नेभिगेशन
खेलकुद

रुसो फेरि पनि इंग्ल्यान्डकी उत्कृष्ट वर्ष खेलाडी

फरवार्ड एलेसिया रुसो इंग्ल्यान्डको वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । दुई सिजनअघि पनि यो अवार्ड जितेकी २७ वर्षीया रुसो ’२०२५–२६ को अभियानमा प्रमुख खेलाडी रहेकी छन् । उनले सबै १० खेल खेल्दै पाँच गोल गरेकी छन् ।

उनले तीमध्ये नौ खेलमा सुरुवाती लाइनअपमा स्थान बनाएकी थिइन्, जसमा इंग्ल्यान्डका सबै छ वटा २०२७ विश्वकप छनोट खेलहरू पनि पर्छन् ।

गत साता, २०२७ विश्वकपको प्ले–अफ सेमिफाइनलको पहिलो लेगमा इंग्ल्यान्डले ग्रीसलाई ३–१ ले हराउँदा उनले तेस्रो गोल गरेकी थिइन् । यसको दोस्रो लेग मंगलबार लेस्टरको किङ पावर स्टेडियममा हुँदैछ ।

आर्सनलकी रुसोले फ्यानहरूको भोटका आधारमा दिइने यो अवार्ड जित्ने क्रममा चेल्सीका खेलाडीहरू लुसी ब्रोन्ज र हन्ना ह्याम्पटनलाई पछि पारेकी हुन् ।

“यो अवार्ड पाउनु साँच्चै विशेष छ, अझ विशेषगरी यो सीधै फ्यानहरूबाट आएको हुनाले । म उनीहरूको प्रेमप्रति धेरै नै आभारी छु,“ रुसोले भनिन् ।

सेप्टेम्बरमा महिला बालोन डी’ओरका लागि मनोनयनमा परेका ३० खेलाडीमध्ये रुसो पनि एक हुन् । उक्त छनोट सूचीमा पर्ने अर्की एकमात्र इंग्लिस खेलाडी एलेक्स ग्रिनवुड हुन् ।

“मेरा टिमका साथीहरूलाई पनि धेरै धन्यवाद किनभने यो सामूहिक प्रयासले नै खेलाडीलाई उत्कृष्ट नतिजा दिन प्रेरित गर्छ,“ रुसोले थपिन् ।

रुसोले १५ वर्षमुनिको उमेर समूहदेखि माथि हरेक तहमा इंग्ल्यान्डको प्रतिनिधित्व गरेकी छन् । उनले २०२० सीबिलिभ्स कपको अन्तिम खेलमा स्पेनविरुद्ध मैदान छिर्दै पहिलो पटक सिनियर अन्तर्राष्ट्रिय खेल खेलेकी थिइन् ।

उनले आफ्नो देशका लागि ६८ खेलमा ३१ गोल गर्दै इंग्ल्यान्डलाई युरो २०२२ जित्न र तीन वर्षपछि उक्त उपाधि जोगाउन मद्दत गरेकी छन् ।

गत सिजन वुमन्स सुपर लिगमा १३ गोल गर्दै रुसो सबैभन्दा बढी गोल गर्ने इंग्लिस खेलाडी बनेकी थिइन् । साथै, उनले छ वटा गोलका लागि पास (असिस्ट) पनि मिलाएकी थिइन् ।

मे महिनामा एस्टन भिल्लाविरुद्ध ३–० को जितमा दुई गोल गर्दै उनले आर्सनललाई च्याम्पियन्स लिगको छनोट पक्का गर्न पनि सहयोग गरेकी थिइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्