नेभिगेशन
खेलकुद

नरोकिने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुने कुरामा कुनै दुविधा नभएको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा कर्णाली खेलकुद विकास परिषद्को सहआयोजनामा आसन्न मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि आइतबार सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न मूल आयोजक समितिको बैठकमा बोल्दै उनले प्रतियोगिता निर्धारित मितिमै हुने कुरामा कुनै सन्देह नभएको बताएका छन् ।
“दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर १६–२७ गतेसम्म सञ्चालन हुँदैछ । मूल आयोजक समितिको बैठकले यो भव्य महोत्सवको सुरुआत आजबाटै भएको घोषणा गर्दछ,” मन्त्री पोखरेलले भने, “विगतमा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताभन्दा यसलाई प्रभावकारी र उपलब्धिमूलक बनाउने गरी तीनै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य छ ।” 
यसमा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको अझ महत्त्वपूर्ण भूमिका र जिम्मेवारी रहेको मन्त्री पोखरेलले बताए । स्वस्थ व्यक्ति र समृद्ध देशका लागि खेल आवश्यक भएको बताउँदै उनले आजैबाट देशभर कर्णाली प्रदेश दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ भन्ने सन्देश प्रवाह गर्न र आ–आफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न सरोकारवालालाई अपिलसमेत गरे । नेपालका गाउँ र विकट क्षेत्रमा बसेका खेलाडीलाई सबैले उत्साह प्रदान गर्नुपर्नेमा जोड दिँदै उनले मुलुकलाई विश्वमाझ चिनाउने गरी आफ्नो प्रतिभा प्रदर्शन प्रतियोगीलाई अनुरोध पनि गरे ।
कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले कर्णाली प्रदेश रंगशालाका लागि रु नौ करोड, खेल पूर्वाधारका लागि रु पाँच करोड र दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सञ्चालनका लागि रु तीन करोड बजेट प्रदेश सरकारले विनियोजन गरेको बताए । पाँचौँ पटकसम्म स्थगित भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अब सुनिश्चित हुने कुराले हर्षित तुल्याएको बताउँदै उनले प्रदेश सरकारले खेल क्षेत्रलाई महत्त्व दिएर राष्ट्रियस्तरको खेलकुद पूर्वाधारको संरचना निर्माण गरेको बताए । 
यसअघि शनिबार मन्त्री पोखरेलले दाङको देउखुरीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निरीक्षण गरेका थिए । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित कार्यक्रमका लागि सुर्खेत जाने क्रममा मन्त्री पोखरेलले शनिबार रंगशालाको अवलोकन तथा निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा उनले रंगशालामा क्रिकेट अभ्यास गरिरहेका युवाहरूसँग क्रिकेटसमेत खेलेका थिए ।
रंगशालाको अवस्था तथा खेलकुद गतिविधिबारे जानकारी लिन मन्त्री पोखरेल त्यहाँ पुगेका थिए । सो अवसरमा उनले स्थानीय खेलाडीहरूसँग अन्तरक्रिया पनि गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्