काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ देखि २१ सम्म काठमाडौंको भृकुटीमण्डपमा ११औं नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२६ आयोजना हुने भएको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग, व्यापार तथा निकासी प्रवर्धन केन्द्रको प्रवर्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सहआयोजनामा हुन लागेको मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानलगायतका देशको सहभागिता रहनेछ ।
मेलामा २०० भन्दा बढी स्टलमार्फत स्वदेशी तथा विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिनेछ । यस वर्षको मेलामा करिब एक लाख स्वदेशी तथा विदेशी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।
मेलाबारे जानकारी दिँदै महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन, निजी क्षेत्रको मनोबल अभिवृद्धि गर्न र व्यापारिक गतिविधि विस्तार गर्न यस्ता अन्तर्राष्ट्रिय मेलाको महŒवपूर्ण भूमिका रहने बताए । उनले बजारमा माग कमजोर रहेको, निजी लगानी अपेक्षित रूपमा विस्तार हुन नसकेको र उद्योग व्यवसायको मनोबलमा कमी आएको वर्तमान अवस्थामा उपलब्ध वित्तीय स्रोत, ऊर्जा र उद्यमशीलतालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए ।
अध्यक्ष श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलालाई नेपाली उत्पादन तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारसँग जोड्ने महŒवपूर्ण व्यावसायिक प्लेटफर्मका रूपमा विकास गरिएको बताए । मेलाले उत्पादक, क्रेता, वितरक, आयातकर्ता तथा निर्यातकर्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापार विस्तार, लगानी आकर्षण र व्यावसायिक साझेदारी विकासमा सहयोग पु¥याउने उनको भनाइ थियो ।
मेलामा नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहिचान र बजार विस्तारलाई विशेष प्राथमिकता दिइएको छ । मेड इन नेपाल पेभेलियन तथा विभिन्न वस्तुगत संघका पेभेलियनमार्फत नेपाली उत्पादनको प्रदर्शनी गरिनेछ । हस्तकला, कृषि उत्पादन, जडीबुटी, गलैंचा, पश्मिना, चिया, कफी, अलैंची, अदुवा, नेपाली कागज तथा तयारी पोसाकलगायत निर्यात सम्भावना भएका वस्तुलाई मेलामा विशेष स्थान दिइनेछ ।
अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको गुणस्तर, प्याकेजिङ, ब्रान्डिङ र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्नुपर्नेमा जोड दिए । स्थानीय तथा साना उद्यमीका उत्पादनलाई बजारसम्म पु¥याउने, महिला तथा युवा उद्यमशीलतालाई प्रोत्साहन गर्ने र स्वदेशी उत्पादनको व्यावसायीकरणमार्फत रोजगारी सिर्जना गर्ने अवसरका रूपमा पनि मेलालाई उपयोग गर्नुपर्नेमा जोड दिंदै स्तरीय मेला स्थल बनाउन सरकारसँग आग्रह गरे ।
यसैगरी, महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले महासंघले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रवर्धन, विदेशी लगानी तथा प्रविधि आकर्षण र व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास लिएको बताए । उनले स्थानीयस्तरमा उत्पादित वस्तुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सहयोग पुग्ने बताए ।
मेला समिति सभापति सविन श्रेष्ठले मेलालाई विगतका वर्षभन्दा थप व्यवस्थित, प्रभावकारी र व्यावसायिक बनाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार मेलामा अन्तर्राष्ट्रिय खरिदकर्तालाई आमन्त्रण गरी नेपाली उत्पादक तथा निर्यातकर्तासँग प्रत्यक्ष अन्तरक्रिया र व्यावसायिक भेटघाट गराउने कार्यक्रम तय गरिएको छ । विशेषगरी नेपाली र चिनियाँ व्यवसायीबीच प्रत्यक्ष अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ ।
मेलामा हस्तकला, पर्यटन, सूचना तथा प्रविधि, कृषि, ऊर्जा, भवन तथा निर्माण सामग्री, शिक्षा र व्यावसायिक सेवासम्बन्धी छुट्टाछुट्टै स्टल रहनेछन् । यसबाट नेपाली व्यवसायीले नयाँ बजार, प्रविधि र व्यावसायिक अवसर पहिचान गर्न सक्ने उनको विश्वास छ ।
स्थानीय उत्पादन तथा साना उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले महासंघको नेतृत्वमा देशका विभिन्न प्रदेश, जिल्ला तथा वस्तुगत संघमार्फत आयोजना भएका मेलाहरूमा उत्कृष्ट ठहरिएका स्टल तथा उत्पादनलाई यस मेलामा निःशुल्क स्टल उपलब्ध गराउने व्यवस्था गरिएको पनि सभापति श्रेष्ठले जानकारी दिए ।
मेलामा जलविद्युत््, पर्यटन, कृषि प्रशोधन, सूचना प्रविधि तथा उत्पादनमूलक उद्योगलगायत क्षेत्रमा विदेशी लगानी र प्रविधि आकर्षित गर्ने अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ । सरकार र निजी क्षेत्रबीचको सहकार्य, नीतिगत स्थिरता, लगानीको सुरक्षा तथा व्यवसायमैत्री वातावरण निर्माणले व्यापार र लगानी विस्तारमा महŒवपूर्ण योगदान पु¥याउने महासंघको विश्वास छ । मेलालाई केवल प्रदर्शनीका रूपमा मात्र नभई व्यापारिक कारोबार, लगानी र दीर्घकालीन व्यावसायिक साझेदारी निर्माण गर्ने अवसरका रूपमा उपयोग गर्न महासंघले स्वदेशी तथा विदेशी व्यवसायी, उद्योगी, उद्यमी र सर्वसाधारणलाई आग्रह गरेको छ ।