नेभिगेशन
दृष्टिकोण

शिक्षा प्रणाली सुधारको मार्गचित्र

आज विश्व मानव समाज समृद्धिको मार्गमा लागिरहेको छ । विकास जताततै देखिन थालेको छ । पृथ्वीभन्दा पर अन्य ग्रहहरूको अध्ययन गर्न सक्ने भइसकेको छ । सम्पन्न र समृद्ध मानव अन्तरिक्षको यात्रामा जुट्न थालिसकेको छ । अनि मानिसलाई लाग्ने गर्दछ यो सबै शिक्षाको उपज हो । तर फेरि भन्न सक्नुपर्छ शिक्षाले जे मानव समाजलाई दिनुपर्ने थियो त्यो दिन सकेको छैन । किनकि, विश्व समाजमा शिक्षा असफल भएको छ । यसै अवसरमा नेपालको वर्तमान सरकार विद्यालय तहको पाठ्यक्रम र पाठ्यपुस्तक परिमार्जन गर्नतर्फ लागिरहेको छ । 
नेपालको शिक्षा प्रणालीलाई सैद्धान्तिक र रटन्ते दायराबाट बाहिर निकालेर नेपाली भाषाप्रतिको मोह, जीवनोपयोगी, श्रमसंस्कृतितर्फ उन्मुख र व्यावहारिक र आत्मनिर्भर नागरिक उत्पादन गर्नका लागि उत्प्रेरित गर्ने पाठ्यक्रम र पाठ्यपुस्तक नै आजको राष्ट्रिय आवश्यकता हो । नेपालको शिक्षाले हाम्रो आफ्नै भाषा, धर्म, संस्कार, संस्कृति, माटो, राष्ट्रवादी सोच, मानवतावादी धारणा, आधुनिक विज्ञान र प्रविधिको अद्भुत संगम र सञ्चारसँग जोड्ने हुनुपर्छ । यसै वैचारिक अवधारणालाई अझ मूर्त, व्यावहारिक र जीवनोपयोगी बनाउँदै बाल्यकालदेखि उच्च शिक्षासम्मका हरेक चरणमा विद्यार्थीलाई कसरी जोड्न सकिन्छ भन्ने विषयमा नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्र र नीतिनिर्माताहरूले तपसिलका बाटो अपनाएमा उचित हुनेछः 
आधारभूत तह (कक्षा १ देखि ५)ः शिक्षाले सत्यको बोध आफंै गर्ने हुनुपर्छ । त्यसैले आधारभूत तह कक्षा ५ सम्मका बालबालिकाहरूलाई आफ्नो टोल, माटो र भोगाइसँग प्रत्यक्ष साक्षात्कार गराइनुपर्छ । गाईले दूध दिन्छ, खेतमा धान फल्छ, उद्योगधन्दाले विभिन्न सामग्रीहरू निर्माण गर्छ भनेर सिकाउनुको सट्टा उनीहरूलाई प्रत्यक्षरूपमा गाईगोठ, खेतबारी र उद्योगधन्दा स्वयं उनीहरूले आफंै देखेर बुझ्ने बनाउनुपर्छ र त्यस्तो विषयवस्तु समेटिएका पाठ्यक्रम तयार पार्नुपर्छ । 
बाल्यकालको सिकाइ अमूर्त कुराहरूबाट होइन, आफ्नै वरपरको वातावरण र प्रत्यक्ष भोगाइबाट सुरु हुनुपर्छ । कक्षा १ देखि ५ सम्मका बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको आफ्नै स्थानीय परिवेशसँग जोड्नुपर्छ । अरूले भनेका कुराभन्दा स्वयं आफंैले अनुभूति गरेको कुरा नै सत्य हुनेछ । 
