नेभिगेशन
खेलकुद

मेस्सीपछि १० नम्बर जर्सी कसको ?

लियोनेल मेस्सीको युगसँग जोडिएको अर्जेन्टिनाको प्रतिष्ठित १० नम्बर जर्सी अब कसले लगाउने भन्ने प्रश्नले विश्व फुटबलमा चासो बढाएको छ । अर्जेन्टिनाको नीलो–सेतो जर्सीमा १० नम्बरलाई मेस्सीले आफ्नो अद्वितीय खेलशैली र उपलब्धिमार्फत विशेष पहिचान दिएका छन् । अब उनको उत्तराधिकारी बन्ने खेलाडीमाथि स्वाभाविक रूपमा ठूलो दबाब रहनेछ ।
मेस्सीपछि अर्जेन्टिनाको १० नम्बर जर्सीका सम्भावित दाबेदारका रूपमा निकोलस ‘निको’ पाजको नाम चर्चामा आएको छ । युवा उमेरमै प्राविधिक क्षमता, सिर्जनशीलता र आक्रमणमा प्रभाव पार्न सक्ने क्षमताका कारण पाजलाई अर्जेन्टिनाको भावी पुस्ताका महŒवपूर्ण खेलाडीमध्ये एक मानिएको छ ।
पाजसँगै फ्रान्को मास्टान्टुओनो र थियागो अल्माडा पनि १० नम्बरका सम्भावित दाबेदारका रूपमा चर्चामा छन् । मास्टान्टुओनोको सिर्जनात्मक खेल र अल्माडाको आक्रामक क्षमता अर्जेन्टिनाको नयाँ पुस्ताका लागि महŒवपूर्ण मानिन्छ ।
तर मेस्सीको जर्सी लगाउनु नम्बर परिवर्तन गर्नुजस्तो सरल विषय भने होइन । अर्जेन्टिनामा १० नम्बर जर्सीको इतिहास निकै गौरवपूर्ण छ । डिएगो म्याराडोनादेखि मेस्सीसम्म आइपुग्दा यो नम्बर अर्जेन्टिनाको फुटबल पहिचानकै एउटा हिस्सा बनेको छ । त्यसैले नयाँ खेलाडीले जर्सी मात्र होइन, त्यससँग जोडिएको अपेक्षाको भारी पनि बोक्नुपर्नेछ ।
मेस्सीले अर्जेन्टिनालाई विश्वकप, कोपा अमेरिकालगायतका ठूला उपाधि दिलाउँदै राष्ट्रिय टोलीसँग आफ्नो नाम अमर बनाएका छन् । उनको स्थान लिन आउने खेलाडीले मेस्सीसँग तुलना हुने स्वाभाविक चुनौती सामना गर्नुपर्नेछ । यद्यपि, अर्जेन्टिनाको नयाँ पुस्तासँग आफ्नै पहिचान निर्माण गर्ने पर्याप्त प्रतिभा रहेको देखिन्छ ।
अन्ततः १० नम्बर जर्सी कसले लगाउने भन्ने निर्णय प्रशिक्षक लियोनेल स्कालोनी र अर्जेन्टिना फुटबल संघको निर्णयमा निर्भर हुनेछ । तर सँगैमा एउटा कुरा के निश्चित छ भने मेस्सीपछि अर्जेन्टिनाको १० नम्बर जर्सी लगाउने खेलाडीमाथि विश्व फुटबलको नजर रहनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्