नेभिगेशन
खेलकुद

राहुलको खेलले अजगैबी गाउँ नै खुसी

रौतहट । रौतहटको बौधिमाई नगरपालिका–१, अजगैबीका १७ वर्षीय राहुल यादव अहिले नेपाली क्रिकेटमा चर्चाको नाम बनेका छन् । जनकपुर बोल्ट्सबाट नेपाल प्रिमियर लिग (एनपीएल)मा डेब्यु गरेका उनले पहिलो खेलको पहिलो बलमै विकेट लिए । त्यसपछि दोस्रो खेलमा चार विकेट झार्दै टोलीलाई जित दिलाए । उनको यही प्रदर्शनले गाउँदेखि राष्ट्रिय क्रिकेट वृत्तसम्म चर्चा चुलिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट करिब ४२ किलोमिटर दक्षिणपश्चिममा पर्ने अजगैबी गाउँमा राहुलको सफलताले खुसीयाली छाएको छ । सामान्य किसान परिवारमा जन्मिएका राहुलको स्थानीय खेलमैदानदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानसम्मको यात्रा भने सहज थिएन । उनका बुबा वीरबहादुर यादव र आमा पनापती देवी खेतीपाती गरेर परिवार चलाउँछन् । दाजु कमलेश यादव बुटवलस्थित एक अस्पतालमा काम गर्छन् भने दिदी शकुन्तला कुमारीको बिहे भइसकेको छ । परिवारको आर्थिक अवस्था कमजोर भए पनि छोराको क्रिकेटर बन्ने सपनामा उनीहरूले कहिल्यै अवरोध गरेनन् । 
परिवारको नाममा १० धुर जग्गामा बनेको सानो घर र दाजुभाइबीच अंशबण्डा हुन बाँकी १५ कठ्ठा जमिन छ । बाँसको टाटीले घेरिएको माटोको घर, बाँसकै भाटाले अड्याइएको टालीको छानो र साँघुरो बसोबासबीच हुर्किएका राहुलले क्रिकेटप्रतिको लगाव भने कहिल्यै छाडेनन् । 
राहुलका बुबा वीरबहादुरका अनुसार छोरालाई सानैदेखि क्रिकेट खेल्न असाध्यै रुचि थियो । खेल्नका लागि आवश्यक सामग्री जुटाउन परिवारले आफ्नो क्षमताअनुसार खर्च गर्दै आएको उनले बताए । ‘हामीलाई क्रिकेटको खासै ज्ञान थिएन । बल विकेटमा लागेपछि आउट हुन्छ भन्ने पनि छोराले खेल्न थालेपछि मात्रै थाहा पायौं,’ उनले भने, ‘अहिले उसले खेलेको देख्दा निकै खुसी लागेको छ ।’
राहुलका बुबाआमालाई अझै क्रिकेटका सबै नियम थाहा छैनन् । उनीहरूका घरमा टेलिभिजनसमेत छैन । छोराले खेलेको खेल हेर्न विवाहित छोरी शकुन्तलाकुमारी माइत आउँदा उनको मोबाइल प्रयोग गर्छन् । एनपीएलमा छोराले गरेको प्रदर्शनले परिवारमा खुसीसँगै राष्ट्रिय टोलीबाट खेलेको हेर्ने चाहना पनि बढाएको छ ।
‘भाइले जनकपुर बोल्ट्सबाट राम्रो खेलिरहेको छ,’ शकुन्तलाले भनिन्, ‘अब राष्ट्रिय टोलीबाट खेलेको हेर्न मन छ ।’ उनका अनुसार राहुल सानैदेखि क्रिकेटप्रति निकै लगाव राख्थे । परिवारको आर्थिक अवस्था कमजोर भए पनि खेल सामग्री र प्रशिक्षणका लागि आवश्यक खर्च जुटाउन सबैले सहयोग गर्दै आएका छन् । क्रिकेट सिक्नकै लागि राहुललाई भारतको लखनउ र नोयडासमेत पठाइएको थियो ।
टेनिस बलबाट क्रिकेट खेल्न सुरु गरेका राहुलले पछि ड्युज बलमा पनि आफ्नो क्षमता देखाए । उनको खेलप्रतिको निरन्तर लगाव र मेहनतले अहिलेको सफलता सम्भव भएको परिवारको भनाइ छ । छोराले अझै प्रगति गर्दै देशको नाम राखोस् भन्ने कामना गरिरहेको आमा पनापती देवीले बताइन् । 
राहुलको सफलताले उनका बाल्यकालका साथीहरूलाई पनि उत्साहित बनाएको छ । सँगै क्रिकेट खेलेका अर्जुन यादव र विक्रम यादवका अनुसार राहुल सानैदेखि क्रिकेटमा रुचि राख्थे । उनीहरूका लागि साथीले ठूलो प्रतियोगितामा खेल्दै सफलता हासिल गर्नु गर्वको विषय बनेको छ ।
