नेभिगेशन
प्रदेश

बाँदरका लागि थपिँदैछ झोलुंगे पुल

नवलपुर (रासस)– बाटो वारिपारि गर्दा बाँदर दुर्घटनामा मर्ने र त्यस्ता दुर्घटनामा मान्छेलाई पनि जोखिम हुने भइरहँदा पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको जंगलमा थप दुईवटा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिने भएको छ । बाँदर वारपार गर्ने आकासे झोलुंगे पुल राख्दा दुर्घटना कम हुने र वन्यजन्तु पनि सुरक्षित हुने ठहर सडकका प्राविधिकहरुको छ ।  
एसियाली राजमार्ग मापदण्डअनुसार चार लेनमा विस्तार भएको यस खण्डको कावासोती र लाकाहा बीचको जंगल तथा चोरमारा र अरुणखोला बीचको जंगलमा ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिने भएको हो । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बाँदरका कारण राजमार्गमा दुर्घटना बढ्दो छ । त्यसको न्यूनीकरणका लागि बाँदरलाई बाटो काट्ने ओभरहेड क्यानोपी ब्रिजको आवश्यकता देखेपछि बनाउन लागिएको हो । 
‘पहाडी क्षेत्रबाट बाँदर तराईतर्फ बाँदर आउन थालेपछि राजमार्गमा दुर्घटना बढ्दैछ,’ उनले भने, ‘बाँदरहरूले बाटो काट्दा हुने दुर्घटना न्यूनीकरणका लागि पुल निर्माण गर्न लागिएको हो ।’ 
पूर्वपश्चिम राजमार्गको नवलपुर खण्डमा यसअघि एउटा ओभरहेड क्यानोपी ब्रिज निर्माण भइसकेको छ । गैंडाकोट–१० स्थित पितौँजी जंगलमा निर्माण भएको क्यानोपी ब्रिजबाट फाट्टफुट्ट बाँदरहरू वारपार गरेको देखिने गरेको उनले बताए ।
‘ओभरहेड क्यानोपी ब्रिजको प्रभावकारिता अहिल्यै जाँच गर्ने बेला भएको छैन,’ उनले भने, ‘बाँदरलगायतका जनावरलाई पुलबाट वारपार गर्ने वातावरण बनाउँदै पुललाई उपयोगी बनाउन सुरुका केही दिनमा फलफूल दिएर उनीहरूलाई आकर्षित गराउनुपर्छ । हामी त्यसको तयारीमा पनि जुटेका छौँ ।’ तयार भएको ब्रिजमा योजनाले केही समयमै बाँदरलाई आकर्षित गर्नेगरी फलफूल राख्ने उनले बताए । 
उनका अनुसार एउटा ओभरहेड क्यानोपी ब्रिज पाँच लाखभन्दा पनि कम बजेटमा निर्माण हुने गरेको छ । ‘मुख्य राजमार्गको जंगल क्षेत्रमा यो पुल निर्माण गर्दा दुर्घटना र त्यसबाट हुने क्षति न्यूनीकरणमा मद्दत पुग्ने देखियो,’ उनले भने । सडक विस्तार योजनाले गैंडाकोटमा जैविक विविधता संरक्षण तथा प्रवद्र्धन कार्यक्रमअन्तर्गत राजमार्गको जंगलमा सडकमाथि ३४ मिटर लामो र चार फिट चौडाइको ओभरहेड क्यानोपी ब्रिज निर्माण गरेको थियो । यो पुलले विशेषगरी बाँदरलाई व्यस्त सडकमा सुरक्षित तवरले पार गर्न सहयोग पुग्ने उनको भनाइ छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्