नेभिगेशन
अचम्मको संसार
विज्ञान

पृथ्वी र प्रोटो ठोक्किएपछि पाँचै घण्टामा बनेको चन्द्रमा

नयाँ अध्ययनहरूले देखाएअनुसार, पृथ्वी र धेरै पहिले हराएको एउटा ग्रह (प्रोटोप्लानेट) बीचको विनाशकारी ठक्करपछि मात्र पाँच घण्टाको छोटो अवधिमै चन्द्रमाको निर्माण भएको हुन सक्छ । यो आश्चर्यजनक निष्कर्षले हाम्रो अन्तरिक्ष र त्यसभन्दा बाहिर भएका अन्य ऐतिहासिक ठक्करहरूलाई बुझ्न मद्दत गर्न सक्छ । सौर्यमण्डल एकदमै नयाँ र अस्थिर रहेको अवस्थामा ‘थिया’ नामको मंगल ग्रह जत्रो अन्तरिक्षको चट्टान हाम्रो पृथ्वीसँग ठोक्किँदा चन्द्रमाको जन्म भएको हो भन्ने कुरामा विशेषज्ञहरू बलियो विश्वास गर्छन् । यो विशाल ठक्करले ती दुवैलाई घुमिरहेको पग्लिएको चट्टानको थुप्रोमा परिणत गरेको हुनुपर्छ । पछि गएर ती सेलाउँदै र एकै ठाउँमा जम्मा हुँदै आज हामीले देख्ने पृथ्वी र चन्द्रमाको रूप लिएको मानिन्छ । धेरै वैज्ञानिकहरू के सोच्छन् भने, यो ठक्कर नभएको भए पृथ्वीमा जीवनको सम्भावना नै हुने थिएन । यसै ठक्करका कारण थियाका ठुल्ठूला टुक्राहरू हाम्रो पृथ्वीको गहिराइमा पुरिएको हुन सक्ने अनुमान पनि छ ।
नासाको अपोलो मिसनका क्रममा ल्याइएका चन्द्रमाका चट्टानहरूले यो सिद्धान्तलाई प्रमाणित गर्न प्रमाण जुटाएका छन् । यसलाई ‘विशाल ठक्करको सिद्धान्त’ (जायन्ट–इम्प्याक्ट हाइपोथेसिस) भनिन्छ । ती नमुनाहरूले चन्द्रमा करिब साढे ४ अर्ब वर्ष पुरानो हो भन्ने कुरा पनि बताउँछन् । यसको मतलब सूर्य बनेको करिब १० करोड वर्षपछि यो ठक्कर भएको थियो । तर, वैज्ञानिकहरूले पहिले पनि यो ठक्करको नमुना (सिमुलेसन) बनाएर हेरेको भए तापनि, चन्द्रमा कसरी बन्यो र पृथ्वी–थियाको ठक्करपछि यसले आकार लिन कति समय लगायो भनेर ठ्याक्कै पत्ता लगाउन गाह्रो हुँदै आएको थियो । ’द एस्ट्रोफिजिकल जर्नल लेटर्स’मा प्रकाशित एक नयाँ अध्ययनमा अनुसन्धानकर्ताहरूले ठक्कर खानुभन्दा पहिले पृथ्वी र थियाको भौगर्भिक विशेषताहरू कस्ता थिए भन्ने कुरामा केन्द्रित रहेर अध्ययन गरेका छन् । अहिलेसम्म यस विषयमा त्यति धेरै खोज भएको थिएन ।
कोलोराडोको बोल्डरस्थित साउथवेस्ट रिसर्च इन्स्टिच्युटका भूगर्भविद् तथा ग्रह वैज्ञानिक अडीन डेन्टन भन्छिन्, “जब तपाईं पृथ्वी र चन्द्रमालाई फरक–फरक भौगर्भिक विशेषता भएका वस्तुको रूपमा राखेर ठक्करको नमुना बनाउनुहुन्छ, तब त्यस ठक्करबाट चन्द्रमा कसरी बन्छ भन्ने कुरा नै बदलिन्छ । हामीले पहिले यो कुरालाई अनावश्यक ठानेका थियौं ।” अहिलेसम्म पृथ्वी र थियाको ठक्करका सिमुलेसनहरू मुख्यतया ती दुई वस्तुको पिण्ड (तौल) मा मात्र केन्द्रित थिए । तर