नेभिगेशन
दृष्टिकोण

अशोेक विनायक र अन्नपूर्ण देवीको जात्रा

नेपालका आदिवासी नेवारहरूले परापूर्वकालदेखि तान्त्रिक विधि अनुसार मनाउँदै आएका विभिन्न चाडपर्व र जात्रामध्ये मोहनी नखः पनि हो । सर्वाधिक महत्वपूर्ण रहिआएको यो मोहनी नखः दश दिनसम्म मनाइने भएकाले दशैं भनिए तापनि दंैत्यहरूमाथि आदिशक्ति माता भगवतीले विजय गर्नु भएको र विशेष गरेर महिषासुर दैंत्यको वध गरी दशमीको दिन विजय गर्नु भएकोले विजयादशमी भनी मनाइँदै आइरहेको हो । 
    नेपालका नेवारहरूले माकचा माटाको एक प्रकारको गाजल पार्ने भाँडोमा दियो बालेर पारेको गाजललाई मोहनी सिन्ह कालो टीका अर्थात् मोहनी लगाउने टीका विजयादशमीका दिन मान्यजनहरूबाट भगवतीको प्रसाद टीका ग्रहण गर्दा लगाउने गर्दछन् । यसप्रकारको मोहनी टीका तान्त्रिक विधिबाट तयार पारी देवतालाई समेत आफ्नो बशमा पार्दै आएका नेपालका नेवारहरूले दशैंलाई मोहनी नखः भनी मनाउँदै देवीदेवताका जात्रा पनि गर्दै आएका छन् । यसै सन्दर्भमा आश्विन शुक्ल अष्टमीदेखि एकादशीसम्म अशोक विनायक मरु गणेशको खट जात्रा गर्दछन् भने आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध अन्नपूर्ण देवीको पनि खट जात्रा गर्दछन् ।
अशोक विनायकको जात्रा
    राजा लक्ष्मीनरसिंह मल्लले मरु सत्तल बनाउनुअघि अशोक वृक्षमुनि गणेश स्थापना गरेकाले यो गणेशको नाम अशोक विनायक हुन गएको हो भनिन्छ । अशोक विनायकलाई मरु गणेश किन भनियो ? भन्ने सन्दर्भमा मन्दिर निर्माण गरिसकेपछि गजुर हाल्न लाग्दा त्यस कामदारलाई सपनामा गणेशले गजुर नहाल्नु भन्नुभएको रहेछ तर त्यस कामदारले अरु कामदारहरूलाई सपनामको कुरा सुनाए ता पनि गजुर हालेकाले उसको त्यसै दिन मृत्यु भएको र रातभरमा गजुर भत्केर मन्दिरमा ह्वाङ्ग प्वाल परेको थियो र त्यसरी गजुर भत्केकाले पुनः अर्को गजुर राख्न कामदारहरू डराई गजुर नराखेकाले गजुर नभएको गणेश भनी मरु गणेश भनिएको हो भने मरु टोलका गणेश भएकाले पनि मरु गणेश भनिएको हो भनिन्छ । 
एउटा आख्यान अनुसार राजा लक्ष्मीनरसिंहका अत्यन्तै प्रिय कर्मचारी धर्मनारायण मानन्धर इमान्दारी र कर्तव्यनिष्ठाले गर्दा राजाले साह्रै नै मन पराउँथे । राजाले जुनसुकै काम अह्राए पनि धर्मनारायणले इमान्दरी पूर्वक पूरा गर्दथे । राजाले धर्मनारायणलाई मन पराएको रानीलाई पटक्कै मन पर्दैनथ्यो । तर रानीले राजाको सामु केही बोल्न सक्दैनथ्यो । एकदिन रानीलाई साथै लिएर राजाले धर्मनारायणको कार्यकक्षमा कामको निरीक्षण गर्न गए । राजारानी जसै धर्मनारायणको कार्यकक्षमा पुग्छन त धर्मनारायणलाई अशोक विनायकको रूपमा देख्छन् । राजारानी आश्चर्य चकित हुँदै धर्मनारायणलाई गणेशको