नेभिगेशन
उपत्यका

बालबालिकाको हातबाट नेपाल संवत् ११४७ को क्यालेन्डर विमोचन

नेवाः देय् दबू काठमाडौं महानगरपालिका वडा नम्बर २५ समितिले नेपाल संवत् ११४७ को अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदीप्त पुस्तकालयको सभाहलमा आयोजित कार्यक्रममा यस वर्ष पनि वरिष्ठ व्यक्तित्वको सट्टा बालबालिकाको हातबाट क्यालेन्डर विमोचन गरिएको हो ।

परम्परागत रूपमा पुस्तक, स्मारिका तथा क्यालेन्डर विमोचन वरिष्ठ व्यक्तित्व, नेता तथा मन्त्रीहरूबाट गराउने अभ्यासलाई तोड्दै आयोजकले नयाँ पुस्तालाई संस्कृति संरक्षणको नेतृत्व दिने उद्देश्यले कार्यक्रम गरेको जनाएको छ । लगातार दोस्रो वर्ष बालबालिकाबाट विमोचन गराइएको यस कार्यक्रमले संस्कृति पुस्तान्तरणको सन्देश दिएको छ ।

कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय सचिव श्रीजनमान श्रेष्ठ, मिसा दबूकी रमिता बज्राचार्य, प्रबोध वीर सिंह तुलाधर, रोशन शाक्य तथा पूर्व वडा अध्यक्ष बाबुराजा महर्जनलगायतले नेपाल संवत्को ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक महत्वबारे चर्चा गर्दै शुभकामना व्यक्त गरेका थिए ।

वक्ताहरूले नेपाल संवत् नेवाः समुदायको मौलिक पहिचान र राष्ट्रिय गौरवसँग जोडिएको सम्पदा भएकाले यसको संरक्षण र प्रवद्र्धनमा जोड दिनुपर्ने बताए । चाडपर्व मनाउने मितिमा देखिँदै आएको असमानता र अन्योल हटाई एकरूपता कायम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा समाजसेवी विमला मानन्धरले शंखधर साख्वा र नेपाल संवत्बारे कविता वाचन गरेकी थिइन्। साहिना शाक्य र मिरिका उदासले कुमारी नृत्य प्रस्तुत गरेका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्