नेभिगेशन
खेलकुद

रग्बी प्रशिक्षकमा कृष्ण थापा

राष्ट्रिय रग्बी टोलीका पूर्वकप्तान कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षकमा नियुक्त भएका छन् । नेपाली सेनाले उनलाई सेनाको महिला र पुरुष दुवै टोली हेर्ने गरी प्रशिक्षक नियुक्त गरेको हो । न्युजिल्यान्ड र अस्ट्रेलियाबाट ‘कोचिङ एक्सपोजर’ प्रशिक्षण लिएर फर्किएका थापासँग अन्तर्राष्ट्रिय र घरेलु प्रशिक्षणको लामो अनुभव छ । 
खेलाडीका रूपमा थापाले राष्ट्रिय रग्बी सेभेन्स र फिफ्टिन्स दुवैमा कप्तानीको भूमिका निर्वाह गरिसकेका छन् । उनले राष्ट्रिय यू–१८ क्रिकेट टोलीका प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका छन् । उनको प्रशिक्षणमा युवा टोलीले भारत र बंगलादेशलाई पराजित गरेको थियो । 
त्यसैगरी उनकै प्रशिक्षणमा राष्ट्रिय सेभेन्स ब्वाइज टिमले सन् २०२३ मा बंगलादेशलाई पराजित गरेको थियो । जुन नेपाली रग्बीको पहिलो अन्तर्राष्ट्रिय जित पनि थियो । उनले यू–१४ एसियन एक्सचेञ्ज फेस्ट जापानमा प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।
राष्ट्रिय तहमा उनी लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका प्रशिक्षक रहिसकेका छन् । उनको प्रशिक्षणमा लुम्बिनीले नवौं बृहत राष्ट्रिय खेलकुदमा रजत पदक जितेको थियो भने कर्णाली प्रदेशले रारा सेभेन्स, पोखरा सेभेन्स र बागमती सेभेन्स च्याम्पियन बनेको थियो । 
थापा नेपाली रग्बीको चर्चित क्लब गोर्खाली रग्बी क्लबका उपाध्यक्ष र प्रशिक्षक पनि हुन् । गोर्खाली क्लबले उनको नेतृत्वमा थुप्रै उपाधि जितेका छन् । खेलाडीका रूपमा कृष्णको कार्यकालमा थुप्रै उपलब्धि हात पारेका छन् । जसमा सन् २०२२ मा बंगलादेशमा खेलेको रग्बी–१५ खेललाई नेपाली रग्बी विकासको ठूलो फड्को मानिन्छ ।
सात खेलाडी सम्मिलित रग्बी सेभेन्स मात्र खेलिरहेको नेपालले त्यो बेला ढाकामा ‘बंगबन्धु बंगलादेश नेपाल अन्तर्राष्ट्रिय रग्बी शृंखला’ खेल्यो, जुन १५ जना खेलाडीले खेल्ने ‘रग्बी–१५’ मा नेपालको पहिलो सहभागिता थियो ।
उक्त प्रतियोगिता खेलेसँगै नेपालले विश्व रग्बी महासंघबाट पूर्ण सदस्यता प्राप्त गरेको थियो भने नेपालले अन्तर्राष्ट्रिय रग्बीमा डिभिजन–३ खेल्ने राष्ट्रका रूपमा प्रवेश पाएको थियो । त्यस्तै खेलाडीका रूपमा उनले सन् २०१६ मा कतारमा एसियन रग्बी च्याम्पियनसिप र सिंगापुरमा एसियन रग्बी च्याम्पियनसिप २०१७ तथा ताइवानमा युनिभर्सियाड २०१७ मा भाग लिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्