नेभिगेशन
प्रदेश

केवाइसी अपडेटको बहानामा ५० लाख ठगी

गौरबाट एक भारतीयसहित तीन जना पक्राउ, मुद्दा चलाउन अनुसन्धान हुँदै

रौतहट । बैंक तथा ई–सेवाको कर्मचारी भएको भन्दै ग्राहकको विवरण लिएर ४९ लाख ८७ हजार रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार सीतामढीको बैरगनिया घर भई गौर–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, २२ वर्षीया सलोनीकुमारी सोनी र गौर–५ का १८ वर्षीय नितेश कुशवाहा छन् ।
प्रहरीका अनुसार उनीहरूले केवाइसी अद्यावधिक गर्ने बहानामा सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्थे । आफू विभिन्न बैंक तथा ई–सेवाको कर्मचारी भएको बताउँदै उनीहरूले सेवाग्राहीलाई मोबाइलको स्क्रिन सेयर गर्न लगाउँथे । त्यसपछि एकपटक प्रयोग गर्न मिल्ने ओटीपी लगायत बैंकिङ विवरण प्राप्त गरी खाताबाट रकम अनधिकृत रूपमा ट्रान्सफर गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी टोलीले उनीहरूलाई गौरबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूको साथबाट नेरु एक लाख ६२ हजार २१० र भारु तीन हजार २३६ बरामद भएको प्रहरीले जनाएको छ । उनीहरूबाट सात थान मोबाइल फोन, ११ थान सिमकार्ड, विभिन्न बैंक तथा वित्तीय संस्थाका ३० थान जम्मा भौचर, तीन थान एटीएम कार्ड र दुई थान चेक पनि बरामद भएको  छ । बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक रहेको प्रहरीले जनाएको छ । चेकबुक, डायरी, कापी, पेनड्राइभ, मेमोरी कार्ड र बैंकिङ विवरण लेखिएका पर्चासमेत बरामद भएको छ । पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा मुद्दा चलाउन थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्