राहुलको क्रिकेट यात्रामा चन्द्रपुर क्रिकेट एकेडेमीको भूमिका पनि महŒवपूर्ण छ । उनले उक्त एकेडेमीमा करिब तीन वर्ष नियमित अभ्यास गरेका थिए । एकेडेमीका संस्थापक देवराज कार्कीका अनुसार राहुलको खेलप्रतिको लगाव, नियमित अभ्यास र बलिङ क्षमताले उनलाई अन्य खेलाडीभन्दा फरक बनाएको हो । ‘उनमा सानैदेखि क्रिकेटप्रति गहिरो रुचि थियो । निरन्तर मेहनत र अभ्यासकै कारण आज यो स्थानमा पुगेका हुन्,’ कार्कीले भने ।
एकेडेमीमा प्रशिक्षण लिँदै राहुलले स्थानीय तथा प्रदेशस्तरीय प्रतियोगितामा आफ्नो क्षमता देखाएका थिए । चन्द्रपुर क्रिकेट लिग २०८२ मा उनले म्यान अफ द म्याचको उपाधि जितेका थिए । त्यस्तै, मधेश प्रदेशस्तरीय यू–१६ प्रतियोगितामा प्लेयर अफ द सिरिज बनेका थिए । यद्यपि, उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरे पनि उनी टोलीमा स्थान बनाउन सफल भएनन् ।
राहुलको प्रतिभालाई राष्ट्रिय स्तरको मञ्च पाउने अवसर भने जनकपुर बोल्ट्सले गत असोज २२ र २३ गते आयोजना गरेको ट्यालेन्ट हन्टबाट प्राप्त भयो । एनपीएलको तेस्रो संस्करणका लागि चन्द्रपुरस्थित कोटिहोम क्रिकेट मैदानमा आयोजित छनोट कार्यक्रममा देशका विभिन्न स्थानबाट ४४६ खेलाडीले नाम दर्ता गराएका थिए । प्रतिस्पर्धामा आफ्नो क्षमता देखाएपछि राहुल जनकपुर बोल्ट्सको आइकोनिक खेलाडीका रूपमा छनोट भए ।
जनकपुर बोल्ट्सबाट उनले कात्तिक १० गते एनपीएलमा डेब्यु गरे । कर्णाली याक्सविरुद्धको पहिलो खेलमा बलिङको जिम्मेवारी पाएका उनले पहिलो बलमै विकेट लिए । उक्त खेलमा चार ओभर बलिङ गर्दै १५ रन खर्चिएर दुई विकेट लिए । टोली पराजित भए पनि उनको प्रदर्शनले सबैको ध्यान खिच्यो ।
त्यसको दुई दिनपछि कात्तिक १२ गते काठमान्डु गोर्खाजविरुद्ध मैदान उत्रिएका राहुलले चार विकेट लिए । उनको उत्कृष्ट बलिङकै मद्दतमा जनकपुरले खेल जित्यो । लगातार दुई खेलमा देखाएको प्रभावशाली प्रदर्शनपछि कीर्तिपुर मैदानमा दर्शकले उनको नाम लिएर हौसला बढाउन थालेका छन् ।
राहुलको प्रदर्शनले स्थानीय क्रिकेटप्रेमीलाई मात्र होइन, अनुभवी खेलाडीलाई समेत प्रभावित पारेको छ । उनको बलिङ गति र फरक शैलीलाई नेपाली क्रिकेटका लागि सम्भावनायुक्त मानिएको छ । अजगैबीका स्थानीय जोगिन्दर राय यादवका अनुसार राहुलको सफलताले गाउँकै पहिचान बढाएको छ । ‘हाम्रो गाउँको एउटा सामान्य परिवारको छोरा देशभर चिनिनु सबैका लागि खुसी र गर्वको कुरा हो,’ उनले भने ।
रौतहटमा राहुलको सफलतालाई स्थानीय प्रतिभाले अवसर पाए राष्ट्रियस्तरमा पुग्न सक्छन् भन्ने उदाहरणका रूपमा हेरिएको छ । क्रिकेट जानकारहरूका अनुसार उनले अहिलेको प्रदर्शनलाई निरन्तरता दिन सके राष्ट्रिय टोलीको ढोका खुल्न सक्छ तर त्यसका लागि नियमित प्रशिक्षण, शारीरिक फिटनेस, अनुशासन र प्रतिस्पर्धात्मक अनुभव आवश्यक हुनेछ ।
एनपीएलमा छोटो समयमै चर्चा कमाएका राहुलका लागि यो सुरुवात मात्रै हो । सामान्य किसान परिवारको संघर्ष, अभिभावकको विश्वास, स्थानीय एकेडेमीको प्रशिक्षण र अवसरको सदुपयोगले उनलाई ठूलो मञ्चसम्म पु¥याएको छ । अब उनको चुनौती यही प्रदर्शनलाई निरन्तरता दिँदै नेपाली क्रिकेटमा आफ्नो स्थान स्थापित गर्नु हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्