नेभिगेशन
खेलकुद

पदक दिलाउने खेलाडी स्वदेश फिर्ता

जापानको दुई फरक सहरमा भएको अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको नेपाली टोली स्वदेश फर्किएको छ ।
    जापानको नागोयामा सेप्टेम्बर २० देखि २३ तारिखसम्म भएको २०औँ एसियाली खेलकुद तथा योकोहामामा सेप्टेम्बर २५ देखि २७ तारिखसम्म भएको ११औँ सितोरियो कराते डो अन्तरराष्ट्रिय च्याम्पियनसिपका पदक विजेतासहितको स्वदेश फर्किएको हो । दुवै प्रतियोगितामा नेपालबाट तीन पुरुष र पाँच महिला गरी आठ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । एसियाड खेलेका खेलाडी नै योकोहामामा भएको प्रतियोगितामा पनि सहभागी भएका थिए ।
    एसियाली खेलकुदको करातेमा नेपालका तेन्जिङ शेर्पाले मात्र पदक जिते । उनले पुरुष ८४ केजीमाथि कास्य पदक जितेका थिए । तेन्जिङको पदक २०औँ एसियाडमा नेपालले जितेको पहिलो पदक हो । तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धा तेन्जिङले लाओसका खेलाडीलाई ९–१ ले पराजित गर्दै कास्य पदक पक्का गरेका थिए ।
    समग्र एसियाडको करातेमा तेन्जिङ पदक दिलाउने पाँचौँ खेलाडी हुन् । यसअघि एसियाडमा करातेले एक रजत र तीन कास्य जितेको थियो । १९९४ को हिरोसिमा एसियाडमा सीता राई, १९९८ को बैंकक एसियाडमा समरबहादुर गोले र सन् २०१४ को इन्चोन एसियाडमा विमला तामाङले कास्य तथा सन् २०२२ को हाङझाव एसियाडमा एरिका गुरुङले रजत जितेका थिए ।
    आठै खेलाडीले प्रतिस्पर्धा गरेको योकोहामाको प्रतियोगितामा नेपालले दुई स्वर्ण, एक रजत र तीन कास्य गरी छ पदक जितेको थियो । नेपालले व्यक्तिगत स्पर्धामा चार र टिम स्पर्धामा दुई गरी छ पदक हात पारेको थियो । महिला ६८ केजीमाथि एरिका गुरुङ र पुरुष ६० केजीमुनि राकेश मानन्धरले नेपाललाई स्वर्ण दिलाए । महिला ६८ केजी मुनि निरूपा दोङ तामाङले रजत तथा पुरुष ६७ केजीमुनि मीनबहादुर तामाङले कास्य जिते ।
    दोहोरो पदक जितेका एरिका र निरूपाले महिला टिम कुमुते पनि कास्य हात पारे । यो स्पर्धामा उनीहरूसहित मेघा लिम्बू, एलिसा रास्कोटी मगर र सानुमाया थिङले प्रतिस्पर्धा गरेका थिए । मेघा, एलिसा र सानुमायाले महिला टिम काता पनि कास्य प्राप्त गरे ।
    एसियाली खेलकुदमा भाग लिएपछि नेपाली टोली जापानको नागोयाबाट योकोहामा भएको प्रतियोगितामा सहभागी भएको थियो । पदक विजेता तेन्जिङले आफूले कराते यात्रा सुरु गरेको बौद्ध डोजोलगायत सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै अझ लामो यात्रा तय गर्न बाँकी रहेको बताए ।     

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्य मोनालिशा खम्बु र ललिता नाथ, नेपाल कराते महासङ्घका पदाधिकारी, खेलाडी, प्रशिक्षक, परिवारजनलगायतले स्वागत गरेका थिए । 
    खेलाडीसँगै टोलीका व्यवस्थापक कराते महासङ्घका अध्यक्ष युवराज लामा, कराते महासङ्घका महासचिव दावा गुरुङ तथा प्रशिक्षकद्वय कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ पनि स्वदेश फर्किएका छन् ।
यसैगरी, नेपाललाई कास्य पदक दिलाउने नेपाली राष्ट्रिय महिला कबड्डी टोली पनि स्वदेश फर्किएको छ ।
मानमती विष्टको कप्तानीमा रहेको नेपाली महिला कबड्डी टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुदमन्त्रीका प्रमुख सल्लाहकार सिद्धि व्यञ्जनकार, राखेप सदस्यहरु सिक्का सुवाल श्रेष्ठ, ललिता नाथ, मोनालिसा खम्बु लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरे ।
एसियाडमा समूह ‘बी’ मा रहेको नेपालले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको सेमिफाइनल खेलमा भारतसँग पराजित भएसँगै नेपालले कास्य पदक प्राप्त गरेको थियो । 
सेमिफाइनल खेलमा भारतसँग नेपाल ४८–२४ अङ्कले पराजित भएको हो । त्यसअघि नेपालले समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । यसअघि चीनको हाङझाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा समेत नेपाली महिला कबड्डी टोलीले कास्य पदक प्राप्त गरेको थियो । 
पालले बनाए कीर्तिमान
एथलेटिक्सको पुरुषतर्फको पाँच हजार मिटर दौडमा नेपाली धावक मुकेशबहादुर पालले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
    पालले पाँच हजार मिटरको दूरी १४ मिनेट ०३.६१ सेकेन्डमा पूरा गर्दै यसअघि राजेन्द्र भण्डारीको नाममा रहेको कीर्तिमान तोडेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।
    भण्डारीले सन् २००४ को एथेन्स ओलम्पिकमा १४ मिनेट ०४.८९ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । जारी एसियाली प्रतियोगितामा सहभागी १८ धावकमध्ये पालले नवौँ स्थान हासिल गरे ।
जुडोमा पराजित
उता जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालका चारै जना खेलाडी पराजित भएका छन् । 
जापानको ऐचि इन्टरनेसनल एरिनमा बुधबार भएको खेलमा नेपालका चारै जना खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका हुन् । पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् ।
महिला ५२ केजी तौल समूहमा नेपालकी देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भइन् । त्यस्तै महिला ४८ केजी समूहमा अर्का खेलाडी निशा हङ्कङकी वङ का लीसँग पराजित भइन् ।
त्यस्तै पुरुष ६६ केजी तौल समूहमा विशेष हङ्कङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्