अनुसन्धानकर्ताहरूले ती दुई वस्तुको भौतिक मजबुती, विशेष गरी तिनको बाहिरी भागको कडापनमा बढी चासो राखेका थिए । डेन्टनका अनुसार सानो आकारका क्षुद्रग्रहहरूबीचको ठक्करको अध्ययन गर्दा भौतिक मजबुतीको कुरा ज्यादै महत्त्वपूर्ण हुन्छ । चन्द्रमाको हकमा यसले फरक पार्छ कि पार्दैन भनेर उनीहरू पक्का थिएनन्, तर अध्ययन गरेर हेर्दा यसले निकै ठूलो प्रभाव पार्ने रहेछ भन्ने पत्ता लाग्यो ।
ठोक्किने वस्तुहरूको मजबुती निर्धारण गर्ने मुख्य तत्त्व भनेको तापक्रम हो । पृथ्वी र थिया दुवै नयाँ रहेकै बेला ठोक्किएका थिए । त्यसैले ती तातै थिए र तिनको सतह नरम वा पग्लिएको अवस्थामा थियो । यिनै विशेषताका कारण ठक्करको झड्का अलि कम भयो, जसले गर्दा भग्नावशेषहरू धेरै हदसम्म एकै ठाउँमा रहे र चन्द्रमा छिटो बन्न मद्दत पुग्यो । तर सन् २००१ मा पहिलो पटक विशाल ठक्करको सिद्धान्त अघि सार्दा अनुसन्धानकर्ताहरूले यो ठक्कर धेरै पछि मात्र भएको सोचेका थिए । यसको मतलब ती ग्रहहरू सेलाएर अलि कडा र सजिलै फुट्ने खालका भइसकेका थिए भन्ने उनीहरूको अनुमान थियो । यदि त्यसो भएको भए, ठक्करले धेरै टाढासम्म चट्टानका टुक्राहरू फैलाउने थियो र तिनीहरू एकै ठाउँमा जम्मा हुन धेरै समय लाग्ने थियो ।
अनुसन्धानकर्ताहरूले विभिन्न सम्भावित तापक्रमहरू राखेर ठक्करको नमुना तयार पारेका थिए । त्यस क्रममा ती दुवै ग्रह सबैभन्दा बढी तातो भएको बेलामा चन्द्रमा मात्र पाँच घण्टामा बनेको हुन सक्ने उनीहरूले पत्ता लगाए । तर यो एउटा सम्भावित नतिजा मात्र हो । पृथ्वी र थिया ठोक्किँदा तिनीहरू ठ्याक्कै कति तातो र कति बलिया थिए भनेर पक्का रूपमा जान्ने कुनै उपाय छैन ।
चन्द्रमाले आकार लिँदा यो सुरुमा पग्लिएको चट्टान (म्याग्मा) को सागरले ढाकिएको थियो, जसलाई जमेर कडा हुन करोडौं वर्ष लाग्यो । त्यतिबेला पनि यो पृथ्वीको निकै नजिक भएकाले ज्वालामुखीले भरिएको डरलाग्दो ठाउँ जस्तो थियो होला । यद्यपि, समय बित्दै जाँदा यो हाम्रो पृथ्वीबाट टाढा हुँदै गयो र अझै सेलायो । अहिले यसलाई भौगर्भिक रूपमा सक्रिय नरहेको (मृत) मानिन्छ । नयाँ अध्ययनले ग्रहहरूबीचको ठक्करको अध्ययन गर्दा भौतिक मजबुती कति महŒवपूर्ण हुन्छ भन्ने कुरालाई उजागर गरेको छ । यसले वृहस्पतिको चन्द्रमा ग्यानिमिडलाई आफ्नो अक्षबाट धकेल्ने वा शनिको चन्द्रमा टाइटनको जन्म गराउने जस्ता अन्य प्राचीन ठक्करहरूबारे हाम्रो बुझाइलाई नै बदल्न सक्छ ।

के तपाईंलाई थाहा छ ? चन्द्रमाको गुरुत्वाकर्षण पृथ्वीको तुलनामा करिब १६.६ प्रतिशत मात्र छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्