नेभिगेशन
उपत्यका

रोजगारीलाई नयाँ स्वरुप दिने मन्त्री पौडेलको जिकिर

भक्तपुर । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री सरल सहयात्री पौडेलले कलकारखाना खोलेर तत्कालै ठूलो संख्यामा रोजगारी सिर्जना गर्न नसके पनि परम्परागत पेशालाई व्यवस्थित गरी रोजगारीलाई नयाँ स्वरुप दिने दाबी गरेका छन् ।
शनिबार नेपाली कम्युनिस्ट पार्टी भक्तपुरको एक कार्यक्रमलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजक समेत रहेका मन्त्री पौडेलले श्रममा जोडिएका सबै मानिसलाई सामाजिक सुरक्षा, सम्मान र राज्यको प्रणालीमा जोडेर प्रदेश सरकारले रोजगारीको समस्या समाधानको दीर्घकालीन आधार तयार गर्ने दावी गरे ।
“समस्या मानिसहरू बेरोजगार भएर होइन, आफूले गरिरहेको कामप्रति विश्वास नभएर हो,” मन्त्री पौडेलले भने, “हामी एक डाक्टर र शिक्षक जस्तै चालक, डकर्मी, सिकर्मी र किसान लगायत सबैको श्रमको मूल्य र बुढेसकालको जीवन सुरक्षित गर्ने योजनामा छौं ।”
प्रदेशले भौतिक पूर्वाधारमा ठूलो बजेट खर्च गरिरहेको उल्लेख गर्दै उनले भौतिक पूर्वाधारलाई मात्र बिकास भएको मान्न नसकिने र आफ्नो प्राथमिकता शिक्षा र  स्वास्थ्य सुरक्षाको दायरा विस्तार गर्नु भएको पनि  बताए ।
एउटै स्थानीय तहमा धेरै विद्यालय सञ्चालन गरेर स्रोत छरिनुभन्दा आवासीय, प्राविधिक तथा कृषि शिक्षासहितका व्यवस्थित विद्यालय विकास गर्नुपर्नेमा उनले जोड दिएका छन् । 
त्यस्तै, आर्थिक अभावमा कसैले पनि उपचारबाट बन्चित हुनु नपर्ने गरी स्वास्थ्यमा बजेट खन्याउन आफूले योजना बनाइरहेको उनले बताए । “बागमती प्रदेशले ४०÷४५ अर्ब बजेट भौतिक संरचनामा खर्च गर्छ,” उनले भने, “त्यसलाई एकपटकको लागि शिक्षा र स्वास्थ्यमा लगाउन सके दीर्घकालीन महत्वको प्रगति हासिल गर्न सकिन्छ ।”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्