काठमाडौं । सम्पत्ति शुद्धीकरण, सेयर कारोबारमा झन्डै ९० करोड रुपैयाँ भुक्तानी बाँकी राखेको आरोप र बीमा कम्पनीहरूको अर्बौं रुपैयाँ दुरुपयोगसम्बन्धी अनुसन्धानको घेरामा रहेका जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहलाई सरकारले व्यक्तिगत आयतर्फ सबैभन्दा बढी कर तिर्ने करदाताका रूपमा सम्मान गरेको छ । विभिन्न वित्तीय कसुरसम्बन्धी आरोपमा अदालत र अनुसन्धानकारी निकायको कारबाही सामना गरिरहेका उनलाई राष्ट्रिय कर दिवसका अवसरमा मंगलबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्मान गरेका हुन् ।
सम्पत्ति शुद्धीकरण, धितोपत्र कारोबारमा अनियमितता र बीमा कम्पनीहरूको रकम दुरुपयोगसम्बन्धी गम्भीर आरोपमा अनुसन्धान तथा न्यायिक प्रक्रियाको सामना गरिरहेका उद्योगी शाह व्यक्तिगत आयकरतर्फ देशकै सबैभन्दा बढी कर तिर्ने व्यक्तिका रूपमा सम्मानित भएका हुन् । राष्ट्रिय कर दिवस, २०८३ का अवसरमा आन्तरिक राजस्व विभागले शाहलाई आर्थिक वर्ष २०८२÷८३ मा सबैभन्दा बढी व्यक्तिगत आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मान गरेको हो । उनी आव २०८१÷८२ मा पनि सम्मानित भएका थिए ।
जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक शाह नेपालका ठूला व्यावसायिक घरानामध्ये एकका सञ्चालक हुन् । तर, पछिल्लो समय उनको नाम नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार, सम्पत्ति शुद्धीकरण र बीमा कम्पनीहरूको रकम दुरुपयोगसम्बन्धी अनुसन्धान तथा मुद्दासँग जोडिएको छ ।
शाहविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन छ । नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबारमा उधारो रकम प्रयोग गरी कृत्रिम रूपमा सेयर मूल्य प्रभावित पारेको आरोपमा धितोपत्र बोर्डले समेत कारबाही सिफारिस गरेको छ । त्यस्तै, हिमालयन रि–इन्स्योरेन्ससहित पाँच बीमा कम्पनीको रकम दुरुपयोगसम्बन्धी अनुसन्धानमा पनि उनको नाम जोडिएको छ ।
नेपाल पुनर्बीमाको सेयरमा १ अर्ब ४१ करोडको कारोबार
शाहविरुद्धको सम्पत्ति शुद्धीकरण मुद्दाको मुख्य आधार नेपाल पुनर्बीमा कम्पनीको सेयर कारोबार रहेको छ । विशेष अदालतमा दायर अभियोगपत्रअनुसार उनले भृकुटी स्टक ब्रोकिङमार्फत १० लाख ५१ हजार २०४ कित्ता नेपाल पुनर्बीमा कम्पनीको सेयर १ अर्ब ४१ करोड ८० लाख ७२ हजार रुपैयाँमा खरिद गरेका थिए । तर, उक्त कारोबारबापत ब्रोकर कम्पनीलाई ५२ करोड ५० लाख रुपैयाँ मात्र भुक्तानी गरेको र बाँकी ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको अनुसन्धानमा देखिएको छ ।
अग्रिम रकम वा पर्याप्त धितो नराखी सेयर खरिद गर्ने सुविधा लिएको, भुक्तानी नगर्दै सेयर आफ्नो खातामा जम्मा गराएको र यसरी बजारमा सेयरको मूल्य प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आरोप उनीमाथि छ ।
नेपाल धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनले शाहको कारोबारलाई धितोपत्र बजारमा कृत्रिम मूल्य सिर्जना गर्ने तथा जालसाजीयुक्त कारोबारसँग जोडेको छ । बोर्डले धितोपत्रसम्बन्धी ऐन, २०६३ का विभिन्न प्रावधानअन्तर्गत कारबाही गर्न सिफारिस गर्दै प्रतिवेदन सीआईबीमा पठाएको थियो । उक्त प्रतिवेदनका आधारमा उनलाई दुई वर्षसम्म कैद र जरिवाना हुन सक्ने कसुरमा अनुसन्धान अघि बढाइएको थियो ।
विशेष अदालतमा दायर सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्रमा शाहको बिगो १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९०१ रुपैयाँ ४० पैसा कायम गरिएको छ । आरोपपत्रअनुसार कसुरबाट प्राप्त रकमलाई सेयर कारोबारको आवरण दिएर स्रोत लुकाउने र बजार प्रतिस्पर्धालाई प्रभावित पार्ने काम भएको दाबी गरिएको छ ।
