नेभिगेशन
प्रदेश

उग्रतारामा आज ‘दिउसेडी’ मेला लाग्दै

डडेल्धुरा ।सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ । उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ ।
स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ । राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ ।
अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए ।
मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन् । डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन् ।
किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो । किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ । सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ ।
स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ । मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । रासस
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्