नेभिगेशन
खेलकुद

दुई कास्य पदकमा रोकिएको नेपालको नागोया यात्रा

जापानको नागोयामा आयोजित बीसौँ एसियाली खेलकुद (एसियाड) मा नेपालले हासिल गरेको परिणाम र अपेक्षाबीच ठूलो खाडल देखिएको छ । राष्ट्रिय खेलकुद परिषद्को ‘मिसन २०२६’ अन्तर्गत नेपाली टोली प्रस्थान गर्दा विगतभन्दा ठूलो उपलब्धि हासिल गर्ने, अझ पहिलोपटक स्वर्ण र दोहोरो अंकमा पदक जित्ने दाबी गरिएको थियो । तर, धेरै पदकको त्यो सपना दुई कास्य पदकमै सीमित हुन पुग्यो । लक्ष्य, तयारी र खेलाडीको स्तरबीच तालमेल नहुँदा पदकको आशा गरिएका खेलाडीहरू समेत खाली हात फर्कनुपरेपछि यसपटकको सहभागिताबारे गम्भीर प्रश्न उठेको छ ।
तेन्जिङ र महिला कबड्डी टोलीको मातृभक्ति
विश्व मानचित्रमा नेपाललाई चिनाउने हिमाल आरोही शेर्पाहरूको भूमिका जस्तै यसपालि एसियाडमा पनि एक शेर्पा खेलाडीले नै नेपाललाई पहिलो पदक दिलाए । कराँतेका तेञ्जिङ शेर्पा पहिलो खेलमै मकाउका प्रतिस्पर्धी अयोग्य भएपछि सोझै सेमिफाइनल पुगेका थिए । अन्तिम दिन इरानी खेलाडीसँग हारे पनि तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा लाओसका खेलाडीलाई ठूलो अन्तरले हराउँदै उनले कास्य पदक जिते । देश बाढीपहिरोको शोकमग्न अवस्थामा रहेका बेला थोरै भए पनि खुसी सञ्चार गराउन सकेकामा उनी सन्तुष्ट देखिए । स्वदेश फर्केपछि विमानस्थलमै उनले त्यो पदक आफ्नी जन्मदाता आमालाई लगाइदिएर सम्मान गरेको क्षण निकै अनुकरणीय थियो ।
त्यसैगरी, लगातार दोस्रो पटक कास्य पदक जितेको नेपाली महिला कबड्डी टोलीले पनि यसपटक गहिरो मातृभक्ति दर्शाएको छ । मनमती विष्टको नेतृत्वमा रहेको टोलीले थाइल्याण्ड र श्रीलङ्कालाई हराउँदै सेमिफाइनल यात्रा तय गरेको थियो । सेमिफाइनलमा बलियो प्रतिद्वन्द्वी भारतसँग पराजित भई कास्य पदकमै सीमित भए पनि खेलाडीहरूले आफ्नो सफलताको श्रेय प्रशिक्षक पार्वती राईलाई दिए । उनीहरूले प्रशिक्षकलाई ‘आमा’ सम्बोधन गर्दै पदक लगाएर सम्मान गरेको क्षण अत्यन्त गर्विलो थियो । महिला टोलीले लगातार आशा जगाए पनि पुरुष टोली भने मलेसियालाई हराएर सान्त्वना जितमै सीमित बन्यो । महिला कबड्डीको थप विकासका लागि छुट्टै कभर्ड हल र निरन्तर प्रशिक्षणको आवश्यकता टड्कारो देखिएको छ ।
चुकेका खेलाडी
कराँतेमा स्वर्ण पदकको दाबेदार मानिएकी एरिका गुरुङ सेमिफाइनलमा काजाकिस्तानकी सोफ्या बेरुत्सेभासँग पराजित हुँदा नेपालको ठूलो आशा निराशामा परिणत भयो । अघिल्लो एसियाडमा रजत जितेकी एरिकाले पहिलो खेलमा राम्रो प्रदर्शन गरे पनि पुरानै प्रतिद्वन्द्वीसँग हार्न पुगिन् । त्यस्तै, मीनबहादुर तामाङ सेमिफाइनलसम्म पुगेर र राकेश मानन्धर क्वाटरफाइनल जितेर पनि पदकनजिक पुगेर चुके । निरुपा डोङ तामाङ र सानुमाया थिङ प्रारम्भिक चरणमै बाहिरिए ।
