नेभिगेशन
अर्थतन्त्र

पूर्वाधार सम्‍मेलन आगामी मंसिर अन्तिम साता काठमाडौंमा

काठमाडौँ । पूर्वाधार परियोजनामा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्य सहित सार्वजनिक–निजी साझेदारीमा आयोजना हुँदै आएको नेपाल पूर्वाधार सम्मेलन २०२६ आगामी मंसिर २३ र २४ गते काठमाडौंमा हुने भएको छ ।
बिहीबार नेपाल सरकार, निजी क्षेत्रका तर्फबाट नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिहरूले संयुक्त रूपमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएको हो । 
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रको योगदानबिना समृद्ध मुलुक निर्माण हुन नसक्ने दाबी गदैं शासकीय सुधारसहित पूर्वाधार विकासलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको बताए । अर्थमन्त्री वाग्ले पूर्वाधार र विकास निर्माणको क्षेत्रमा रहेका अस्पष्ट र अव्यावहारिक कानुनको खारेज तथा परिमार्जन गर्न सरकार तयार रहेको बताउँदै विकास निर्माणको प्रक्रियामा कुनै पनि अवरोध हटाउने बताए ।  
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पूर्वाधारमैत्री कानुनबिना समृद्ध मुलुकको परिकल्पना गर्न नसकिने भएकाले सरकारले पूर्वाधारमैत्री ऐन कानुनलाई उच्च प्राथमिकतामा राखेको बताए । मन्त्री लम्सालले पूर्वाधारमैत्री ऐन कानुन निर्माण भएसँगै परियोजना कार्यान्वयमा देखिएका सबै समस्या समाधान हुने स्पष्ट पारे । 
कानुन न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले पूर्वाधार मैत्री कानुन निर्माणका लागि अहोरात्र काम भइरहेको भन्दै यसका लागि सबै पक्षबाट सहयोग प्राप्त भएकाले सरकारले इमानदारिताको जगमा हरेक काम गर्दै आएकाले ढुक्क भएर लगानी गर्न सरोकारपक्षसँग आग्रह गरिन् ।  
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पूर्वाधार विकासको मापन कालोपत्रे सडकको गन्तीले नहुने भन्दै सडक यात्राको समय घटेको आधारमा अब विकासको मापन हुनुपर्ने धारणा राखे । सडक सञ्जालमार्फत मुलुकका प्रमुख सहरहरूसँगको सम्पर्क छोटिँदै जानु नै नेपालको हकमा विकासको सूचक भएको उनले बताए । 
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासबाट मात्र आर्थिक समृद्धि सम्भव भएको बताए । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले भरपर्दो पूर्वाधारले मुलुकको आर्थिक बोझ कम गर्ने बताए ।  प्रधानमन्त्रीका सल्लाहकारद्वय सुदीप ढकाल र आसिफ शाहले वर्तमान सरकारसँग केही गर्ने हुटहुटी रहेको भन्दै यसका लागि सबैको सहयोग आवश्यक भएको धारणा राखे । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले पूर्वाधार विकासबाट मात्र आर्थिक समृद्धि सम्भव भएको बताए । 
सम्मेलनमा नेपाल सरकारले कानुनी दृष्टिकोणबाट नेपालमा लगानी गर्नका लागि स्वदेशी तथा विदेशी लगानीकर्तालाई उपयुक्त वातावरण निर्माण भएकोे जनाएको छ । नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको नेपाल पूर्वाधार सम्मेलनको यस संस्करणको सम्मेलन नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त रुपमा आयोजना गर्न लागेको हो । लगानी बोर्डको कार्यालय, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाली युवा निर्माण व्यवसायी समुदायको सम्मेलनको सह—आयोजक रहेको आयोजकले जनाएको छ ।   
त्यसैगरी सम्मेलनमा करिब तीन दर्जन लगानीयोग्य पूर्वाधार परियोजनाहरू लगानीकर्तामाझ प्रस्तुत गरिने भएको छ । सम्मेलनमा पूर्वाधार, ऊर्जा, सहरी विकास, क्षेत्रीय यातायातलगायतका १२ वटा विषयगत क्षेत्रमा स्वदेशी लगानीकर्ता, स्वदेशी तथा अन्तर्राष्ट्रिय विषयविज्ञ बीच गहन छलफल हुने भएको छ । । सम्मेलनको उद्घाटन  प्रधानमन्त्री बालेन्द्र शाहबाट हुने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र