पनि खान्छन् ।
आफूलाई मन परेको परिकार मात्र रोजेर खाने सुविधा हुँदैन । परिकार क्रमशः पस्किइन्छ । सबै परिकारको पालो पूरा भएपछि मात्र उठ्न पाइन्छ । यही कारण आधुनिक पुस्तालाई यो शैली झन्झटिलो लाग्न थालेको छ ।
स्थानीय युवा श्रीओम धौभडेल पार्टी प्यालेसको भोजसँग यसको तुलना गर्छन् । ‘पार्टी प्यालेसमा मन परेको परिकार लियो, खायो र उठ्यो गर्न सकिन्छ,’ उनी भन्छन्, ‘सुकुल भोजमा त्यसरी हुँदैन । परिकारको क्रम पूरा नभएसम्म उठ्न पाइँदैन ।’
यसरी हेर्दा सुकुल भोज घट्नुका कारण धेरै छन् । समय धेरै लाग्नु प्रमुख कारण हो । लामो समय पलेँटी कसेर बस्नुपर्ने अर्को कारण हो । आधुनिक पोसाकमा असहज हुनु पनि समस्या हो । आफ्नै रोजाइअनुसार खाना नपाउनु पनि कारण बनेको छ । भोजकै क्रममा गफ गर्न सहज नहुनु पनि अर्को कारण हो ।
संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार सुकुल भोज अहिले साँघुरिँदै गएको छ । पहिले विभिन्न चाडपर्व र सामाजिक संस्कारमा यसको व्यापक प्रयोग हुन्थ्यो । अहिले भने मृत्यु संस्कार र गुठी भोजमा बढी सीमित भएको छ ।
नेवार समुदायमा मृत्यु संस्कारका विभिन्न चरणमा सुकुल भोज हुन्छ । सातौं दिनको न्हेनुमा भोज गरिन्छ । ४५औं दिनमा लत्या गरिन्छ । ६ महिनामा खुल्हा गरिन्छ । एक वर्षमा दाकिला गरिन्छ । त्यसपछि हरेक वर्ष पनि मृत्यु संस्कार गरिन्छ ।
तर यी भोजमा नयाँ पुस्ताको सहभागिता कम हुँदै गएको श्रेष्ठ बताउँछन् । मृत्यु संस्कार भएकाले त्यहाँ रमझमको वातावरण हुँदैन । युवा पुस्ताको आकर्षण पनि कम हुन्छ । यसले सुकुल भोजको पुस्तान्तरणमा चुनौती थपेको छ ।

सुकुल भोज केवल खानपानको शैली भने होइन । यसले सामाजिक सम्बन्ध बलियो बनाउँछ । परिवार र आफन्तलाई एउटै ठाउँमा जोड्छ । आपसी सहयोग र आत्मीयता बढाउँछ । समुदायको सांस्कृतिक पहिचानलाई पनि बलियो बनाउँछ ।
संस्कृतिप्रेमी सत्यराम सुवाल नयाँ पुस्ताको सहभागिता आवश्यक रहेको बताउँछन् । पुरानो पुस्ताले नयाँ पुस्तालाई यसको महत्व बुझाउनुपर्ने उनको भनाइ छ । ‘परम्परा हस्तान्तरण भए मात्र जीवित रहन्छ,’ उनी भन्छन्, ‘नयाँ पुस्तालाई सहभागी गराएर यसको महत्व बुझाउनुपर्छ ।’
उनको बुझाइमा सुकुल भोजको प्रचलन घट्नु सांस्कृतिक दृष्टिले चिन्ताको विषय हो । काठमाडौं, ललितपुर र अन्य नेवार बस्तीमा पनि यसको अभ्यास घटेको उनी बताउँछन् । अहिले भक्तपुरमा समेत यसको प्रयोग सीमित हुँदै गएको छ ।
भक्तपुर नगरपालिका–७ का केशव त्वानाबासुका अनुसार पहिले चोकचोकमा सुकुल भोज हुन्थ्यो । घर अगाडि र बाटोमा समेत भोज आयोजना गरिन्थ्यो । आवश्यक परे पाल टाँगेर धेरै दिनसम्म भोज चल्थ्यो । स्थानीय र आफन्त मिलेर त्यसको व्यवस्थापन गर्थे ।
अहिले यस्तो सामूहिकता घटेको उनको अनुभव छ । गुठी र मृत्यु संस्कारमा मात्र सुकुल भोज देखिन थालेको उनी बताउँछन् । नयाँ पुस्तामा सामूहिक सहयोगको भावना पनि कमजोर भएको उनको बुझाइ छ ।
सुकुल भोजमा परम्परागत नेवारी परिकारको लामो सूची हुन्छ । चिउरा, अचार, हरियो लसुन र विभिन्न गेडागुडीका परिकार पस्किइन्छ । राँगाको मासु, साग, आलु–तामा र अन्य तरकारी पनि हुन्छन् । भुटन, दही र विभिन्न अमिलो परिकार पनि राखिन्छ ।

भोजको अन्त्यमा भिजाएको केराउ, मुला, गाजर र फलफूल दिइन्छ । परिकारको विविधता यसको विशेषता हो । त्यति नै महत्वपूर्ण परिकार पस्कने निश्चित क्रम पनि हो ।
परम्परागत नेवारी भोज स्वास्थ्यका दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । यसमा अन्न, गेडागुडी, सागसब्जी, मासु र दुग्धजन्य परिकार हुन्छन् । विभिन्न खाद्य समूहको संयोजनले भोजलाई सन्तुलित बनाउँछ । तर यस्ता परिकार तयार गर्न समय र श्रम लाग्छ । 
सुकुल भोजको सुरुवात कहिलेदेखि भयो भन्ने यकिन प्रमाण छैन । संस्कृतिविद्हरूले सामूहिक खाना खाने संस्कृतिसँग यसको विकास जोड्छन् । यससँग सामाजिक संरचना र सामूहिकताको अभ्यास पनि जोडिएको देखिन्छ ।
सुकुल भोजबारे एउटा रोचक किंवदन्ती पनि छ । प्राचीनकालमा उपत्यकाका राजाले सामूहिक भोज आयोजना गर्थे । त्यतिबेला भोजमा सामाजिक विभेद देखिन्थ्यो । सम्पन्न मानिस चकटी वा महँगा आसनमा बस्थे । गरिबले भुइँमै बस्नुपथ्र्यो ।
उक्त विभेद हटाउन मल्लकालमा नयाँ व्यवस्था गरिएको मानिन्छ । भोजमा सहभागी सबै एउटै सुकुलमा लहरै बस्नुपर्ने नियम बनाइयो । राजा, मन्त्री, धनी र गरिब सबै एउटै आसनमा बसे । यसले समानताको सन्देश दियो ।
त्यही सामूहिकता र समानताको भावनाबाट सुकुल भोजको परम्परा विकास भएको मानिन्छ । त्यसैले यसको संरक्षण केवल खाने शैली जोगाउनु होइन । यससँग जोडिएको सामाजिक सम्बन्ध पनि जोगाउनु हो ।
पार्टी प्यालेसमा सुकुल भोजको व्यवस्था भने सहज छैन । अधिकांश ठाउँमा कुर्सी र टेबलमै भोज खुवाइन्छ । भक्तपुरका केही पार्टी प्यालेसले भने टेबलमा सुकुल भोजको शैली अपनाएका छन् । यस्तो अभ्यासले परम्परालाई नयाँ परिवेशमा जोगाउन सक्ने सम्भावना देखाएको छ । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्