अवतार भएको ज्ञान भएपछि रानीले पनि धर्मनारायणलाई श्रद्धा गर्न थालिन् । राजा लक्ष्मीनरसिंहकै पालादेखि राजकीय विनायकका रूपमा रहिआएका अशोक विनायकलाई शाहवंशीय राजाहरूले अत्यन्तै श्रद्धा भक्तिपूर्वक मान्दै आएको देखिन्छ । शाहवंशीय राजाहरूले आफ्ना पुत्रपुत्रीको अन्नप्रासन, व्रतबन्ध, शुभ विवाह, राज्यारोहण र राज्याभिषेक जस्ता महत्वपूर्ण महान शुभ कार्यहरूमा सर्वप्रथम अशोक विनायककै पूजाअर्चना गरिन्छ । यसरी राजखलकले पूजा आजा गरिंदै आएका अशोक विनायकलाई राज गणेशको रूपमा पनि मान्दै आएको पाइन्छ । 
    अशोक विनायकको जात्राको शुभारम्भ गर्न प्रत्येक वर्ष फूलपातीको दिनमा गणेशको मूर्तिलाई सफासुग्घर पारिन्छ । स्मरण रहोस् नेवार समुदायले फूलपाती मान्दैनन्, फूलपाती भिœयाउने चलन पनि छैन । पृथ्वीनारायणले नेपाल जितेपछि गोरखादेखि फूलपाती ल्याउन लगाई फूलापाती भिœयाउने चलन चलाएका हुन् । अष्टमीका दिन बेलुका नाय्खिं बाजा बजाएर थकालीलाई ल्याए पछि देवघरमै गणेशलाई खटमा राखेर थकालीले पूजा गर्छन् । गणेशको खट विभिन्न टोलमा परिक्रमा गराइन्छ । भक्तजनहरूले आफनो घर अगाडि नै आइपुगेका गणेशलाई श्रद्धा भक्तिका साथ पूजा गर्दछन् । यसरी अशोक विनायकको खट जात्रा गर्ने क्रममा श्री कुमारीको रथयात्रा गरिंदा कुमारीको रथ तान्ने बाटो माथिल्लो टोल असन र तल्लो टोल लगनसम्म खट लगिन्छ र भक्तजनहरूबाट पूजा ग्रहण गरिन्छ । अष्टमीको रात्रीमा ३२ थरी अन्न होम गरेर गणेशलाई राँगाको बलि दिइन्छ । नवमीका दिन अशोक विनायकलााई भक्तजनहरूले पूजा गर्दछन् । यही दिन बिहानैदेखि विनायकलाई खटमा राखी जात्रा गरेर यट्खा, कंकेश्वरी, तहबिल थकालीको घरमा धिमे, नाय्खिं बाजा बजाएर पूजा थाप्न जाने गरिन्छ साथै गुठियारका चेलीबेटीका घरघरमा गएर पनि पूजा थाप्ने चलन छ । त्यसपछि साँझ अशोक विनायकको खट राजदरबारमा दरबारिया पूजा गराउने चलन थियो भने हाल राष्ट्रपति निवासमा लैजाने गरिन्छ । 
अन्नपूर्ण देवीको जात्रा
    हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म असनको प्रसिद्ध अन्नपूर्ण देवीको जात्रा गरिन्छ । अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन् । बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्ण देवीलाई बसुन्धरा, योगाम्बर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीका रूपमा मान्दै आएका छन् । 
अन्नपूर्ण देवी साक्षात् महालक्ष्मीकी रूप हुन् । श्रीरूपी महालक्ष्मी अन्नपूर्ण देवीलाई अष्टलक्ष्मी स्वरूप, धान्य लक्ष्मी, धन लक्ष्मी, धैर्य लक्ष्मी, विद्या लक्ष्मी, जय लक्ष्मी, वीर्य लक्ष्मी, गज लक्ष्मी र सौभाग्य लक्ष्मीको रूपमा पनि पुजिन्छ । अन्नपूर्ण देवीका ८ हात छन् । दाहिने ४ हातमा खड्ग, बज्र, वरद मुद्रा र कचौरा छन भने देब्रे हातमा विन्दु मुद्रा, जपमाला, घण्टा र कलश समाती कमलको फूलको आसनमा बसिरहेकी र नर मुण्डको माला पहिरिएको देखाइएको छ ।    
