नेभिगेशन
खेलकुद

गोलसँगै अन्तर्राष्ट्रिय यात्राको अन्त्य

लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट आफ्नो २१ वर्ष लामो अन्तर्राष्ट्रिय करियरको अन्त्य जित, गोल र भावनात्मक विदाइसँगै गरेका छन् । ब्युनस आयर्सस्थित मोनुमेन्टल रंगशालामा बुधबार बिहान सम्पन्न मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले बेनिनलाई ३–० ले पराजित गर्दा कप्तान मेस्सीले एक गोल र दुई असिस्ट गरे ।
करिब ८५ हजार दर्शकको उपस्थितिमा भएको खेल मेस्सीका लागि सामान्य मैत्रीपूर्ण खेलभन्दा निकै ठूलो अवसर थियो । राष्ट्रिय टोलीको जर्सीमा उनको अन्तिम खेल भएकाले रंगशाला सुरुदेखि नै मेस्सीमय बनेको थियो । खेलको १०औँ मिनेटमा उनको जर्सी नम्बर १० को सम्मानमा खेल रोकिँदा दर्शकले उभिएर ताली बजाएका थिए ।
पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा अर्जेन्टिनाले खेल आफ्नो नियन्त्रणमा लियो । ४८औँ मिनेटमा मेस्सीको कर्नरबाट निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ६१औँ मिनेटमा मेस्सीकै पासमा निको पाजले गोल गर्दै अग्रता २–० बनाए ।
मेस्सीको अन्तिम अन्तर्राष्ट्रिय खेललाई पूर्णता दिने क्षण ७१औँ मिनेटमा आयो । अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सी आफैंले गोल गर्दै टोलीलाई ३–० को अग्रता दिलाए । त्यो उनको अर्जेन्टिनाका लागि १२६औँ अन्तर्राष्ट्रिय गोल थियो ।
मेस्सीले सन् २००५ मा अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय करियर सुरु गरेका थिए । दुई दशकभन्दा बढीको यात्रामा उनले आलोचना, निराशा र असफलताका चरण पार गर्दै अर्जेन्टिनाको फुटबल इतिहासकै सबैभन्दा सफल खेलाडीमा आफ्नो स्थान बनाए ।
उनको राष्ट्रिय टोली करियरको निर्णायक मोड सन् २०२१ को कोपा अमेरिका उपाधिबाट सुरु भयो । त्यसपछि अर्जेन्टिनाले २०२२ को फिफा विश्वकप र २०२४ को कोपा अमेरिका पनि जित्यो । यसरी लामो समयसम्म राष्ट्रिय टोलीबाट ठूलो उपाधि नजितेको दबाब खेपेका मेस्सीले करियरको अन्तिम चरणमा अर्जेन्टिनालाई प्रमुख अन्तर्राष्ट्रिय सफलताको शृंखलामा पु¥याए ।
विश्वकप जित्नु उनको अन्तर्राष्ट्रिय करियरको सबैभन्दा महŒवपूर्ण उपलब्धि रह्यो । कतारमा २०२२ मा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले विश्वकप जित्दा मेस्सीले गोल्डेन बलसमेत पाए । त्यसअघि सन् २०१४ मा अर्जेन्टिना विश्वकपको फाइनल पुगे पनि जर्मनीसँग पराजित भएको थियो । लामो समयसम्म विश्वकप र कोपा अमेरिकाको फाइनलमा पुगेर पनि उपाधिबाट टाढा रहेको अर्जेन्टिनाले मेस्सीकै नेतृत्वमा लगातार ठूला अन्तर्राष्ट्रिय उपाधिहरू जित्यो ।
एक युगको अवसान
बेनिनविरुद्धको खेल सकिएपछि मेस्सीलाई दुवै टोलीका खेलाडी, रेफ्री र समर्थकले सम्मान गरे । रंगशालामा ड्रोन शो र अन्य विभिन्न कार्यक्रममार्फत उनको राष्ट्रिय टोली यात्रालाई सम्झाइएको थियो । अर्जेन्टिनाको फुटबलमा मेस्सीको योगदानलाई सम्मान गर्न उनको जन्मस्थल रोजारियोमा समेत विशेष कार्यक्रम गरिएको थियो ।
मेस्सीले खेलपछि राष्ट्रिय टोलीको जर्सी लगाउन नपाउनु आफूलाई कठिन लाग्ने बताएका थिए । उनका लागि अर्जेन्टिनाको जर्सी लगाउनु गर्वको विषय रहेको पनि उनले बताएका छन् ।
बेनिनविरुद्धको ३–० जितले मेस्सीलाई आफूले चाहेजस्तै बिदाइ दिएको छ । अब अर्जेन्टिनाको जर्सीमा मेस्सी देखिने छैनन् । तर उनको नाम भने अर्जेन्टिनाको फुटबल इतिहासमा लामो समयसम्म रहनेछ । विश्वकप विजेता कप्तान, कोपा अमेरिका विजेता र राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता तथा सर्वाधिक खेल खेल्ने खेलाडीका रूपमा मेस्सीले नीलो–सेतो जर्सीमा आफ्नो अध्याय पूरा गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्