नयाँदिल्ली/काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग ३० मिनेट ‘वन टू वन’ भेटवार्ता गर्ने भएका छन् । दुईदिने राजकीय भ्रमणमा आइतबार दिल्ली आइपुगेका प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका थिए ।
प्रधानमन्त्री शाहको टोलीमा ३५ सदस्यीय सरकारी प्रतिनिधिमण्डल छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई गृहमन्त्री सुधन गुरुङ, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए । विगतका प्रधानमन्त्रीहरू विदेश भ्रमणमा जाँदा देखिने औपचारिक तामझाम, लावालस्कर र सम्मान गारत यसपटक भने देखिएन । प्रधानमन्त्रीको बिदाइमा सम्मान गारत प्रदान गर्ने परम्परा रहेपनि यसपटक त्यसो भएन । प्रधानमन्त्री शाह सिधै विमानमा पुगेका थिए । त्यस्तै, विगतका प्रधानमन्त्रीहरूले विदेश भ्रमणअघि राष्ट्रपतिलाई जानकारी दिने तथा प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने चलन थियो । यसपटक प्रधानमन्त्री शाहले त्यस्तो अभ्यास पनि तोडेका छन् ।
भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह आज(सोमबार) साँझ ६ः३५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत स्वदेश फर्कने कार्यतालिका छ । प्रधानमन्त्रीको भ्रमण टोली फर्किएपछि परराष्ट्रमन्त्री शिशिर खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी भ्रमणका उपलब्धि र छलफलका विषयमा जानकारी दिने कार्यक्रम छ । नेपालका नयाँ प्रधानमन्त्रीका रूपमा शाहको भारत भ्रमणलाई दुई देशबीचको आगामी सम्बन्ध र सहकार्यको दिशाका दृष्टिले महŒवपूर्ण मानिएको छ । विशेषगरी ऊर्जा, व्यापार, पारवहन र पूर्वाधार विकासका क्षेत्रमा हुने सहमति तथा समझदारीले भ्रमणको उपलब्धि निर्धारण गर्नेछ ।

१० बुँदामा साझेदारीको नयाँ खाका
शाहले मोदीसँग द्विपक्षीय भेटवार्ता अघि भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेट गर्ने कार्यसूची छ । त्यस्तै, नयाँदिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।
शाह–मोदीबीच हुने ‘वान अन वान’ भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयाममा छलफल हुने छ । आधा घण्टाका लागि तय गरिएको उक्त भेटवार्ताको एजेन्डा १० वटा बुँदामा केन्द्रित रहेको परराष्ट्र स्रोतले बताएको छ । ‘विकसित भारत र समुन्नत नेपाल: साझेदारीको पुनःकल्पना’ नामक दस्तावेजमा उल्लेख छ । दस्तावेजअनुसार भेटवार्ताको सुरुवात दुई देशबीचको परम्परागत मित्रता, नेपाली र भारतीय नागरिकबीचको प्रगाढ सम्बन्ध तथा साझा सभ्यताको प्रसंगबाट हुनेछ । त्यसपछि रसुवामा आएको बाढीका क्रममा खोज तथा उद्धार कार्यमा भारतले गरेको सहयोगबारे विचार आदानप्रदान हुने उल्लेख छ ।
त्यसपछि सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिलाई आपसी समझदारीमा पुनरावलोकन गर्ने विषयले प्रवेश पाउनेछ । दुई देशका नवयुवाको भविष्यलाई केन्द्रमा राखेर संयुक्त दृष्टिकोण निर्माण गर्ने विषय पनि छलफलको प्राथमिकतामा रहनेछ ।
दस्तावेजमा उल्लेखित १० बुँदे साझेदारी खाकालाई ‘टेन पिलर्स’ नाम दिइएको छ । यसअन्तर्गत विभिन्न क्षेत्रमा सहकार्य विस्तार गर्ने प्रस्ताव अघि सारिएको छ । केही विषयमा भारतले प्रारम्भिक सहमति जनाइसकेको र अन्य विषयमा थप सहकार्य तथा पहलकदमी लिने उल्लेख छ ।
यद्यपि नेपालमा लामो समयदेखि चर्चामा रहेका सीमा विवाद र हवाई प्रवेश मार्ग (एयर रुट) का विषय भने उक्त साmभेदारी खाकामा समावेश गरिएको छैन । सरकारी स्रोतका अनुसार वार्ताका क्रममा एयर रुटको विषयले प्रवेश पाउन सक्ने भए पनि त्यसमा भारतीय पक्षले अहिलेसम्म सहमति जनाएको छैन । अन्तिम समयमा एजेन्डा परिवर्तन हुन सक्ने सम्भावना पनि रहेको स्रोतको भनाइ छ ।