असनमा पहिला जंगल थियो । एकपटक एउटी घाँसी महिलाले नागार्जुन डाँडामुनि घाँस काट्दै डोकोमा राख्दै थिइन, अन्नपूर्ण देवी नागरुपी भई उक्त घाँसको डोकोमा पसिन् । घाँसीले घाँस काट्न सकेपछि डोकोभरि घाँस राखेर बोक्दै आउँदा थकाइ लागेर असनमा अशोक वृक्षमुनि आराम गरिन् । पछि घाँसीले डोको उठाउन खोज्दा डोको त हलचल नै भएन । तान्त्रिकलाई देखाउँदा माता अन्नपूर्ण महालक्ष्मी नागको रूप लिई कलशमा सिद्ध भएकाले यस्तो भएको हो भनेपछि अन्नपूर्ण देवीलाई त्यही विराजमान गराइएको हो भन्ने भनाइ पाइन्छ । 
आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा चलाउने क्रममा ज्यापु गुथियारहरूले नवमीकै दिन मध्यरात्रीमा देवीलाई एउटा राँगो बलि दिइन्छ । देवीलाई बलि दिएको हेर्न हुँदैन भनी देवीको मन्दिर जाने सबै बाटो बन्द गरिएको हुन्छ । साथै पाल टाँगेर कसैले नदेख्ने गरी बलि दिइन्छ । अन्नपूर्ण देवीलाई दशैंको समयमा भक्तजनहरूले व्यापक रूपमा पूजा गर्र्दै हाँस, बोका, हाँसको अण्डामात्र भोग दिने गर्छन्, कुखुराको अण्डा र कुखुराको बलि दिइँदैन । 
    अन्नपूर्ण देवीको विशेष खट जात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन भव्य रूपमा गरिन्छ । अन्नपूर्ण देवीको खट ठूलो भएकाले ८–१० जना मानिसहरूले बोक्नुपर्ने हुन्छ । एकादशीको दिनमा बेलुकीतिर असनमा राखिएको देवीको मूर्तिलाई खटमा राखी न्हयःखा, त्यौड, ठँहिटी, कमलाक्षी, असन हँुदै बालकुमारीसम्म खट जात्रा गरिन्छ । बालकुमारी अन्नपूर्ण देवीको माइतीघर हो भनिन्छ । त्यसपछि फेरि असन हुँदै भोटाहिटीस्थित देवीको घरअगाडि खट विसाइन्छ । रातभर त्यहीं राखिन्छ । भोलिपल्ट पुनः अन्नपूर्णको खट जात्रा गर्ने क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्यूरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रह्मटोल आदि स्थानमा जात्रा गर्दै काठमाडांै गणेशस्थान, प्याफल, दमाई टोल, टेंगल, बाङ्गेमुढा, ज्याठा, ठमेल, कमलाछी हुँदै असन भोटाहिटी देवघर देवीको घरमा फर्काइन्छ । यसरी सबै ठाउँमा जात्रा गर्दै पूजा गराउँदै आएपछि गुठियारहरू सबैले देवीको राती पूजा गर्छन् र पूजा सकेपछि देवीको मूर्तिलाई खटबाट निकालेर साँचोले तानेर देवीलाई देवीकै घरको भण्डारमा लगेर राख्छन् र जात्रा विसर्जन गर्छन् ।

(लेखक डंगोल संस्कृतिविज्ञ हुन् ।) 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण