नेभिगेशन
प्रदेश

कालीगण्डकी बाढीले उजाडियो तिल्केनी

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घरनजिकै दुई दिनयता कालीगण्डकी बग्न थालेको छ । 
    आइतबार बिहानदेखि नदीले कटान गर्न थालेपछि उनले सामान निकालेर घर अगाडिको सडकमा थुपारे । ती सामान लगेर कहाँ बस्ने भन्ने निर्णय लिन उनले अझै सकेका छैनन् । 
    ‘करेसाबारी सबै कालीगण्डकीले बगायो, घरको आँगनमै नदी बग्न थालेपछि ज्यान जोखिममा पारेर यहाँ बस्ने अवस्था छैन,’ सोमबार दिउँसो घरका सामान सार्दै गरेका गमबहादुरले भक्कानिँदै मलिन स्वरमा भने, ‘कालीगण्डकीको बाढी र कटानले हामीलाई सुकुम्वासी बनायो । परिवारलाई कहाँ लगेर राख्ने ? टुंगो छैन ।’ 
    विदेशमा दुःख गरेर जोडेको सडक छेउको एक रोपनीभन्दा बढी जग्गा बगाएको छ । यस्तै, २० वर्षदेखि बस्दै आएको घर छाडेर हिँड्नुपर्दा गमबहादुरको गहभरी आँसु छचल्किएका देखिन्थे । आठ घरपरिवारको बसोबास रहेको तिल्केनीचौर चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकको व्यापारिक केन्द्रजस्तै थियो । 
    तिल्केनीका रेन्टुरेन्टमा लोकल माछा, कुखुरालगायत स्थानीय परिकारसँग खाजा र खानाका लागि बेनी–जोमसोम सडकमा यात्रा गर्ने मात्र नभएर बेनी, बागलुङ, कुश्मा र पोखराबाटसमेत पाहुना आउथे । अब त्यो इतिहास बनेको छ । असोज ८ देखि ११ गतेसम्मको लगातारको झरीपछिको बाढीले पाहुनालाई स्वादिष्ट स्थानीय परिकारको स्वाद चखाउने तिल्केनीचौरका घर रित्तिएका छन् ।  
    रेष्टुरेन्ट व्यवसायी गोपाल भण्डारीले पनि जीवनभरको कमाइ खर्चेर बनाएको घर छाडेर हिँड्नुपरेकामा दुःख सुनाए । कालीगण्डकीको बाढीले धार परिर्वतन गरेर भण्डारीको घरछेउको खेलमैदानको ८० प्रतिशत भाग कटान गरेको छ । नदी त्यही स्थानबाट बग्न थालेको छ । 
    ‘पचास मिटर टाढा बगिरहेको कालीगण्डकीले धार परिवर्तन गरेर एक्कासी बस्तीमा आउला भन्ने कल्पना पनि गरेको थिएन,’ भण्डारीले भने, ‘हाम्रो घरजग्गा र सम्पत्ति मात्रै नभई यहाँ काम गरेर जीविकोपार्जन गर्ने मजदुर, तरकारी, दूध, फलफूल, कुखुरा बेच्ने किसानलाई पनि पीडा भएको छ ।’ 
    तिल्केनीचौरको चमेरे होटलका सञ्चालक महेन्द्र गुरुङले करिब दुई दशक व्यवसाय गरेर बसेको ठाउँ छाडेर गलेश्वरमा बस्न थालेको बताए । ‘तिल्केनीचौर बस्तीमा अहिले भएका घर जुनसुकैबेला कालीगण्डकीले बगाउने अवस्था छ,’ उनले भने, ‘यो बस्तीमा अब रित्ता घर मात्र रहने भए ।’ 
    तिल्केनीचौरको नजिकै रहेको घुमाउने तालमा पनि कालीगण्डकीले कटान गरेर जोखिम निम्त्याएको स्थानीय हरि चन्दले बताए । बाढी र कटानको डरले रातमा पाखोमा रहेको कुखुराको फार्ममा गएर सुत्ने गरेको उनले बताए । 
    घुमाउने तालदेखि पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्क जोड्ने झोलुंगे पुल बाढीले बगाएको छ । यो पुल म्याग्दीको अन्नपूर्ण र पर्वतको जलजला गाउँपालिका समेटिएको अन्नपूर्ण–धौलागिरि चक्रीय पदमार्गको प्रवेशबिन्दु थियो । 
    बाँसखर्कबाट ल्याएको पाइपलाइन पुलसँगै बगेकाले खानेपानीको अभाव भएको चन्दले बताए । यहाँ करिब १० घरपरिवारको बसोबास छ । बाँसखर्कतर्फ बाढीले खेतीयोग्य जमिन कटान गरेको छ । राखु र बाँसखर्क क्षेत्रका बासिन्दालाई आवतजावतमा समस्या भएको छ । 
    तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह परिसरमा पनि कालीगण्डकीले कटान गरेको छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरेको ४० मेगावाट क्षमताको राहुघाटले गत हप्तादेखि परीक्षण उत्पादन सुरु गरेको थियो । 
    विद्युत्गृहदेखि ५० मिटर टाढा रहेको कालीगण्डकीले धार परिवर्तन गरेर स्वीचयार्ड नजिक आएको र विद्युत्गृहबाट पानी बगाउने टेलरेसबाट बग्न थालेको छ । टेलरेस बगाए पनि विद्युत्गृहलाई भने क्षति गरेको छैन । 
    सोह्र वर्ष लगाएर निर्माण भएको राहुघाटको परीक्षण उत्पादन बन्द भएको छ । आयोजना प्रमुख राजबहादुर विष्टले प्राकृतिक विपद्का कारण केही दिनका लागि परीक्षण उत्पादन बन्द गरिएको बताए । विद्युत्गृह र कालीगण्डकीको बीच भागमा रहेको बेनी–जोमसोम सडक बाढीले बगाएको छ । पहिले गाडी हिँड्ने सडकमा अहिले नदी बगेको छ । 
    विद्युत्गृह परिसरमा रहेको भारतीय ठेकेदार कम्पनी जयप्रकाश एशोसियट्स (जेपी)का उपकरण र सवारीसाधन बाढीले बगाएको छ । करिब २० वटा सवारीसाधन बाढीले बगाएको जेपीका कर्मचारी कुमार यादवले बताए । आयोजना निर्माण सकेर जाने समयमा विपद्बाट अर्बौंको क्षति व्यहोर्नुपर्दा दुःख लागेको उनले बताए । 
    गायत्रीमन्दिर पारीको राममन्दिर क्षेत्रमा कालीगण्डकीको भँगालो ठोक्किएको छ । कालीगण्डकी र रघुगंगा नदीको संगममा रहेको राममन्दिर जोखिममा परेको छ । पाखोबाट खसेको पहिरो सडकमा थुप्रिएको छ । 
    सडकबाट आएको लेदो घरभित्र पसेर हिलाम्मे बनाएको स्थानीय मिम थकालीले बताए । पाखोबाट खस्ने पहिरोको दीर्घकालीन समाधान नहुँदा बर्सेनि समस्या व्यहोर्नुपरेको राहुघाटवासीले गुनासो गरेका छन् । पहिरोबाट २१ घरपरिवार जोखिममा परेका छन् । 

पूर्वसूचनाले घटायोः बर्दियामा विपद्को क्षति
मौसम पूर्वानुमान महाशाखाले हुनसक्ने सम्भावित बाढी तथा डुबानको समस्याका बारेमा पहिले नै जानकारी गराएका कारण बर्दियामा विपद्को क्षति कम भएको छ ।
   जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले बस्तीमा माइकिङ गरी स्थानीलाई सचेत गराउनुका साथै सुरक्षा निकायलाई सर्तक अवस्थामा राखिएकाले ठूलो क्षति हुन नपाएको हो ।
    महाशाखाले असोज ९ देखि ११ गतेसम्म ठूलो वर्षा हुने पूर्वानुमान गरेपछि सूचना प्राप्त हुनासाथ प्रशासनले बस्तीमा माइकिङ गरी स्थानीयलाई सचेत गराइएको बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले बताए ।
    ‘विगतमा जस्तो मानवीय तथा भौतिक क्षति व्यहोर्नु परेन । सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको थियो,’ उनले भने, ‘स्थानीय जनप्रतिनिधिसँग सक्रियताका साथ समन्वय भएकाले ठूलो डुबान हुनबाट जोगियो ।’
    उनका अनुसार जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय तथा स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी सम्भावित जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी गरेको थियो । विगतमा ठूलो वर्षा भई बाढी तथा डुबानको जोखिम हुने सूचना स्थानीयवासीले समयमा नपाउँदा धनजनको क्षति हुँदै आएको थियो ।  
    यसपटक भने पूर्वसूचना प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालय सम्भावित विपद् जोखिमलाई पहिचान गरेर  स्थानीय तहबीच समन्वय गरी सोही गाउँबस्तीमा समयमै सूचना प्रवाह गरिएको थियो । यद्यपि लगातार आएको वर्षाका कारण बर्दियाको विभिन्न १० घरमा क्षति पुगेको छ भने १५ घर डुबानमा परेको, ७३ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत एवं विपद् फोकल पर्सन लोकप्रसाद ढकालले जानकारी दिए ।
    बर्दियामा कर्णाली, गेरुवा र भादा नदीको तटीय क्षेत्रमा करिब ५५ हजार नागरिक बाढीको जोखिममा छन् । गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादवले ठूलो वर्षा हुने पूर्वसूचना प्राप्त भएपछि भादा नदीको डुबानको जोखिममा रहेका तटीय क्षेत्रका नागरिकलाई समयमै सुरक्षित स्थानमा सारिएकाले ठूलो क्षति हुन नपाएको बताए ।
    नगर प्रहरीले नदी तटीय क्षेत्रमा माइकिङ गरी बाढी आउन सक्ने जानकारी गराएपछि स्थानीयवासीलाई सुरक्षित स्थानका रूपमा औद्योगिक ग्राममा सारिएको थियो । त्यहाँ सारिएका नागरिकका लागि नगरपालिकाले खाने तथा बस्ने व्यवस्था मिलाएको थियो । बाढीको पानी घटेपछि सोमबारदेखि तटीय क्षेत्रका स्थानीयवासी घर फर्किन थालेको नगरप्रमुख यादवले जानकारी दिए ।
    बर्दियामा कर्णाली र भादा नदीमा बाढी आउने अग्रिम सूचना नदीका विभिन्न स्थानमा रहेका बाढी मापन केन्द्रबाट लिने गरिएको छ । 
    कर्णाली नदीको चिसापानी र भादा नदीको चेपाङमा रहेका बाढी मापन केन्द्रबाट नदीको जलस्तर मापन गरी सूचना प्रवाह गर्ने गरिएको जिल्ला प्रशासनले जनाएको छ । कर्णाली नदीमा १० मिटर आठ सेन्टिमिटर जलस्तर पुगेपछि खतराको चिह्न पार गर्ने गर्दछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्