नेभिगेशन
खेलकुद

दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए

जापानमा जारी एसियाली खेलकुद प्रतियोगिता (एसियाड) २०२६ अन्तर्गत तेक्वान्दो खेलमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिएका छन् ।
    जापानको आइचीस्थित तोयाहासी जिम्यासिउममा आज भएको खेलमा नेपालकी स्वस्तिका तामाङ र युवराज राना पहिलो चरणबाटै बाहिरिएका हुन् । चौबीस वर्षीय स्वस्तिका तेक्वान्दोको एकल पुम्सेतर्फको खेलमा पहिलो चरणबाटै बाहिरिइन् । उनले मात्र ६.५७ अङ्क जोडिन् । उनको समूहमा कुल आठ खेलाडी सहभागी थिए । उनी अन्तिम स्थानमा रहिन् ।
    त्यसैगरी विहीबार भएको पुरुष एकल पुम्सेतर्फकै खेलमा नेपालका अर्का प्रतिद्वन्द्वी युवराज राना पनि पुछारमै रहे । चौबीस वर्षीय युवराजले प्रतियोगितामा कमजोर प्रदर्शन गर्दै पहिलो चरणबाटै आउट भएका हुन् ।
    यस विधामा कुल १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये उनको समूहमा आठ खेलाडी थिए । युवराज ७.०२ अङ्कका साथ आठौँ स्थानमा रहे । अब तेक्वान्दोको अन्तिम प्रतिस्पर्धामा अभिषेक बरालले पुरुष क्योरुगी ८० केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।
जुडोमा पुनम पराजित
जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत जुडो खेलमा नेपालकी पुनम श्रेष्ठ भारतीय खेलाडीसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएकी छन् । जापानको आइची अन्तरराष्ट्रिय एरिनामा विहीबार भएको महिला ७० केजीमुनि तौल समूहमा पुनम भारतीय खेलाडी ताखेलाम्बाम इनुन्गान्वीसँग इप्पोनका आधारमा पराजित भइन् ।
    यससँगै जुडो खेलमा नेपालले सहभागिता जनाएको सात विधामध्ये पाँच विधामा पराजित भएको छ । बुधबार भएको खेलमा नेपालका चार खेलाडी पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएका थिए । 
    पहिलो चरणबाटै बाहिरिने खेलाडीमा देवकीमाया श्रेष्ठ, निशा श्रेष्ठ, विशेष विक र विकास विक रहेका छन् । महिला ५२ केजी तौल समूहमा देवकीमाया पहिलो खेलमा नै भियतनामकी खेलाडी थि नगान हासँग पराजित भएकी थिइन् । महिला ४८ केजी निशा हङकङकी वङ का लीसँग पराजित भइन् । पुरुष ६६ केजी तौल समूहमा विशेष हङकङका वङ का कीसँग पराजित भए । पुरुष ६० केजीमा विकास उज्बेकिस्तानका सामरिद्दिन कुचकारोभसँग पराजित भए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्