नेभिगेशन
राजनीति

कांग्रेस चुनावको बाटोमा, महाधिवेशन भने अन्योलमै

जेनजीको मागमा समर्थन, भदौ २४ विध्वंसकारी घटनाको सत्यतथ्य छानबिन हुनुपर्छ

अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनको विषयमा  सर्वोच्च अदालतको अन्तिम व्याख्या पर्खने 

‘भाग लिन्न भनेका दलहरुलाई पनि निर्वाचनमा ल्याउन संवाद र हरसम्भव पहल गछौं, निर्वाचनका लागि सरकारलाई सहयोग गछौं र खबरदारी पनि गर्छौ’
गगन थापा, महामन्त्री

अब बस्ने अर्को बैठकबाट महाधिवेशनबारे निर्णय आउँछ, महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौँ
प्रकाशशरण महत, प्रवक्ता  

जगन्नाथ दुलाल
काठमाडौं, मंसिर ६ 
कांग्रेसले जेनजी विद्रोहपछिको राजनीतिक संक्रमण चिर्न निर्वाचनमा जानु नै उपयुक्त ठहर गरेको छ । पार्टीको केन्द्रीय समिति बैठकले फागुन २१ गतेका लागि तय भएको निर्वाचन भाग लिने निर्णय शनिबार गरेको हो । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकले अहिलेको राजनीतिक निकासका लागि चुनाव नै उपयुक्त हुने निष्कर्ष निकाल्दै भाग लिने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बताए । 

केन्द्रीय समितिको चुनावमा भाग लिने निर्णयसँगै नेपाली कांग्रेसभित्र जारी संसद् पुनःस्थापनाको बहस अन्त्य भएको छ । विघटित प्रतिनिधिसभाका कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसद पुनःस्थापनाका लागि भन्दै हस्ताक्षर अभियान चलाएपछि कांग्रेसको चुनावमाथिको प्रतिबद्धतामा प्रश्न उठेको थियो । 

‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ । निर्वाचनमार्फत् नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिने पार्टीको विश्वास रहेको उल्लेख छ ।

बैठकपछि महामन्त्री गगन थापाले अहिलेको संवैधानिक जटिलताको निकासका लागि चुनावभन्दा अर्को उपयुक्त विकल्प नभएको बताए ।  ‘निर्वाचनमा भाग लिन्न भनेका दलहरुलाई समेत निर्वाचनमा ल्याउन संवाद गर्ने र हरसम्भव पहल गछौं,’ उनले भने, ‘निर्वाचनका लागि सरकारलाई सहयोग पनि गछौं र खबरदारी पनि गर्छौ ।’  

चुनावको मिति घोषणा भइसके पनि दलहरुले निर्बाध रुपमा आफ्ना गतिविधि गर्न नपाएकोमा भने कांग्रेसले प्रश्न उठाएको छ । तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न कांग्रेसले सरकारसँग माग गर्ने निर्णय गरेको छ । 

कांग्रेसले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने पनि निर्णय गरेको छ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि ‘नेपाली कांग्रेस’ लाई निर्वाचन आयोगमा दर्ता गर्ने बैठकको निर्णय छ ।  

जेनजीको मागमा समर्थन, भदौ २४ को छानबिन माग 
कांग्रेसले भदौ २३ गते जेनजी आन्दोलनले उठाएका मागमा समर्थन जनाउँदै पूरा गर्ने प्रतिबद्धता जनाएको छ । तर, भदौ २४ गते भएको आक्रमण, तोडफोड, लुटपाट र आगजनीका घटना विश्वंसकारी भन्दै पार्टीले छानबिनको माग गरेको छ । विध्वंसकारी घटना छानबिन गरी कानून बमोजिम कार्वाही गर्न तथा पीडितहरूलाई उचित क्षतिपूर्तिसहित न्याय दिन  कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । 

भदौ २४ को घटनामा क्षति भएका व्यापारिक तथा व्यवसायिक प्रतिष्ठानहरू एवं अन्य साना व्यवसायीहरूलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी उनीहरूलाई पुनः व्यवसाय सञ्चालन गर्न सक्ने सुरक्षित वातावरण निर्माण गर्न र स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल उठाउन पनि कांग्रेसले माग गरेको छ । 