सम्झौता तथा सहमतिहरूको कार्यान्वयन सुनिश्चित गर्न दुवै देशका प्रधानमन्त्रीले उच्चस्तरीय निरीक्षक समूह गठन गर्ने प्रस्तावसमेत दस्तावेजमा छ । उक्त समूहको नेतृत्व नेपालको परराष्ट्र सचिव र भारतका राजदूतले गर्नेछन् । समूहले प्रत्येक ६ महिनामा सहमति कार्यान्वयनको प्रगति दुवै देशका प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।
विदेशमन्त्रीसँगको भेट, २५ मिनेट छलफल
प्रधानमन्त्री शाहसँग भ्रमणको पहिलो दिन भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग शिष्टाचार भेटवार्ता गरेका छन् । आइतबार साँझ नयाँदिल्लीस्थित होटल ताजमहलमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी सहकार्यका विषयमा छलफल भएको छ ।
सो क्रममा नेपाल र भारत सम्बन्धका विविध पक्ष, विशेषगरी कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । करिब २५ मिनेट चलेको भेटवार्तालाई भारतीय पक्षले नेपालसँगको विशेष मित्रताको महŒव दर्शाउने अवसरका रूपमा प्रस्तुत गरेको छ ।
भेटपछि भारतीय विदेशमन्त्री जयशंकरले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले भारतले नेपालसँगको सम्बन्धलाई विशेष मित्रताका रूपमा लिएको उल्लेख गर्दै यसलाई महŒवका साथ अघि बढाउन चाहेको संकेत गरेका छन् । ‘आज साँझ नयाँदिल्ली भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्न पाउँदा खुसी लागेको छ,’ जयशंकरले भेटपछि लेखेका छन् । उनले प्रधानमन्त्री शाहको सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने भेटवार्ताको प्रतीक्षा गरिरहेको समेत बताएका छन् ।
विदेशमन्त्री जयशंकरसँगको भेटलगत्तै प्रधानमन्त्री शाह नेपाल–भारत बिजनेस फोरमको रात्रिभोज कार्यक्रममा सहभागी भएका छन् । शाह होटल ताजमहलमा बसेका छन् ।
३५ सदस्यीय सरकारी टोली, ५२ व्यवसायी पनि दिल्लीमा
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत सहभागी छन् । त्यस्तै सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उपसंयोजक विनय शाक्य पनि भ्रमण टोलीमा छन् । टोलीमा उच्च सरकारी अधिकारी, सरकारी सञ्चारमाध्यमका प्रतिनिधि तथा पत्रकारसमेत सहभागी छन् । सरकारी प्रतिनिधिमण्डलबाहेक निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भारत भ्रमणमा सहभागी भएका छन् । नेपाल–भारत बिजनेस फोरमको कार्यक्रमलाई दुई देशबीच व्यापार तथा लगानीका अवसर विस्तार गर्ने महŒवपूर्ण अवसरका रूपमा हेरिएको छ ।
भ्रमण टोली ३५ सदस्यीय
प्रधानमन्त्री वालेन्द्र शाहको औपचारिक राजकीय भारत भ्रमणमा ३५ सदस्यीय नेपाली प्रतिनिधिमण्डल सहभागी भएको छ । प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाह र सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र सहभागी छन् । यसैगरी नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्की, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङ, प्रधानमन्त्रीका प्रमुख निजी सचिव सुभाष शर्मा र लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब पनि रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भ्रमण दलमा परराष्ट्रमन्त्रीका प्रेस सल्लाहकार जगदीश्वर पाण्डे, प्रधानमन्त्रीका निजी सचिव प्रदीप परियार, परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका सहसचिव गेहेन्द्रराज राजभण्डारी, शिष्टाचार महापाल कुमारराज खरेल, परराष्ट्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सूचना प्रविधि तथा डिजिटल सुशासन कार्यालयका सहसचिव सुभाष ढकाल सहभागी छन् । यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनील पौडेल, प्रधानमन्त्रीको सञ्चार व्यवस्थापन तथा अनुसन्धान संयोजक दीपा दाहाल, परराष्ट्र मन्त्रालयका दक्षिण एसिया महाशाखा उपसचिव ललिता सिलवाल, उपसचिव, विजयराज तण्डुकार, परराष्ट्रमन्त्रीको प्रमुख निजी सचिव लोचन पौडेलसहित तीन सुरक्षाकर्मी र तीन सञ्चारकर्मी छन् ।