बक्सिङमा विश्व च्याम्पियनसिपमा कास्य जितेर ऐतिहासिक पुरस्कार पाएका चन्द्रबहादुर थापासहित अन्य खेलाडी पनि पराजित भए । उसु, जुडो, आर्चरी, एथलेटिक्स, साइक्लिङ जस्ता खेलमा खेलाडीहरूको प्रदर्शन सन्तोषजनक रहेन । भलिबलमा दोस्रो पटक भाग लिएको महिला टोली १२औँ स्थानमा सीमित भयो भने टेनिस र सफ्ट टेनिसमा खेलाडीहरू अघिल्ला चरणमा पुगेर पनि यात्रा टुंग्याउन बाध्य भए । विगतमा १४ वटा पदक ल्याएको इतिहास बोकेको तेक्वान्दो २० वर्षपछि पनि पदकविहीन हुँदै प्रारम्भिक चरणबाटै बाहिरिनु अर्को दुर्भाग्य बन्यो । क्यानोइङमा भने विजय माझीले फाइनल चरणसम्म पुग्दै १०औँ स्थान हासिल गर्नु र आशीष रानामगर क्वाटरफाइनलसम्म पुग्नु सकारात्मक संकेत रह्यो ।
सितोरियो सान्त्वना र क्रिकेटको पीडा
एसियाडमा कराँतेले एउटा मात्र कास्य जिते पनि जापानमै भएको ११औँ विश्व सितोरियो कराँते डो च्याम्पियनसीपमा भने नेपालले छ वटा पदक जितेर उत्साह थप्यो । एरिका गुरुङ र राकेश मानन्धरले स्वर्ण पदक जिते भने निरुपा डोङ तामाङले रजत तथा मीनबहादुर तामाङले कास्य पाए । यसका साथै काता र कुमिते टोलीले पनि कास्य जितेर एसियाडको निराशालाई केही हदसम्म खुसीमा परिणत गरे ।
यता, क्रिकेटमा भने नहारीकनै बाहिरिनु पर्दाको अनौठो पीडा नेपाली टोलीले भोग्नुप¥यो । १२ वर्षपछि अफगानिस्तानलाई र त्यसपछि जापानलाई हराउँदै समूह विजेता बनेर क्वाटरफाइनल पुगेको नेपालको श्रीलङ्का विरुद्धको खेल वर्षाका कारण हुन सकेन । खेल नै नभई विश्व वरियताको आधारमा श्रीलंका सेमिफाइनलमा पुगेपछि नेपाल प्रतियोगिताबाट बाहिरियो । यस्तो अव्यावहारिक नियम खारेजीका लागि सम्बन्धित निकायमा आवाज उठाउन जरुरी देखिएको छ ।
धेरै खेलमा किन आएन पदक ?
यसपटक नेपालले २१ वटा खेलमा दुई सयभन्दा बढी खेलाडी सहभागी गराएको थियो । खेलाडीको स्तर र पदकको सम्भाव्यताको आँकलन नै नगरी खेल संघहरूले जसरी पनि भाग लिने होडबाजी गर्दा यस्तो लज्जाजनक नतिजा आएको हो । नेपाली खेलकुदको संस्थागत विकासको सात दशक बितिसक्दा पनि तल्लो तहदेखि नै आवश्यक लगानी हुन सकेको छैन । सीमित बजेट, स्रोतको अस्थिरता, नियमित र वैज्ञानिक प्रशिक्षणको अभाव तथा अन्तर्राष्ट्रिय अनुभवको कमी नै पराजयका मुख्य कारण हुन् । भुटानजस्तो देशले जम्मा १३ खेलाडी पठाउँदा नेपालले यति ठूलो टोली पठाएर दुई कास्यमा चित्त बुझाउनु राज्यको लगानीको उचित प्रतिफल होइन ।
अबको बाटो
एसियाडमा प्राप्त परिणामलाई खेलको असफलता मात्र नभई समग्र नेपाली खेलकुद प्रणालीको ऐनाका रूपमा लिनुपर्छ । कुन खेलमा के कमजोरी भयो भन्नेबारे गम्भीर समीक्षा गर्दै अब प्राथमिकताका खेलमा मात्र केन्द्रित लगानी गर्नु जरुरी छ । प्रतिभाको पहिचान गरी योग्य प्रशिक्षकमार्फत खेल विज्ञानमा आधारित दीर्घकालीन प्रशिक्षण दिन ढिला गर्नु हुँदैन । अबको छ महिनामा हुने दक्षिण एसियाली खेलकुद, २०२८ को अमेरिका ओलम्पिक र २०३० को कतार एसियाडमा पदक जित्ने आधार तयार गर्न सरकारले बृहत मिसनको नेतृत्व लिनुपर्छ । खेलकुद परिषद्, ओलम्पिक कमिटी र सङ्घहरूले आपसी विवाद त्यागेर खेलाडीलाई वर्षैभरि प्रशिक्षण दिने व्यवस्था मिलाउन सके मात्र नेपाली खेलकुदको भविष्य उज्ज्वल हुनेछ ।
(थापा खेल विशेषज्ञ हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्