काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कहिले गुरिल्ला प्रयोग गरी त कहिले नाचगान गरी मकवानपुरका पूर्वजिल्ला सभापति रामचन्द्र अर्याल ‘माइकल’ मत मागिरहेका छन् । हाल कांग्रेस बागमती प्रदेशको संगठन विभाग प्रमुख रहेका अर्याल खसआर्य समूहबाट केन्द्रीय सदस्यका उम्मेदवार हुन् ।
हेटौँडा उपमहानगर बुद्धचोकका अर्याललाई २०३६ सालको विद्यार्थी आन्दोलनले माइकलको परिचय दिएको हो । पञ्चायती व्यवस्थाविरुद्ध आन्दोलन चर्किएका बेला उनी पनि प्रजातन्त्रको लडाइँमा लामबद्ध बने । "को माइकललाल अगाडि आउँछ ?" भनेर तत्कालीन सत्ताका सिपाहीले लल्कार्दा अघि बढेका उनको छातीमा तातो गोलि दागियो । स्कुले विद्यार्थी रहेका रामचन्द्र अर्यालले त्यहीँ दिनदेखि नयाँ नाम पाए ‘माइकल’ ।
त्यसपछि सुरु भएको उनको राजनीतिक यात्रा आजसम्म निरन्तर सक्रिय छ । विद्यार्थी आन्दोलनबाट कांग्रेसको राजनीतिमा प्रवेश गरेका अर्यालले पार्टी संगठन निर्माणमा लामो समय बिताएका छन् । मकवानपुर कांग्रेसको जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालेका उनले माओवादी सशस्त्र बिद्रोहको कठिन वर्षहरूमा जिल्लामा पार्टीको नेतृत्व गरेका थिए । तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनको बेला मकवानपुरमा जनआन्दोलन उठाउन उनको योगदान अविस्मरणीय छ ।
उनी ट्रेड युनियन कांग्रेस मकवानपुरका संस्थापक अध्यक्षसमेत हुन् । श्रमिकका मुद्दालाई राजनीतिको मूलधारसँग जोड्ने काममा पनि उनको सक्रियता रहँदै आएको मकवानपुर कांग्रेसकी नेतृ इन्दिरा न्यौपाने बताउँछिन् ।
उनको लागि राजनीति कहिल्यै पद र प्रतिष्ठाको विषय बनेन। २०३६ सालमा प्रजातन्त्रका लागि सडकमा निस्किएको त्यो किशोर चार दशकपछि पनि उत्तिकै सक्रियतापूर्वक राजनीतिमा होमिएको हेटौंडावासी बताउँछन् । राजनीतिक व्यवस्था र परिस्थितिमा अनेक परिवर्तन आए, तर लोकतान्त्रिक मूल्यमान्यता र पार्टीप्रतिको उनको सक्रियता भने निरन्तर उस्तै रहेको छ ।
माइकलको राजनीतिक यात्राको अर्को पक्ष उनको व्यक्तिगत जीवनसँग जोडिन्छ । किशोरावस्थामै प्रजातन्त्रका लागि सडकमा निस्किएका उनले जीवनका महत्वपूर्ण दशकहरू पार्टी, संगठन र राजनीतिक आन्दोलनमै बिताए ।
पूर्णकालीन राजनीतिमा समर्पित हुँदा उनको निजी जीवन सधैं ओझेलमा पर्यो । घर बसाउने उमेर र समयसमेत राजनीतिक यात्रामै खर्चिएका उनी अहिले पनि अविवाहित छन् । सन्त नेता कृष्णप्रसाद भट्टराईका अनुयायी माइकल पार्टी केन्द्रमा गुटउपगुटको गोलचक्कर रहँदा हालसम्म केन्द्रीय कार्यसमितिमा पुग्न सकेनन् । १५औँ महाधिवेशनमा खसआर्य समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनी महाधिवेशन प्रतिनिधिले आफ्नो इमानदारी र सक्रियतालाई न्याय गर्ने विश्वास व्यक्त गर्छन् ।
लामो राजनीतिक अनुभव र संगठनको उतारचढावका साझी रहेका रामचन्द्र अर्याल माइकल पार्टीलाई ब्यक्ति केन्द्रीत नबनाई नीति केन्द्रीत गर्न केन्द्रीय सदस्य पदमा उम्मेदवार रहेको बताउँछन् । बलियो, एकताबद्ध र कार्यकर्तामुखी कांग्रेस बनाउन आफू क्रियाशील रहने उनको भनाइ छ । महाधिवेशन प्रतिनिधिलाई आश्वस्त पार्दै उनी भनिरहेका छन्,"तपाईको मतले मलाई होइन, विचार, संघर्ष र निष्ठाको राजनीतिलाई जिताउँनेछ ।”