नेभिगेशन
खेलकुद

शतकले चम्किए रोहित

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपालले क्यानडामाथि २४ रनको महŒवपूर्ण जित हासिल गरेको छ । आइतबार मस्कटस्थित अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको २३६ रनको लक्ष्य पछ्याएको क्यानडा ४८.४ ओभरमा २११ रन बनाउँदै अलआउट भयो ।

नेपालको जितमा पूर्वकप्तान रोहितकुमार पौडेलको शतकीय इनिङ्स निर्णायक बन्यो । सुरुवाती ब्याटर सस्तैमा आउट भएपछि दबाबमा परेको नेपाली टोलीलाई रोहितले सम्हालेका थिए । उनले १२७ बलको सामना गर्दै आठ चौका र एक छक्काको मद्दतले १०१ रन बनाए । यो उनको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो शतक हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २३५ रन बनाएको थियो । नेपालको सुरुवात भने निराशाजनक रह्यो । ओपनर आसिफ शेख चार रनमा आउट हुँदा ईशान पाण्डेले खाता नै खोल्न सकेनन् । अर्का ओपनर अर्जुन कुमाल ५४ बलमा २३ रन बनाएर पभेलियन फर्किएपछि नेपाल १७ ओभरमा ५६ रनमा तीन विकेट गुमाएको अवस्थामा पुगेको थियो ।
त्यसपछि रोहित र बसिर अहमदले चौथो विकेटका लागि ७७ रनको महŒवपूर्ण साझेदारी गर्दै नेपालको इनिङ्स उकासे । बसिरले ५७ बलमा तीन चौकासहित ३० रन बनाए ।
मध्यक्रममा दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए पनि गुल्सन झाले आक्रामक ब्याटिङ गर्दै नेपालको रनगति बढाए । उनले ३४ बलमा चार चौका र तीन छक्कासहित ४८ रन बनाए । गुल्सनको विस्फोटक ब्याटिङकै मद्दतले नेपालले अन्तिम पाँच ओभरमा ४४ रन थप्न सफल भयो ।
क्यानडाका लागि अखिल कुमारले सर्वाधिक चार विकेट लिए । उनले १० ओभरमा ६८ रन खर्चिए । सुखजिन्दर सिंहले तीन र जाहिद शिरजादले दुई विकेट हात पारे ।

लक्ष्य पछ्याउँदा क्यानडा असफल
२३६ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएको क्यानडालाई नेपाली बलरहरूले सुरुदेखि नै दबाबमा राखे । करण केसीले युवराज सामरालाई एक रनमै एलबीडब्लू आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

क्यानडाले अन्तिमसम्म संघर्ष गरे पनि नेपाली बलिङ आक्रमणसामु लक्ष्य पूरा गर्न सकेन । क्यानडाका अखिल कुमारले ४० बलमा ३० रन बनाउँदै अन्तिमसम्म अविजित रहने प्रयास गरे । तर, अर्को छेउबाट विकेट झर्ने क्रम रोकिएन ।

नेपालका लागि करण केसीले आठ ओभरमा ३६ रन खर्चेर दुई विकेट लिए । त्यस्तै, नन्दन यादवले ८.४ ओभरमा ४१ रन खर्चिंदै दुई विकेट हात पारे । क्यानडाको अन्तिम विकेट पनि नन्दनले लिएसँगै नेपालले २४ रनको जित सुनिश्चित गरेको हो ।

३४६ दिनपछि रोहितको शतक
यस खेलको अर्को महŒवपूर्ण पक्ष रोहित पौडेलको शतक रह्यो । उनले ३४६ दिनपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका हुन् ।

यसअघि रोहितले सन् २०२५ अक्टोबर ३० मा संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध दुबईमा १०९ रन बनाएका थिए । त्यसयता १५ इनिङ्समा शतक बनाउन नसकेका उनले क्यानडाविरुद्ध पुनः तीन अंकको योगफल छोए ।

रोहित र गुल्सनबीच छैटौं विकेटका लागि भएको ८२ रनको साझेदारी पनि नेपालको जितको महŒवपूर्ण आधार बन्यो । 

अंक तालिकामा नेपाललाई राहत

क्यानडाविरुद्धको जितसँगै नेपालले विश्वकप लिग–२ मा दुई महŒवपूर्ण अंक थपेको छ ।

खेलअघि नेपाल ३२ खेलबाट २४ अंकसहित सातौं स्थानमा थियो । छैटौं स्थानमा रहेको क्यानडाले ३३ खेलबाट २५ अंक जोडेको थियो । यस जितसँगै नेपालको ३३ खेलबाट २६ अंक पुगेको छ । 

नेपालका लागि यो जित विश्वकप छनोटको यात्रामा महŒवपूर्ण छ । कमजोर सुरुवातपछि रोहित र गुल्सनले ब्याटिङ सम्हाल्नु तथा त्यसपछि बलरहरूले प्रतिस्पर्धात्मक लक्ष्यको सफल रक्षा गर्नु खेलका निर्णायक पक्ष बने ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्