नेभिगेशन
राजनीति

बालेनलाई स्वागतअघि नयाँ राजदूत पठाउँदै भारत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाई नियुक्त गरेको छ । भारतीय विदेश मन्त्रालयमा सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत दलेलाको नियुक्ति नेपाल–भारत सम्बन्धका दृष्टिले महŒवपूर्ण समयमा हुन लागेको छ । 
भारतले दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेसँगै प्रधानमन्त्री शाहको प्रस्तावित भ्रमणअघि काठमाडौंस्थित भारतीय कूटनीतिक नेतृत्व परिवर्तन हुने भएको छ । यसअघि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव थिए । उनी दिल्ली फर्किएपछि नेपालस्थित भारतीय दूतावास राजदूतविहीन थियो । 
दलेला सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका अनुभवी कूटनीतिज्ञ हुन् । उनले सन् २०२२ देखि २०२५ सम्म भुटानका लागि भारतीय राजदूतका रूपमा काम गरेका थिए । भारतको विदेश मन्त्रालयको नर्थ डिभिजनमा रहँदा उनले नेपाल र भुटानसँगको सम्बन्धसम्बन्धी विषयमा समेत काम गरेका थिए । भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै दलेला नेपालका लागि राजदूत नियुक्त भएको जानकारी दिएको हो । उनले छिट्टै जिम्मेवारी सम्हाल्ने मन्त्रालयले जनाएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति भने औपचारिक रूपमा तय भइसकेको छैन । दुवै देशका अधिकारीहरूका अनुसार भ्रमण नोभेम्बरको तेस्रो वा चौथो सातामा हुन सक्ने सम्भावना छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नोभेम्बर २३ देखि २५ का लागि तयारी भइरहेपनि टुंगो लागिसकेको छैन । 
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शाह प्रधानमन्त्री बनेलगत्तै भारत भ्रमणको निम्तो दिएका थिए । परराष्ट्रमन्त्री शिशिर खनालले पनि भ्रमणलाई परिणाममुखी बनाउने गरी दुवै पक्षले तयारी गरिरहेको बताएका छन् । प्रधानमन्त्री शाहको भारत भ्रमणमा दुई देशबीचका ठूला पूर्वाधार आयोजना, ऊर्जा सहकार्य, व्यापार तथा पारवहन, सीमा विवाद र नेपालका लागि थप हवाई प्रवेशमार्गजस्ता विषयमा छलफल हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्