नेभिगेशन
उपत्यका

बूढानीलकण्ठबाट २२ किलो सुनसहित ३ चिनियाँ पक्राउ

काठमाडौं । प्रहरीले झण्डै २२ किलो सुनसहित ३ चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बिहीबार दिउँसोदेखि चलाएको अपरेसनका क्रममा बुढानिलकण्ठबाट ठूलो परिमाणमा सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार बरामद सुन चिनियाँ नागरिकको भएको खुलेको छ । सुनसहित ३ जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीहरु बूढानीलकण्ठमा घर नै भाडामा लिएर सुनको कारोबार गर्दै आएको प्रहरीको दाबी छ ।  विभिन्न स्वरूपमा तस्करी गरेर ल्याइएको सुन त्यहीँ पगालेर विभिन्न आकारमा तयार पार्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सुन पगाल्न तथा त्यसलाई विभिन्न आकारमा तयार गर्न प्रयोग हुने उपकरण पनि प्रहरीले बरामद गरेको छ । केही सुन ढिक्का र केही झोल अवस्थामा फेला परेको छ । यो घटनाले नेपालमा चिनियाँ नागरिक संलग्न सुन तस्करीको अर्को ठूलो सञ्जालतर्फ संकेत गरेको छ । यसअघि ब्रेकसुमा लुकाएर ल्याइएको ६१ किलो सुन बरामद प्रकरणमा पनि चिनियाँ नागरिक संलग्न पाइएको थियो । उक्त अनुसन्धानका क्रममा यसअघि पनि सोही समूहबाट ठूलो परिमाणमा सुन नेपाल भिœयाइएको खुलेको थियो । 
बूढानीलकण्ठबाट बरामद सुनको वास्तविक परिमाण, तस्करीको स्रोत, कारोबारमा संलग्न अन्य व्यक्तिहरू तथा सुन भारत लैजाने योजनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे पत्रकार सम्मेलन गरेर विस्तृत जानकारी दिने बताएको छ । 
एकै महिनामा चौथो घटना 
असोज महिनामा प्रहरीले सुन पक्राउ गरेको यो चौथो घटना हो । यसअघि असोज ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५३६ ग्राम सुनसहित एक भारतीय नागरिक र ६९.६ ग्राम सुनसहित एक नेपाली पक्राउ परेका थिए ।
त्यसैगरी असोज १५ गते रुपन्देहीबाट सशस्त्र प्रहरीले १ किलो सुनका गहनासहित एक महिलालाई पक्राउ गरेको थियो ।  असोज १७ आसपास काठमाडौंको बालाजु तीनपिप्लेबाट प्रहरीले ५ किलो अवैध सुनसहित १८ वर्षीय युवकलाई पक्राउ गरेको थियो । उक्त सुन रसुवागढी–केरुङ नाकाबाट नेपाल भित्रिएको प्रारम्भिक अनुसन्धानमा खुलेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्