विशेष अदालतले २०८३ कात्तिक ४ गते शाहसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्दै पुर्पक्षका लागि रिहा गर्ने आदेश दिएको थियो । अदालतले तत्काल प्राप्त प्रमाण र धितोपत्र बोर्डको अनुसन्धान प्रतिवेदनलाई आधार मानेर धरौटी माग गरेको हो । शाहले भने अदालतमा बयान दिँदा आफ्नै रकमबाट सेयर खरिद गरेको र ब्रोकर कम्पनीले ऋण सुविधा उपलब्ध गराएकाले कारोबार गरेको दाबी गरेका छन् । अदालतबाट उनको कसुर प्रमाणित भइसकेको छैन ।
बीमा कम्पनीको ८९ करोड ७० लाख दुरुपयोगको आरोप
शाहमाथि लागेको अर्को गम्भीर आरोप बीमा कम्पनीको रकम निजी सेयर कारोबारमा प्रयोग गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले हिमालयन रि–इन्स्योरेन्ससहित पाँच बीमा कम्पनी तथा तिनका सम्बद्ध संस्थाको रकम असम्बन्धित व्यक्ति तथा संस्थाको सेयर कारोबारमा प्रयोग भएको देखाएको छ ।
सीआईबीको अनुसन्धानअनुसार बीमा कम्पनीहरूको कोषबाट भृकुटी स्टक ब्रोकिङमार्फत विभिन्न व्यक्तिको नाममा सेयर खरिदको राफसाफ गरिएको थियो । अनुसन्धानमा बीमा कम्पनी तथा सम्बद्ध संस्थाहरूको ३ अर्ब ७३ करोड ८५ लाख रुपैयाँभन्दा बढी रकम व्यक्तिगत सेयर कारोबारमा प्रयोग भएको देखिएको छ । यसमध्ये राजबहादुर शाहको नाममा ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ बराबरको रकम प्रयोग भएको आरोप छ ।
यस प्रकरणमा दीपक भट्ट, सुलभ अग्रवाल, राजबहादुर शाह, शुभी अग्रवाल र ऋषिराज मोरसहित विभिन्न व्यवसायी तथा बीमा क्षेत्रका पदाधिकारीको नाम जोडिएको छ । सीआईबीले बीमा ऐन तथा धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान गरी ४० भन्दा बढी व्यक्तिविरुद्ध कारबाहीका लागि प्रतिवेदन बुझाएको थियो । पछि यस प्रकरणमा ४२ जनाविरुद्ध अभियोग दायर भएको विवरण सार्वजनिक भएको छ ।
अभियोगपत्रमा शाहको हकमा ८९ करोड ७० लाख ९७ हजार रुपैयाँ बिगो कायम गरिएको छ । बीमा कम्पनीको रकमलाई सर्वसाधारणले बुझाएको बीमाशुल्कबाट बनेको संस्थागत कोषका रूपमा हेरिन्छ । यस्तो रकमलाई बीमकको हित र नियामकीय व्यवस्थाविपरीत व्यक्तिगत सेयर कारोबारमा प्रयोग गरिएको सरकारी पक्षको दाबी छ ।
करदाताको सम्मानमा सरकारको मापदण्डमाथि प्रश्न
वित्तीय कसुरका गम्भीर आरोप र मुद्दा विचाराधीन रहेकै अवस्थामा शाहलाई व्यक्तिगत आयतर्फ सर्वाधिक करदाता घोषणा गरिनुले सरकारी सम्मानको मापदण्डबारे पनि प्रश्न उठाएको छ । करदातालाई सम्मान गर्नु राज्यको सकारात्मक अभ्यास भए पनि कर तिर्ने क्षमतासँगै व्यवसायको पारदर्शिता, संस्थागत सुशासन र कानुनी जवाफदेहिताको विषयलाई कसरी हेर्ने भन्ने प्रश्न यस घटनाले उठाएको छ ।
शाह यसअघि पनि विभिन्न वर्षमा व्यक्तिगत आयतर्फ सर्वाधिक कर तिर्ने करदाताका रूपमा सम्मानित भएका थिए । उनका पिता विजयबहादुर शाहले समेत विगतमा यस्तो सम्मान प्राप्त गरेका थिए । जाउलाखेल ग्रुप अफ इन्डस्ट्रिज मदिरा तथा पेय पदार्थ उद्योगमा स्थापित व्यावसायिक समूह हो । शाहको व्यावसायिक संलग्नता गोर्खा ब्रुअरीसँग पनि रहेको छ ।
कर प्रणाली सुधारमा सरकारको प्रतिबद्धता
राष्ट्रिय कर दिवस, २०८३ को अवसरमा सरकारले ‘कर न्याय र सुशासनको सुनिश्चितताः समृद्धिमा नागरिक सहभागिता’ भन्ने नारासहित कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणाली सुधारलाई आर्थिक सुधारको अभिन्न अंगका रूपमा अघि बढाउने बताए ।
उनले चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली सुधारलाई प्राथमिकता दिइएको उल्लेख गर्दै आगामी वर्ष कर सुधार २.० कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । स्थिर तथा न्यून ब्याजदर, उच्च विदेशी विनिमय सञ्चिति र सुशासनको वातावरण सुदृढ हुँदै गएकाले निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्न उनको आग्रह थियो ।
मन्त्री वाग्लेले कर प्रशासनलाई स्वचालित बनाउने, कर अनुपालन बढाउने तथा कर विवाद समाधान र संस्थागत सुशासन प्रवद्र्धन गर्ने तीनवटा विषयलाई सुधारको प्राथमिकतामा राखे ।