प्रत्यक्ष भोगाइ र अवलोकनः विद्यार्थीले आफ्नो टोलमा भइरहेका सामाजिक तथा सांस्कृतिक गतिविधिहरू, वरपरका साना कलकारखाना वा हस्तकला उद्योगहरूको अवस्था, कृषि उत्पादनका तौरतरिका, बोटबिरुवा, खोलानाला, झरना, पहाड, भीर र खोल्साहरूको प्रत्यक्ष अवलोकन, हेराइ, हिँडाइ आदिका माध्यमबाट गरिने अनुभवले सत्यको बोध गराउन सक्ने भएकोले पाठ्यक्रममा सैदान्तिक कुरा कक्षाकोठामा र व्यावहारिक ज्ञान प्रत्यक्ष भोगाइबाट गर्ने व्यवस्था पाठ्यक्रममा जोड्नुपर्छ र सोहीअनुसारका पाठ्यपुस्तक तयार पार्नुपर्छ ।
अनुभवी सिकाइः बालबालिकाले प्रकृतिलाई किताबमा पढेर होइन, प्रकृतिसँग खेल्दै, खेतबारीमा पुगेर, बिरुवा रोपेर र स्थानीय वातावरणलाई बुझेर सिक्ने वातावरण बनाइनुपर्छ । यसले उनीहरूमा बाल्यकालदेखि नै प्रकृतिप्रेम र श्रमप्रतिको आदरभाव जगाउँछ ।
आधारभूत तहको माथिल्लो चरण (कक्षा ६, ७ र ८): समुदाय र उत्पादनसँग प्रत्यक्ष सहभागिता
हप्ताको एकपटक कक्षा ६, ७ र ८ बालबालिका प्रत्यक्ष कार्यमा सहभागी हुने अवसर प्राप्त गर्छन्, तब उनीहरू केवल दर्शक वा अवलोकनकर्ता मात्र नरहेर कतै न कतै प्रत्यक्ष रूपमा उत्पादन र समुदायसँग जोडिन सक्ने पाठ्यक्रम तयार पार्नुपर्छ ।
समुदायसँगको आबद्धताः यस उमेर समूहका विद्यार्थीले विद्यालयको करेसाबारी, स्थानीय सामुदायिक वनको संरक्षण, साना स्थानीय उत्पादन केन्द्रहरू वा हस्तकला कार्यशालाहरूसँग सातामा केही समय प्रत्यक्ष रूपमा काम गरेर सिक्ने अवसर पाउनुपर्छ । जब उनीहरू आफैं जोडिन पुग्छन् उनीहरूले कृषि उपज, कृषकको मर्म र उद्योगधन्दाका बारेमा ज्ञान लिन पाउने बनाउनुपर्छ ।
व्यावहारिक सीपको बीजारोपणः सैद्धान्तिक ज्ञानका साथै माटोको काम, काष्ठकला, बुन्ने कला वा स्थानीय स्तरमा हुने उत्पादन प्रक्रियामा उनीहरूको भौतिक सहभागिता गराउने किसिमका प्रयोगात्मक पाठहरू पाठ्यपुस्तकमा समेटिनुपर्छ । 
माध्यमिक तहको प्रारम्भ (कक्षा ९ र १०): दैनिक रूपमा आयआर्जनको अभ्यास
कक्षा ९ र १० मा पुग्दासम्म किशोरकिशोरीहरू शारीरिक र मानसिक रूपमा परिपक्व भइसकेका हुन्छन् । यस चरणको शिक्षाले उनीहरूलाई आत्मनिर्भरताको बाटोमा डो¥याउनुपर्छ ।
दैनिक १–२ घण्टा उनीहरूलाई आयआर्जनको सीप ः पाठ्यक्रममा यस्ता व्यावहारिक विषयहरू अनिवार्य गरिनुपर्छ, जसले विद्यार्थीलाई पढाइको सिलसिलामा नै दैनिक १ देखि २ घण्टा कुनै न कुनै उत्पादन वा सेवामूलक कार्यमार्फत आयआर्जन गर्ने बानी बसाल्ने किसिमको पाठ्यक्रम तयार पार्नुपर्छ र सोहीअनुसार विद्यार्थीलाई प्रयोगमा उतार्ने हुनुपर्छ ।

