नेभिगेशन
खेलकुद

सन् २०३६ को ओलम्पिकका लागि सात देश इच्छुक

अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) ले सन् २०३६ को ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न दक्षिण अफ्रिकासहित सात देश इच्छुक रहेको जनाएको छ ।
दक्षिण अफ्रिका ओलम्पिक आयोजना गर्ने पहिलो अफ्रिकी देश बन्ने प्रयासमा छ । दक्षिण अफ्रिकासँगै हंगेरी, भारत, कतार र टर्की पनि पहिलोपटक ओलम्पिक आयोजना गर्ने दौडमा छन् ।
जर्मनी र दक्षिण कोरिया भने यसअघि ग्रीष्मकालीन ओलम्पिक आयोजना गरिसकेका देश हुन् । यी दुवै देशले पुनः ओलम्पिक आयोजनाका लागि आईओसीसँग छलफल गरिरहेका छन् ।
आईओसीका अनुसार सातै देशले आफ्नो इच्छाबारे ३१ अक्टोबरसम्म जानकारी गराउनुपर्नेछ । इच्छुक देशले नोभेम्बरमा आईओसीको भविष्यका आयोजकसम्बन्धी आयोगसमक्ष अनलाइन प्रस्तुति दिनेछन् ।
आईओसीले सन् २०२७ मार्चसम्म सम्भाव्यता अध्ययन गर्नेछ । त्यसपछि सम्बन्धित देशका राष्ट्रिय ओलम्पिक समितिले आईओसीसँग थप रणनीतिक छलफल गर्नेछन् ।
दक्षिण अफ्रिकाले केपटाउन, डरबन र जोहानेसबर्ग गरी तीन सहरमा ओलम्पिक आयोजना गर्ने प्रस्ताव गरेको छ । डरबनले सन् २०२२ को राष्ट्रमण्डल खेल आयोजना गर्ने जिम्मेवारी पाएको थियो । तर उसले सन् २०१७ मा आयोजना गर्ने योजनाबाट पछि हटेको थियो ।
भारतले गुजरातको अहमदाबादलाई ओलम्पिक आयोजनाका लागि प्रस्ताव गरेको छ । अहमदाबादले सन् २०३० को राष्ट्रमण्डल खेल आयोजना गर्दैछ । सन् २०३८ को एसियाली खेलकुद आयोजनाका लागि पनि उसले दाबी प्रस्तुत गरेको छ ।
हंगेरीको प्रस्तावमा राजधानी बुडापेस्ट र कतारको प्रस्तावमा राजधानी दोहा आयोजक सहर हुनेछन् । कतारले सन् २०२२ को विश्वकप फुटबल आयोजना गरिसकेको छ । बुडापेस्टले सन् २०२२ को विश्व जलक्रीडा प्रतियोगिता र सन् २०२३ को विश्व एथलेटिक्स प्रतियोगिता आयोजना गरेको थियो ।
टर्कीले इस्तानबुललाई आयोजक सहरका रूपमा प्रस्ताव गरेको छ । इस्तानबुलले यसअघि सन् २०००, २००८ र २०२० को ओलम्पिक आयोजनाका लागि दाबी गरे पनि सफल भएको थिएन । इस्तानबुलले सन् २०२७ को युरोपेली खेलकुद आयोजना गर्दैछ ।
जर्मनीले सन् १९३६ मा बर्लिन र सन् १९७२ मा म्युनिखमा ओलम्पिक आयोजना गरेको थियो । अहिले म्युनिखले सन् २०३६ को ओलम्पिक आयोजनाका लागि पुनः दाबी गरिरहेको छ ।
दक्षिण कोरियाको राजधानी सियोलले सन् १९८८ मा ओलम्पिक आयोजना गरेको थियो । अहिले सियोलसहित उत्तर जिओल्ला प्रान्त पनि संयुक्त रूपमा आयोजनाको दाबीमा छन् ।
आईओसीले सन् २०३६ पछिका ओलम्पिक आयोजनाका लागि केही देशसँग प्रारम्भिक छलफल भइरहेको पनि जनाएको छ । बेलायत सरकारले सन् २०४० को दशकमा ओलम्पिक र पारालम्पिक आयोजना गर्न सम्भावित दाबीलाई समर्थन गर्ने विषयमा छलफल भइरहेको जनाएको छ ।
सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ । त्यसपछि सन् २०३२ को ओलम्पिक अस्ट्रेलियाको ब्रिसबेनमा आयोजना हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्