नेभिगेशन
खेलकुद

ह्यारी केनको विकल्प ‘असम्भव’

इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले लगातार नयाँ कीर्तिमान बनाइरहेका आफ्ना कप्तान ह्यारी केनको विकल्प भेट्टाउन ‘असम्भव’ रहेको बताएका छन् ।
मंगलबार चेक गणतन्त्रविरुद्ध गोल गर्दै केनले इंग्ल्यान्डका लागि आफ्नो गोल संख्या कीर्तिमानी ८७ पु¥याएका छन् । अब उनी सर्वाधिक १२५ अन्तर्राष्ट्रिय खेल खेल्ने पिटर शिल्टनको कीर्तिमान बराबरी गर्नबाट मात्र दुई खेल टाढा छन्, जसले गर्दा उनी देशकै लागि सर्वाधिक खेल खेल्ने खेलाडी बन्ने दौडमा अघि बढिरहेका छन् ।
बायर्न म्युनिखका ३३ वर्षीय यी फरवार्ड अहिले आफ्नो खेल जीवनकै उच्च लयमा छन् । पछिल्लो सिजन क्लब र देशका लागि गरेका ७३ गोलले उनलाई बालोन डि’ओरको बलियो दाबेदारका रूपमा उभ्याएको छ । यद्यपि, उनी सधैँ मैदानमा टिकिरहन सक्दैनन् र टुचेलले पनि केनको कुनै स्पष्ट उत्तराधिकारी नदेखिएको स्वीकार गरेका छन् ।
“पहिलो कुरा त, तपाईंले अर्को ह्यारी केन पाउनै सक्नुहुन्न,” टुचेलले भने, “उनी सधैँ टोलीलाई अघि बढाउन पहिलो पंक्तिमा उभिन्छन्, उनको सोच नै त्यस्तो छ । उत्कृष्ट फिनिसिङ क्षमताका साथै उनी निकै मिहिनेती फरवार्ड हुन् । उनी आफैँमा एक पूर्ण खेलाडी हुन् ।”
टुचेलले थपे, “हामी विभिन्न विकल्प र समाधान खोजिरहेका छौँ । हामीले पछिल्लो खेल जुड बेलिङ्घमलाई नौ नम्बरको भूमिकामा अघि सारेर टुंग्याएका थियौँ । भविष्यमा अरू कोही खेलाडी पक्कै आउलान्, तर ती न त ह्यारी हुनेछन्, न त ह्यारीको नक्कल नै । समय आएपछि यसको समाधान पनि निस्किएला, तर सायद त्यो मेरो पालामा नहुन सक्छ । त्यसका लागि अर्को १० वर्ष लाग्न पनि सक्छ ।”
आफ्नो पुस्ताकै अब्बल स्ट्राइकर भए पनि केनको उपयुक्त विकल्प भेट्टाउनु इंग्ल्यान्डका लागि लामो समयदेखिको टाउको दुखाइको विषय बनेको छ । अघिल्ला दुई ठूला प्रतियोगितामा ओली वाट्किन्स र इभान टोनीले यो भूमिका निभाएका थिए । तर साउदी लिगमा खेल्ने यी दुवै खेलाडी तीस नाघिसकेका छन् र नेसन्स लिगका पछिल्ला खेलहरूमा उनीहरूलाई टोलीमा समेत समेटिएन ।
टोलीमा परेका डोमिनिक काल्भर्ट–लेविन पनि तीस वर्ष पुग्नै लागेका छन् । अर्कोतर्फ २७ वर्ष मुनिका इंग्लिस सेन्टर फरवार्डहरूमध्ये च्याम्पियन्स लिगमा गोल गर्न सकेका एकमात्र खेलाडी लियाम डेलाप हुन् ।
यसै कारणले प्रागमा भएको खेलमा केनलाई मैदानबाट बाहिर निकाल्दै टुचेलले रियल म्याड्रिडका स्टार बेलिङ्घमलाई उनको नियमित मिडफिल्डभन्दा अगाडिको भूमिकामा उतारेर आक्रमण पंक्ति सम्हाल्न लगाएका थिए ।
बेलिङ्घमको भूमिकाबारे टुचेलले भने, “मलाई उनले नौ नम्बरमा खेलेको मन पर्छ । यसो गर्दा उनले दुवै तर्फबाट योगदान दिन सक्छन् र टोलीको सन्तुलन पनि बिग्रँदैन । अघिल्लो खेलमा हामीले उनलाई सेन्ट्रल टेनको नयाँ जिम्मेवारी दिएका थियौँ, ताकि उनले दुवैतर्फ खेल्न सकून् । ह्यारी र जुडलाई नजिक राख्दै दुवैतर्फ दबाब बनाउन हामीले ४–३–३ भन्दा पनि ४–२–३–१ को रणनीति अपनाएका हौँ र अहिले हामी यसैमा काम गर्दैछौँ ।”
टुचेलले थपे, “उनी स्वाभाविक रूपमै गोल गर्न माहिर खेलाडी हुन् र स्कोरबोर्डमा आफ्नो नाम लेखाउन सधैँ भोका देखिन्छन् । उनी खेलको निर्णायक मोडमा रहन चाहन्छन्, त्यसैले उनले नौ नम्बरमा खेलून् वा १० नम्बरमा, त्यसले खासै ठूलो फरक पार्दैन ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्