श्रमको सम्मान र आर्थिक स्वावलम्बनः शिक्षाले ‘पढेपछि काम गर्नुहुँदैन’ भन्ने गलत मानसिकतालाई तोड्दै श्रमको सम्मान गर्न र आफ्नै श्रमबाट जीविकोपार्जनको आधार तयार पार्न सिकाउनुपर्छ । भवन निर्माणका लागि काम गर्ने मजदुर र त्यही भवनको नक्सा कोर्ने इन्जिनियर एकै सिक्काका दुई पाटा हुन भन्ने कुराको अनुभूति गराउने पाठ्यक्रम तयार पार्नुपर्छ ।

माध्यमिक तहको अन्त्य (कक्षा ११ र १२): ‘कमाउँदै–रमाउँदै’को अवधारणा
कक्षा ११ र १२ मा पुग्ने प्रत्येक विद्यार्थीले सैद्धान्तिक शिक्षा सँगसँगै ‘कमाउँदै–रमाउँदै’ अगाडि बढ्ने सुनौलो सोच र व्यावहारिक बाटो पाउने पाठ्यक्रम तयार पार्नुपर्छ । बाबुआमाको सम्पत्तिप्रतिको मोहको अन्त्य र आफ्नो परिश्रमको फलप्रति विश्वास दिलाउने पाठ्यक्रम तयार हुनुपर्छ । जसले राष्ट्रमा देखिएको भ्रष्टाचार कुशासनको अन्त्य हुँदै समाज पनि शिष्ट हुनेछ ।
व्यवसाय र उद्यमशीलतामुखी शिक्षाः यस तहको पाठ्यक्रमले विद्यार्थीलाई जागिर खोज्ने होइन, रोजगारी सिर्जना गर्ने वा अध्ययन गर्दै गर्दा आफैं आयआर्जन गर्ने विभिन्न ठाउँ, अवसर र बाटोहरू देखाउन सक्नुपर्छ । 
इन्टर्नसिप र अंशकालीन काम: कलेजको समयबाहेक अन्य समयमा विभिन्न उद्योग, बैंक, कृषि फार्म, शिक्षण संस्था वा डिजिटल क्षेत्रमा काम गरेर आर्थिक उपार्जन गर्न सक्ने संरचनागत व्यवस्था राज्य र विद्यालय तहले मिलाउनुपर्छ । यसले युवाहरूमा आत्मविश्वास बढाउँछ र विदेशिनुपर्ने बाध्यतालाई कम गर्छ ।
माध्यमिक तह (कक्षा १२) पूरा गरेर विश्वविद्यालय तहको शिक्षा लिन प्रवेश गर्दा तल्लो तह र माथिल्लो तहको शिक्षाबीच दरिलो लिंकेज हुनुपर्छ, जसले विद्यार्थीको जीवनलाई सन्तुलित र व्यवस्थित बनाओस् । यसका लागि २४ घण्टाको दिनलाई अत्यन्तै वैज्ञानिक ढंगले चार भागमा बाँडिनुपर्छ ।
६ घण्टा विश्वविद्यालयको पढाइ-औपचारिक अध्ययनः गुणस्तरीय, गहन र सिर्जनात्मक उच्च शिक्षा हासिल गर्नमा केन्द्रित हुने ।
६ घण्टा काम÷आयआर्जनः व्यावहारिक जीवनमा उत्रिएर, पसिना बगाएर वा बौद्धिक श्रम गरेर आर्थिक रूपमा आत्मनिर्भर बन्ने ।
६ घण्टा गहिरो निद्राः शारीरिक र मानसिक स्वास्थ्यलाई पुनर्जागृत गर्न अनिवार्य रूपमा सुत्ने समय ।
६ घण्टा मनोरञ्जन, सामाजिकता, शारीरिक तथा आध्यात्मिक विकास ।
यही ६ घण्टाको समयभित्र शारीरिक व्यायाम, सामाजिक अन्तरक्रिया र आध्यात्मिक विकासका लागि ध्यानलाई अनिवार्य जोड्नुपर्छ ।
