नेभिगेशन
नेपाल

मौसम पूर्वानुमानः भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लागेको छ भने तराईका अधिकांश स्थानमा मौसम मुख्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बादल लाग्नेछ। देशका बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । आज राति देशभर आंशिक बादल लाग्नेछ ।
बुधबार देशभर साधारणतया बादल लाग्ने सम्भावना छ। देशका हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।
बुधबार राति पनि देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । त्यस्तै, कोशी र बागमती प्रदेशका पहाडी भूभाग, मधेस प्रदेश तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
बिहीबार धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना
महाशाखाका अनुसार बिहीबार देशभर साधारणतया बादल लाग्नेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ ।
बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । त्यस्तै, लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
वर्षा र हिमपातको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूले मौसमको अवस्थाबारे जानकारी लिएर यात्रा गर्नुपर्ने देखिन्छ। विशेषगरी भारी वर्षा हुन सक्ने क्षेत्रमा सम्भावित जोखिमप्रति सचेत रहन आवश्यक छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्