संसद विघटन असंवैधानिक 
कांग्रेसले संसद् विघटनको निर्णयलाई भने असंवैधानिक ठहर गरेको छ । सुशीला कार्कीले प्रधानमन्त्रीको जिम्मेवारी लिएलगत्तै संसद् विघटन सिफारिस गरेकी थिइन् । संसद् विघटनले लोकतान्त्रिक अधिकार जोखिममा पारेको भन्दै अन्तरिम सरकार गठन र प्रतिनिधिसभा विघटनको विषयमा  सर्वोच्च अदालतको अन्तिम व्याख्या पर्खने पनि कांग्रेसको निर्णय छ ।  

हाल कार्कीको प्रधानमन्त्रीमा नियुक्ति र संसद् विघटनको विषय परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । 

अराजक गतिविधिप्रति चिन्ता
विद्यमान शान्ति–सुरक्षाको अवस्था र पछिल्ला दिनमा बढिरहेका उत्तेजक तथा अराजक गतिविधि प्रति कांग्रेसले चिन्ता व्यक्त गरेको छ । उसले सबै पक्षलाई संयमता अपनाउनका लागि आग्रह गर्दै संवादबाटै समाधान खोज्न आग्रह पनि गरेको छ । ‘लोकतान्त्रिक व्यवस्था र विधिको शासनमा लहड वा आवेगमा कसैलाई निषेध गर्नु, शान्तिपूर्ण प्रदर्शन तथा विचार अभिव्यक्तिमा बन्देज लगाउने प्रयास गर्नु स्वाभाविक वा स्वीकार्य मान्न सकिँदैन । यस्तो कार्य संविधानको आधारभूत मूल्य मान्यता विपरीत छ,’ कांग्रेस बैठकको निर्णय छ, ‘अहिले उत्तेजना होइन, संयम; निषेध होइन, संवाद; अविश्वास होइन, विश्वास र समझदारी आवश्यक भएकोले कुनै पनि हिंसा वा उत्तेजनाको बाटो नअपनाउन, निषेधको राजनीति नगर्न तथा संयमता अपनाएर संवादमार्फत समाधान खोज्न सम्बद्ध सबै पक्षलाई नेपाली कांग्रेस आह्वान गर्दछ ।’

टुंगिएन महाधिवेशनको विवाद 
कांग्रेस केन्द्रीय समिति बैठकले १५औं महाहधिवेशनबारे भने  निर्णय गर्न सकेन । असोज २८ गतेबाट सुरु भएको बैठकको मूल विषय महाधिवेशन भए पनि पार्टीभित्र सहमति नजुट्दा उक्त विषय अझै अनिर्णीत बन्न पुगेको छ । शनिबार सानेपामा समापन भएको बैठकले १६ बुँदे निर्णय गरे पनि महाधिवेशनबारे भने ठोस निर्णय भएन । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले निर्वाचनअघि पार्टीको महाधिवेशन हुनुपर्ने अडान राखिरहेका थिए भने करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका छन् ।
 
बैठकपछि महामन्त्री थापाले पार्टीका लागि विशेष महाधिवेशन अब निर्विकल्प भएको बताए । नियमित महाधिवेशनका लागि आफूले केन्द्रीय समितिमा कार्यतालिकासहित प्रस्ताव पेस गरेको तर नेताहरूले सकिन्न भनेको हुँदा अब विशेष महाधिवेशन निर्विकल्प भएको उनको  भनाइ छ । ‘आज हामीले चुनावमा जाने निर्णय गरेका छौं । चुनावमा जाने उत्तम विकल्प के हो भने जुन दिन विशेष महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यो दिन कांग्रेसको विशेष महाधिवेशन गर्नुपर्दछ,’ उनले भने । 