निमित्त अर्थ सचिव डा. सुमन दाहालले कर प्रशासनलाई प्रविधिमैत्री बनाउन फेसलेस कर प्रणाली र झन्झटरहित कर फिर्ता संयन्त्र कार्यान्वयनमा जोड दिए । उनले राजस्व चुहावट नियन्त्रणका लागि विद्युतीय बिलिङ तथा मालवस्तु र ढुवानी साधनको अनुगमन प्रणालीलाई प्रभावकारी बनाउने बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जनकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले व्यवसायमैत्री, स्थिर र अनुमानयोग्य कर नीतिको माग गरे । उनीहरूले कर कानुन सरल बनाउन, कर विवाद समाधानको स्थायी संयन्त्र बनाउन र स्वदेशी उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने नीति अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराए ।
१५ बुँदे संकल्प, ७ खर्ब ७५ अर्ब राजस्व लक्ष्य
कर दिवसकै अवसरमा आन्तरिक राजस्व विभागले कर प्रशासन सुधारका लागि १५ बुँदे संकल्प सार्वजनिक गरेको छ । विभागले चालु आर्थिक वर्षका लागि तोकिएको ७ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै, २०८४ असार मसान्तसम्म कुल राजस्व बेरुजुको कम्तीमा ६० प्रतिशत फछ्र्योट गर्ने, एक करदाता एक डिजिटल पहिचान विकास गर्ने, स्वैच्छिक कर सहभागिताका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने र कृत्रिम बौद्धिकतामा आधारित कल सेन्टर तथा च्याटबोट स्थापना गर्ने योजना सार्वजनिक गरेको छ ।
कर प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्यासअनुरूप आधुनिक, पारदर्शी, पूर्वानुमानयोग्य र लगानीमैत्री बनाउने, कर विवाद शीघ्र समाधान गर्ने, व्यवसाय प्रक्रिया पुनर्संरचनामार्फत स्वचालन ल्याउने तथा डिजिटल स्टिकर र आईएक्सबीआरएल प्रणाली कार्यान्वयन गर्ने विषय पनि संकल्पमा समेटिएका छन् ।
यस वर्ष विभागले १९ विधाका उत्कृष्ट करदातासहित उदाहरणीय व्यावसायिक उत्थानशीलताका लागि भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेको छ । संस्थागततर्फ सर्वाधिक आयकर दाखिला गर्ने सूर्य नेपाल प्रालि सम्मानित भएको छ । बैंकिङ क्षेत्रमा नबिल बैंक, पर्यटनमा सोल्टी होटल, ऊर्जा क्षेत्रमा भोटेकोशी पावर कम्पनी र रेमिट्यान्सतर्फ आईएमई लिमिटेड सम्मानित भएका छन् ।
कुल २० विधामा उत्कृष्ट करदाताहरूलाई सम्मान
संस्थागततर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने सूर्य नेपाल प्रालि, एकलौटी फर्ममध्ये थर्ड आई इण्टरनेशनल, वस्तु निर्याततर्फ डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ इन्फाइनाइट सफ्टवेयर सर्भिसेस् नेपाल, कृषि एवं पशुपंक्षीजन्य उद्योगतर्फ ओसिवी फुड्स एण्ड फिड्स प्रालि, बैंकिङ क्षेत्रतर्फ नविल बैंक, स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ नोवेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारतर्फ सीजी इम्पेक्स, वार्षिक कारोबार ५० करोडदेखि १०० करोडसम्म भएकामध्ये फुड एण्ड विमरेज टेक्नोलोजी रिसर्च सेन्टर, ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी पावर कम्पनी, रेमिटेन्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेड, व्यक्तिगत आयतर्फ राज बहादुर शाह, नियमित मु.अ.कर सहभागितातर्फ हिमालयन डिप्टिलरी लिमिटेड, वार्षिक कारोबार ५० करोडसम्म भएकामध्ये इम्पेरियल सेक्यूरिटिज कम्पनी लिमिटेड, विशेष उद्योगतर्फ वरुण किमरेज नेपाल प्रालि, जीवन बीमातर्फ लाइफ इन्ट्योरेन्स कर्पोरेशन (नेपाल) लि., निर्जीवन बीमातर्फ सिध्दार्थ प्रिमियर इन्ट्योरेन्स लिमिटेड, लघुवित्ततर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड र उदाहरणीय व्यवसायिक उत्थानशीलतातर्फ भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर सम्मानित भएका छन् । यसैगरी राजस्व प्रशासनमा रहेर उत्कृष्ट कार्यसम्पादन गरेका ११ कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरियो ।