नेभिगेशन
अर्थतन्त्र

विश्व खाद्य दिवस : लागि पर्ने र परिणाम निकाल्ने अगुवाको खाँचो

संयुक्त राष्ट्रसंघको सन् १९७९ को सम्मलेनले विश्व खाद्य दिवस मनाउने निर्णय गरेको थियो । सो निर्णय भएको दुई वर्षपछि सन् १९८१ अक्टोबर १६ मा पहिलो पटक विश्व खाद्य दिवस मनाइएको थियो । विश्वमा पाँचौं विश्व खाद्य दिवस मनाउने तयारी गरिरहँदा म यमनमा विश्व कृषि संगठनको बागवानीविद्का रूपमा कार्यरत थिएँ । मलाई त्यहाँ युएन भोलेन्टेरर्सका तर्फबाट शंकर उप्रेतीले पनि काममा सघाउनुभएको थियो ।

यमनमा गोलभेंडाको जुस, झोल, केचपसबै अन्य मुलुकबाट आयात हुने गरेको थियो । यमनी सरकारले गोलभेंडा देशमै उत्पादन गरेर उद्योग किन नचलाउने भनेर म जानुभन्दा नौ वर्ष अगाडि नै फ्याक्ट्री पनि ल्याइसकिएको रहेछ । तर गोलभेंडा उमार्न सकेका भने रहेनछन् । त्यही बेला विश्व खाद्य संगठनको एउटा कार्यक्रम यमनमा हुने भयो । यमनमा विश्व खाद्य संगठनबाट एक हजार डलर र एक हजार बोरा युरियो आउने भयो र मैले त्यो सबै पैसा र मल गोलभेंडा खेतीकै लागि खर्च गर्ने निर्णय गरेँ ।

निश्चित समयमा विश्व खाद्य संगठनबाट एक हजार बोरा युरिया आइपुग्यो । एक हजार डलर बीऊका लागि भनेर आयो । मैले त्यो पैसाको गोलभेंडाको बीउ किनेर किसानहरूलाई बाँडिदिएँ ।

मल पनि सबै किसानहरूलाई बाँडिदिएँ । जताततै बारीभरी रातै हुने गरी गोलभेंडा फल्यो । उत्पादन धेरै भएपछि भाउ सस्तियो । उत्पादन अधिक हुनेसाथ मैले यमनी सरकारलाई कारखाना चलाउनु भनेर लेखी पठाएँ । कारखाना त चल्यो तर अर्को वर्ष त गोलभेंडा उत्पादन नै भएन । मलाई त ठूलै आपत् आइपर्यो । यद्यपि मैले हरेस खाइनँ । 

मैले किसानहरूलाई बीउ बनाउन सिकाएँ । यो वर्ष जे भए पनि अर्को वर्ष राम्रो हुन्छ भन्ने आश्वसान दिएँ । अब यसलाई दिगो त बनाउनु पर्यो भन्ने भएपछि त्यसको लागि के गर्न सकिएला भनेर सरोकारवालाहरू सबैलाई सहभागी गराएर एउटा छलफल चलाएँ ।

छलफलमा सहभागी कृषि विभाग, गोलभेंडा उत्पादक किसानलाई बोलाएँ । बैठकमा मैले उत्पादक किसानहरू समक्ष भने, ‘तपाईंहरूले अहिले जुन मूल्यमा गोलभेंडा बेचिरहनुभएको त त्यही मूल्यमा बेच्न सक्नुहुन्छ ?’ उहाँहरूको उत्तर सकारात्मक आएपछि उपस्थित कारखानाका अधिकारीलाई सोधें, ‘के यहाँहरू उहाँहरूले भनेको मूल्यमा गोलभेंडा किनेर उत्पादन गर्दा कारखाना चल्छ ?’ उहाँहरूको उत्तर पनि सकारात्मक नै आयो । 

अनि मैले कारखाना पक्षलाई किसानले कारखानासम्म गोलभेंडा ल्याउँदा लाग्ने ढुवानी खर्च बेहोरिदिन अनुरोध गरें । हुन्छ भन्ने कुरा भयो । सबै खुशी भए । तेस्रो वर्षमा त काराखाना मजाले चल्ने अवस्थामा पुग्यो । मैले सन् १९८७ मा यमन छाड्ने बेलामा कारखाना दुई सिफ्टमा चल्न थालेको थियो । आठ घण्टा चल्ने कारखाना १६ घण्टा चल्न थाल्यो ।

जबकि म जनकपुर अञ्चल कृषि विकास आयोजनामा हुँदा काठमाडौमा गोलभेडा चार, पाँच रुपैयाँ प्रतिकिलो थियो । हामीले जनकपुरमा जाडोमा गोलभेडा खेती कसरी गर्न सकिन्छ भनेर किसानलाई सिकायौ । त्यो बेला त्यहाँ ५० पैसा केजीमा गोलभेडा उपलब्ध भयो । सबै उत्पादन खपत हुँदैनथ्यो । मैले त्यो समयमा हामी कहाँ गोलभेडा प्रशोधनको लागि कारखाना राख्नु भनेर प्रस्ताव गरेको अहिलेसम्म कारखाना बनेन ।

यो सन्दर्भ किन जोड्न खोजेको भने विश्व खाद्य दिवस मनाउनु भनेको कृषि उत्पादन बढाउने र भएका उत्पादनलाई प्रशोधन गर्दै कृषि उपजको प्रवर्धनका कामलाई स्मरण गर्ने दिन हो । जसले कृषिमा एक पाइला, एक फड्को, एक छलाङ गरेर कृषिमार्फत राष्ट्रको आर्थिक समृद्धि ल्याउन मद्दत गर्दछ ।

नेपालमा कृषिमा धेरै काम भएका छन् । कृषिको अवस्था आज विगतको तुलनामा राम्रो अवस्थामा छ, त्यसमा कुनै शंका छैन । तर हाम्रोमा कृषि विकासको लागि एकीकृत प्रयास भएको देखिएन । विज्ञ नभएका पनि होइनन् ।

एकसे एक विश्वस्तरीय विज्ञ छन् । तर हिजोका विज्ञले के गरेका थिए, ती को थिए भन्ने जानकारी र अभिलेख कृषिका आधिकारिक निकायमा नै पनि पाउन मुस्किल छ । आज हामीले विश्व खाद्य दिवस मनाउँदै गर्दा हिजोका विज्ञ को थिए र तिनले के कति योगदान दिएका थिए भन्ने पनि बुझ्नुपर्ने हुन्छ ।

नेपालमा सर्वप्रथम स्याउ खेती प्रवर्धनमा शम्भूमान सिंहको योगदान छ । उहाँले नेपालको पहिलो स्याउ खेतीको फार्म ककनीमा स्थापना गर्नुभएको थियो । बाली विज्ञ नेत्रबहादुर बस्नेतले ग्रीन रिभोलुसन (हरित क्रान्ति)को समयमा लेहर्मा–५२ जातको गहुँको बीउ ल्याई प्रति हेक्टर एक सय–दुई सय केजी उत्पादन हुने अवस्थालाई सुधार गरेर प्रति हेक्टर एक हजार केजी उत्पादन हुने वातावरण बनाउनु भएको थियो ।

हरिबहादुर केसीले युएसएआडिको सहयोगमा कुखुरापालन कार्यक्रमलाई अघि बढाउने क्रममा नेपालमा ठूलो योगदान दिनुभएको थियो । त्यो बेलामा नेपालमा कुखुराको अण्डा खान कि त जन्मदिन नै हुनुपर्थ्यो कि त कुनै चाडपबाड कुनुपर्थ्यो । आज कुखुराको अण्डा क्रेटका क्रेट उपलब्ध भएको छ । 

Shiba-Bdr-1758675643.jpg
शिवबहादुर नेपाली प्रधान

अर्का विज्ञ हुनुहुन्थ्यो, जानकीप्रसाद प्रधान । उहाँले पशुपालनमा ठूलो योगदान दिनुभएको छ । उहाँले कुखुरापालनका लागि आवश्यक दाना बनाउने कारखाना रत्न फिड सञ्चालन गर्ने वातावरण निर्माण गर्नुभयो । उहाँले नै कुखुराको दाना बनाउन सिकाएर कुखुरा पालनलाई प्रवर्धन गर्नुभएकाले आज दाना कारखाना जताततै छ, देशले कुखुरापालनमा राम्रो उन्नति गरेको छ ।

उहाँले नै बंगुर आयत गरेर बंगुरको आयात र खपतमा योगदान दिनुभयो । उहाँले विदेशबाट न्युह्मसायर कालो खाले प्रजाति, योर्कसायर सेतो खाले प्रजाति, चेस्टर ह्वाइट गुलाफी रंगको प्रजातिका सुंगुर आयात गर्नुभयो । उहाँले प्रवर्धन गरेको ती प्रजातिले अहिले बजारमा बंगुरको मासु पनि फस्टायो, बंगुर खेती पनि हुन थाल्यो । उहाँको त्यो कदमले शरीरलाई चाहिने प्रोटिनको अभावलाई पूर्ति गर्ने काम गर्यो । 

त्यस्तै अर्का बागवानीविद् सत्यलाल रञ्जितकारले सरकारी सेवाबाट राजीनामा दिएर फलफूल प्रशोधनमा लागेर जाम, जेली, जुस र वाइन उत्पादनमा लाग्नुभयो । उहाँले नेपालमा पहिलो वाइन कारखाना राख्नुभएको हो भने धेरै अन्य उत्पादान बनाएर बजारीकरण गरेर फलफूलका विविध उत्पादनको पनि बजार छ है भनेर नेपाललाई बाटो देखाउने काम गर्नुभएको हो । 

मैले पनि नेपालमा च्याउ खेती सुरु गरेको थिएँ । आफूले गरेको परीक्षण खेती सफल भएपछि कृषि कार्यक्रममा च्याउ खेतीलाई समावेश गरेको थिएँ । पछि त्यसलाई कषि विभागकै केशरीलक्ष्मी मानन्धरले निरन्तरता दिनुभयो । आज नेपालमा च्याउ खेती राम्रो नगदे बाली र वैकल्पिक खेतीका रुपमा फस्टाएको छ ।

त्यस्तै नेपालमा माछा खेतीलाई प्रवर्धन गर्नमा रोहितबहादुर थापाको ठूलो योगदान छ । उहाँले कार्प माछालाई नेपालमा प्रवर्धन गर्नुभएको थियो । नेपालको धरै तराईका जिल्लामा माछापानलले फस्टाउने मौका पाइरहँदा हामीले रोहितबहादुर थापालाई भुल्नु हुँदैन । 

नेपालको कृषिलाई आधुनिक मार्ग अघि बढाउन योगदान दिनुभएका यी विज्ञहरूको योगदानलाई हामीले सम्झनुपर्ने हुन्छ । हिजोका पुस्ताको योगदानले आजको आधार बनेको हो । विश्वा खाद्य दिवसको अवसरमा अग्रज पुस्तालाई सम्झनु पनि हाम्रो कर्तव्य हो । नेपालको चिया विश्वस्तरीय मानिन्छ ।

नेपालमा चिया खेतीलाई प्रवर्धन गर्नमा रामसिंह सुब्बाको ठूलो योगदान छ । अहिले नेपालका शहरबजारमा कफीको संस्कृति फस्टाएको छ, यसले रोजगारी र अर्थत्रन्त्रमा पनि योगदान दिएको छ । नेपालमा विस २०१४ सालदेखि नै स्याङ्जामा व्रिटिस लाहुरेहरूले कफीखेतीलाई सुरुवात गरेको थिए । 

त्यस्तै पूर्वी नेपालमा अलैंची खेती गर्ने र निर्यात गर्ने क्रम ४५ वर्ष अघि देखि नै सुरु भएको हो । अलैंचीको बजारीकरण गर्न भारतको पटनामा अलैंची कोठी नै पनि सञ्चालनमा रहेको थियो । नेपालकै इलाममा हुर्काइएको आलुको एक प्रजाति, अलैंची ब्लु पनि निर्यात हुने गरेको थियो ।

हामीले यत्रो वर्षदेखि विश्व खाद्य दिवस मनाइरहेका सन्दर्भ हेर्दा त देश अहिलेसम्म कृषिकै माध्यमले पनि समृद्ध भइसक्नु पर्ने हो भन्ने लाग्छ । तर नेपालमा विकास र समृद्धिका लागि चाहिने सबै कुरा हुँदाहुँदै पनि परिणाममुखी नेतृत्वदायी भूमिका कसैमा पनि देखिएन । यदि हामीले वर्षको एउटा उत्पादनलाई प्रवर्धन गर्दै अघि बढ्न सक्यौं भने अझै पनि हामीले विश्व बजारमा आफ्नो नाम र दाम बनाउने अवस्था छ । 

चाहिएको के छ भने काम गर्ने हुटहुटी । अबको नयाँ परिवर्तनले देशलाई त्यतातर्फ लान सक्छ कि ? त्यसो भए भने हामीले वर्षैपिच्छे मनाउने खाद्य दिवस र कृषिका अन्य दिवसहरूको सार्थकता रहन्छ ।

- प्रधान कृषि विभागका पूर्व महानिर्देशक हुन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
भगवानको लीला अपरम्पार

भगवानको लीला अपरम्पार

अमरताको खोजी

अमरताको खोजी

जनताको आशाको बजेट

जनताको आशाको बजेट