महामन्त्री थापाले मंसिरको २७ मा विशेष महाधिवेशन गर्नुपर्ने प्रस्ताव गरेका थिए । ‘पुस मसान्तभित्रमा आवधिक निर्वाचन पनि गर्दिन र आवधिक नगरेपछि विशेष महाधिवेशन पनि गर्दिन भन्न त पाइँदैपाइँदैन,’ महामन्त्री थापाले भने ,‘त्यो विधानको धाराको अर्कै व्यवस्था हो । कि पुस मसान्तभित्र महाधिवेशन गर्ने गरी निर्णय गर्नुपर्दछ । कसैले कार्यतालिका खोजेको होइन । महाधिवेशन खोजेको हो । यो दुईटा भन्दा अरु कुनै ठाउँ हामीलाई छैन ।’

कांग्रेसको अर्को बैठक मंसिर ११ गते दिउँसो २ बजे बस्ने तय भएको छ । उक्त बैठकबाट महाधिवेशनको टुंगो लाग्ने महामन्त्री थापाको दाबी छ । तर, सभापति देउवा पक्ष चुनावपछि महाधिवेशन गर्ने पक्षमा उभिएकाले सहमति जुटाउने सकस भने बाँकी नै देखिन्छ । सभापति निकट पार्टी प्रवक्ता प्रकाशशरण महतले पनि अब बस्ने बैठकमा महाधिवेशनबारे निर्णय आउने बताए । ‘अर्को बैठक ११ गते बोलाइएको छ, महाधिवेशन र विशेष महाधिवेशनबारे उठाइएको विषयमा हामी चाँडै निर्णय गर्छौँ,’ उनले भने । उनले विशेष महाधिवेशन माग गर्नेहरूको भावनालाई सम्बोधन गरेर नियमित महाधिवेशनको कार्यतालिका आउने दाबी गरे । 

यस्ता छन् बैठकका मुख्य निर्णय

जेनजी प्रदर्शनका घटनामा परी मृत्यु भएका १९ तथा ५७ जनाप्रति गहिरो श्रद्धाञ्जली, घाइतेहरूको निःशुल्क उपचार र पीडित परिवारलाई क्षतिपूर्तिको माग

भदौ २४ का आगजनी, लुटपाट, तोडफोड र व्यापक विध्वंसकारी गतिविधिको कडा निन्दा तथा सत्यतथ्य,  निष्पक्ष छानबिन गर्दै कानूनी कारबाही गर्न सरकारलाई माग

लुटिएका हातहतियार फिर्ता गराउने, फरार कैदीबन्दी नियन्त्रणमा ल्याउने र नष्ट भएका प्रहरी तथा सरकारी संरचनाको तत्काल पुनर्निर्माणको आग्रह

प्रभावित व्यापारी–व्यवसायीलाई उचित क्षतिपूर्ति र सुरक्षित व्यवसाय वातावरण सुनिश्चित गर्न सरकारलाई माग 

जेनजीले उठाएका भ्रष्टाचार अन्त्य, सुशासन, पारदर्शिता सम्बन्धी मुद्दालाई वैध मागका रूपमा स्वीकार गरी पूरा गर्न प्रतिबद्धता

सभापति देउवाको लिखित मन्तव्य अनुमोदन तथा स्वास्थ्यलाभको कामना

पार्टीका पूर्वनिर्णयहरू अनुमोदन गर्दै राष्ट्रिय सभा तथा प्रतिनिधि सभा चुनाव प्रयोजनका लागि दल दर्ता गर्न निर्णय

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठन विषय सर्वोच्चमा विचाराधीन भएकाले अन्तिम व्याख्या अदालतबाट हुनेछ भन्ने धारणा

उत्तेजना, हिंसा र निषेधको राजनीति त्यागी संयम, संवाद र विश्वास अपनाउन सबैलाई आग्रह

जेनजी प्रदर्शनबाट उठेका आवाज सम्बोधन गर्न बहुपक्षीय राष्ट्रिय संवाद सुरू गर्ने निर्णय

सम्पूर्ण घटनाक्रमको अध्ययन–अनुसन्धान र दस्तावेजीकरण गर्ने निर्णय

राष्ट्रिय संकट समाधानका लागि सबै दल, नागरिक समाज र सञ्चारकर्मीलाई एकता, संयमता र सहकार्यको अपील


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्