नेभिगेशन
प्रदेश

दाउन्नेमा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा शनिबार बिहान यात्रुबस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी–२ दाउन्नेस्थित एस मोडमा पल्टिएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी अनिल पण्डितका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बसचालक बाँकेको खजुरा–२ का ३६ वर्षीय सुरेश बीसी, कोहलपुर–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी र नेपालगञ्ज–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगंगा–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिकका ६५ वर्षीय नरेन्द्रराज गिरी छन् । 
घाइते १२ जनालाई उद्धार गरी मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पु¥याइएको थियो । प्रारम्भिक उपचारपछि आठ जनालाई थप उपचारका लागि चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको छ । मध्यविन्दु प्रादेशिक अस्पतालका अनुसार चार जना घाइतेलाई अस्पतालमै भर्ना गरी उपचार र स्वास्थ्य निगरानीमा राखिएको छ । आवश्यकताअनुसार विशेषज्ञ उपचार चाहिने बिरामीलाई अन्य स्वास्थ्य संस्थामा पठाइएको हो । दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । दाउन्नेको घुम्ती र उकालो–ओरालो सडकखण्डमा यसअघि पनि दुर्घटना हुँदै आएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्