दैनिक जीवनमा कम्तीमा केही समय ध्यान र योग अभ्यास गर्दा विद्यार्थीहरू मानसिक रूपमा शान्त, तनावमुक्त, एकाग्र र नैतिकवान बन्न सक्छन् । अध्यात्मबिनाको विज्ञान प्रत्येक मानव समाजको लागि घातक हुन्छ । मानिसका लागि उसको भाषा, धर्म संस्कार, संस्कृति, राष्ट्रप्रतिको मोह जागेको हुनुपर्छ जसले गर्दा राष्ट्रभक्त मात्र नभएर एक असल अन्तर्राष्ट्रिय नागरिक र मानव रूपमा विकास हुन सकोस् । 
निष्कर्षः एक सफल र पूर्ण नागरिकको निर्माण
नेपालले बुझ्नुपर्छ आफ्नो राष्ट्रका लागि चाहिने जनशक्ति, नेपालको भूगोलअनुसारको शिक्षा जहाँ हिमालका स्याउ, कस्तुरी, जडिबुटी पहाडको विविधता अनि तराईको अनाज, विभिन्न स्थानमा पाइने फलफूल, विभिद किसिमका पालन, अनि प्रत्येक घरमा हुने मर्मत सम्भारसँग जोडिएका कार्य आदिलाई पाठ्यक्रममा जोड्न सक्नुपर्छ जसले शिक्षापश्चात् रोजगारीमा जोडियोस् जसले सदैव आफ्नो अधिकारका लागि आवाज उठाउन पनि त्यसलाई मात्र अधिकार छ जसले आफ्नो व्यक्तिगत, सामाजिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय कर्तव्य पालना गरेको होओस् । यदि नेपाल सरकारको पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि विद्यालयसम्मको शिक्षालाई माटोको सुगन्ध, स्थानीय भोगाइ, कक्षा ९–१० को आयआर्जन, कक्षा ११–१२ को ‘कमाउँदै–रमाउँदै’ अभियान र २४ घण्टे वैज्ञानिक जीवनशैली (पढाइ, काम, निद्रा र ध्यान) सँग जोड्न सक्यो भने मात्र एउटा सच्चा, आत्मनिर्भर, देशभक्त र मानवतावादी नागरिक उत्पादन गर्न हाम्रा विद्यालयहरू सफल हुनेछन् । विद्यालय तहमा प्राप्त शिक्षाले विश्व विद्यालयको अध्ययनमा पनि जोडिन पुगोस।अनि त्यस्तो नागरिक जसले कर्तव्य पूरा गरोस्, सिर्जनात्मक बनोस् । 
यस्तो नागरिकले आधुनिक प्रविधि र सञ्चारको भ्रमपूर्ण जालोमा नफसी त्यसको सही प्रयोग गर्दै विश्व मानव जगत्मा नेपालको शिर सधैं उच्च राख्न सक्षम हुनेछ । शिक्षा नै राष्ट्रको मेरुदण्ड हो र यो मेरुदण्डलाई बलियो बनाउन अब ढिला गर्नुहुँदैन भन्ने सोच विकास गर्दै विदेशिनुको साटो आफ्नो राष्ट्रमा नै आफ्नो भविष्य देख्न थाल्नेछन् । यदि यही किसिमको शिक्षा नेपालले दिन थाल्ने हो भने हिजोको ऋषिमुनिहरूको तपोभूमि र खुला विश्वविद्यालय भोलि गएर विश्व मानवलाई नै अध्ययनको केन्द्रबिन्दु बनाउन उत्प्रेरित गर्ने पाठ्यक्रम र पाठ्यपुस्तक तयार पार्दै सोही अनुसार कार्यान्वयन गर्नुपर्छ ।
(लेखक पण्डित शिक्षासेवी हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्