नेभिगेशन
खेलकुद

एनपीएलमा आज दुई खेल, चितवन- विराटनगर र जनकपुर–कर्णाली आमनेसामने

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछन् । आज बिहान चितवन राइनोज र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने साँझ जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
सोमबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। पहिलो दिन एक खेल मात्रै भएकोमा दोस्रो दिन भने दुई खेल हुन लागेका हुन् ।
आजको पहिलो खेलमा कुशल मल्लको कप्तानीमा रहेको चितवन राइनोजले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सको सामना गर्नेछ । दुवै टोलीमा नेपाली तथा विदेशी खेलाडीको मिश्रण रहेकाले प्रतिस्पर्धा रोचक हुने अपेक्षा गरिएको छ ।
विराटनगरको टोलीमा लोकेश बम, बसिर अहमद, प्रतिश जीसी, सुवास भण्डारी, नारायण जोशी, रुपेश सिंह, नरेन साउद र सुजन थपलियालगायतका खेलाडी छन् । त्यस्तै, इमरान शेख, प्रतीक श्रेष्ठ, आन्द्रे रसेल, एन्जेलो म्याथ्युज, शुभम रन्जाने र चरिथ असलंका पनि विराटनगरको टोलीमा समावेश छन् ।
यता, चितवनको टोलीमा देव खनाल, अर्जुन साउद, रिजन ढकाल, कमल सिंह ऐरी, रञ्जित कुमार, दीपक बोहरा, रवि बोपारा, सिकन्दर राजा र कलिम सानालगायतका खेलाडी छन् । चितवनमा विवेक यादव, मौसम ढकाल, विपिन रावल, हसन अली, गौतम केसी, सलाहुद्दिन खान र उसामा मीर पनि रहेका छन् ।
मंगलबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्नेछन् । हर्मित सिंहको कप्तानीमा रहेको जनकपुरमा कुशल परेरा, ललित राजवंशी, मयन यादव, अनिल साह, विकास आग्री, आदित्य मेहता र तृतराज दास छन्। त्यस्तै, अभिषेक तिवारी, विशाल पटेल, विशाल सुशलिङ, अमरसिंह रौतेला, रित गौतम, सन्तोष कार्की, जिमी नीशम, मोइन अली र इफ्तिकार अहमद पनि जनकपुरको टोलीमा छन् ।
जनकपुरसँग प्रतिस्पर्धा गर्न लागेको कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । कर्णालीको टोलीमा डेभिड मिलर, नन्दन यादव, युवराज खत्री, पवन सर्राफ, विपिनप्रसाद शर्मा, दीपक डुम्रे, युनिश सिंह ठकुरी, शुभ कंसाकार, दीपेन्द्र रावत, सूर्य तामाङ, सचिन शर्मा र दिवान पुनलगायतका खेलाडी छन् ।
एनपीएलको समूह चरणका खेल कात्तिक २९ गतेसम्म सञ्चालन हुनेछन् । त्यसपछि मङ्सिर १ गते पहिलो र दोस्रो स्थानमा रहने टोलीबीच पहिलो क्वालिफायर हुनेछ भने मङ्सिर २ गते तेस्रो र चौथो स्थानमा रहने टोलीबीच इलिमिनेटर खेल हुनेछ ।
मङ्सिर ३ गते पहिलो क्वालिफायरमा पराजित टोली र इलिमिनेटरमा विजयी टोलीबीच दोस्रो क्वालिफायर हुनेछ। प्रतियोगिताको फाइनल मङ्सिर ५ गते हुनेछ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्