नेभिगेशन
अर्थतन्त्र
नेपाल–भारत चेम्बरको अध्यक्षमा कुनाल कायल सर्वसम्मत

लगानी विस्तार, ऊर्जा सहकार्य र द्विपक्षीय व्यापार प्रवद्र्धनलाई प्राथमिकता

काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (एनआईसीसीआई) को अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित भएका छन् । चेम्बरको बिहीबार सम्पन्न ३२औँ वार्षिक साधारणसभाले सन् २०२६–२०२८ कार्यकालका लागि कायलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
साधारणसभाबाट कार्यसमितिका सबै सदस्य सर्वसम्मत निर्वाचित भएका हुन् । यसअघि निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा उपाध्यक्ष र श्रीजना राणाको कार्यकालमा कोषाध्यक्षको जिम्मेवारी सम्हालेका कायलले अब चेम्बरको नेतृत्व गर्नेछन् ।

नवनिर्वाचित अध्यक्ष कायलको नेतृत्वमा करणकुमार चौधरी र गौरव तायल उपाध्यक्ष, बर्णन लामिछाने महासचिव तथा शैलजा अधिकारी कोषाध्यक्ष चयन भएका छन् । कार्यसमिति सदस्यमा सञ्जय अग्रवाल, रमेश शर्मा, शैलेन्द्र गुरागाईं, शशिकान्त अग्रवाल, सुसन कर्माचार्य, विनय उपाध्याय, आशिक श्रेष्ठ र चन्द्र टण्डन निर्वाचित भएका छन् ।

नयाँ नेतृत्वले नेपाल–भारतबीच द्विपक्षीय व्यापार विस्तार, भारतीय लगानी आकर्षित गर्ने, ऊर्जा क्षेत्रमा सहकार्य बढाउने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने विषयलाई प्राथमिकतामा राख्ने जनाएको छ । सन् २०२६–२०२८ का लागि चेम्बरले ‘आर्थिक क्षितिजको विस्तार ः द्विपक्षीय व्यापार, लगानी तथा ऊर्जा रूपान्तरणलाई गति’ भन्ने मूल नारासमेत तय गरेको छ ।
साधारणसभाको उदघाटन गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक साझेदारीलाई थप सुदृढ बनाउन चेम्बरको भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले दुई देशका जनताबीचको ऐतिहासिक सम्बन्धलाई लगानी, उत्पादन र आर्थिक सहकार्यसँग जोडेर साझा समृद्धिको आधार तयार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा चेम्बरले आफ्नो तीन दशकको संस्थागत विकास समेटिएको स्मारक पुस्तक ‘थ्री डिकेड्स क्रोनिकल बुक’ सार्वजनिक गरेको छ। त्यसैगरी भारतीय लगानीकर्तालाई नेपालमा लगानीका अवसर र प्रक्रियाबारे जानकारी दिने ‘ए ह्यान्डबुक फर इन्डियन इन्भेस्टर्स–इन्भेस्टिङ इन नेपाल’ को चौथो संस्करण पनि सार्वजनिक गरिएको छ ।
निवर्तमान अध्यक्ष सुनील केसीले निजी क्षेत्रको सहकार्य र आर्थिक कूटनीतिमार्फत नेपाल–भारतबीचको आर्थिक सम्बन्धलाई थप व्यवस्थित बनाउनुपर्ने बताए । उनले लगानीकर्तासँगको सहकार्य विस्तार तथा भारतीय दूतावाससँगको समन्वयलाई प्रभावकारी बनाउने विषयमा जोड दिए । आफ्नो कार्यकालको अनुभव सुनाउँदै उनले संस्था व्यक्तिभन्दा ठूलो हुने उल्लेख गर्दै भने, ‘संस्था सञ्चालन गर्ने व्यक्तिहरूभन्दा संस्था सधैँ ठूलो हुनुपर्छ।’

कार्यक्रमका प्रमुख वक्ता जवाहरलाल नेहरू विश्वविद्यालयको अन्तर्राष्ट्रिय अध्ययन विद्यालयका डिन तथा पद्मश्री सम्मानबाट सम्मानित प्राध्यापक अमिताभ मट्टुले नेपाल–भारत सम्बन्धलाई संरचनात्मक समझदारी र सहकार्यका आधारमा अघि बढाउनुपर्ने बताए । उनले भारतमा गरिने नीतिगत निर्णयको प्रभाव नेपालमा समेत पर्ने उल्लेख गर्दै नेपाललाई भूपरिवेष्टित अवस्थाबाट भूजडित अर्थतन्त्रतर्फ अघि बढ्न आग्रह गरे ।

भारतका लागि नेपालका पूर्वराजदूत डा. शंकरप्रसाद शर्माले पेट्रोलियम पाइपलाइन, नवीकरणीय ऊर्जा र भारतको बढ्दो मध्यमवर्गीय बजारले नेपालका लागि नयाँ आर्थिक अवसर सिर्जना गर्न सक्ने बताए । उनले भारतबाट नेपालमा हुने लगानी अपेक्षाकृत सुस्त रहेको उल्लेख गर्दै लगानी प्रवद्र्धनका लागि स्पष्ट रूपरेखा आवश्यक रहेको धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपाल–भारत संयुक्त कार्यदलमा निजी क्षेत्रको सहभागिता र परामर्शलाई प्रभावकारी बनाउनुपर्ने बताए । सरकार र निजी क्षेत्रबीच नियमित संवाद तथा व्यवसायीका सुझावलाई नीतिनिर्माणमा समेट्ने व्यवस्था आवश्यक रहेको उनको भनाइ थियो ।

सांसद तथा चेम्बरकी स्थायी आमन्त्रित सदस्य विदुषी राणाले नेपालको हरित ऊर्जा सम्भावनाको उपयोग गर्नुपर्नेमा जोड दिइन् । स्वच्छ ऊर्जाको विकासले कोइलामाथिको निर्भरता घटाउन र दुवै देशलाई लाभ पु¥याउन सक्ने उल्लेख गर्दै उनले नेपालमा संयुक्त लगानीका उद्यम र निजी कम्पनी आकर्षित गर्नुपर्ने बताइन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्