नेभिगेशन
नेपाल

सेन्साई पेमा वाईबाले तेस्रो पटक चुमे सगरमाथाको शिखर

काठमाडौं । नेपाली हिमाल आरोही तथा चलचित्रकर्मी सेन्साई पेमा वाईबाले विश्वको सर्वोच्च शिखर सगरमाथाको तेस्रो पटक सफल आरोहण गरेका छन् । वाईबा आज बिहान ७ बजेर ४२ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका हुन्। इम्याजिन नेपालका संस्थापक मिङ्मा जीका अनुसार वाईबाले निर्धारित समयमा सफलतापूर्वक शिखर आरोहण गरेका हुन् ।
सिन्धुपाल्चोकको दुर्गम पञ्चपोखरी थाङपाल गाउँपालिका–३, भोताङ मा जन्मिएका वाईबाले यसअघि पनि सगरमाथासहित मनास्लु, सिसापाङ्मा लगायत ८ हजार मिटरभन्दा अग्ला हिमालहरू आरोहण गरिसकेका छन्। यसपटकको सगरमाथा आरोहणका क्रममा वाईबाले Lions Club को झण्डासमेत विश्वको सर्वोच्च शिखरमा पुर्‍याएका छन् ।
हिमालको चुचुरोमा झण्डा फहराउँदै उनले आफ्नो आरोहणलाई सामाजिक तथा संस्थागत प्रतिनिधित्वसँग पनि जोडिएका छन् । सन् २०२२ देखि औपचारिक रूपमा पर्वतारोहणमा सक्रिय वाईबा पछिल्लो समय आरोहणसँगै चलचित्र निर्माण, सिनेमाटोग्राफी र दृश्यकथामार्फत हिमाली जनजीवन तथा संस्कृतिलाई विश्वसामु चिनाउने युवाका रूपमा परिचित छन् । फिल्म तथा दृश्य कथामा सक्रिय वाईबाले हिमाली भूगोल, संस्कृति र जीवनशैलीलाई आफ्नो सिर्जनाको विषय बनाउँदै आएका छन् ।
उनका ‘श्याल्गार’, ‘सेम्की ताम’ र ‘बेह्युल’ लगायतका सिर्जनाहरू ल्हाप्साङ कर्पो म्युजिक सेन्टर मार्फत सार्वजनिक भएका छन्। सगरमाथाको तेस्रो सफल आरोहणसँगै वाईबाको पर्वतारोहण यात्रा थप उचाइमा पुगेको छ। हिमाल आरोहण, चलचित्र र दृश्य कथामार्फत नेपालको हिमाली जीवन र पहिचानलाई विश्वसामु पुर्‍याउने उनको प्रयासलाई यस उपलब्धिले थप बल दिएको छ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्