नेभिगेशन
राजनीति

अन्ततः ओली–पोखरेल आमनेसामने

विद्या रोकिएपछि ईश्वर पोखरेल मैदानमा, ओलीलाई भने– ‘अभिभावकीय भूमिकामा बस्नुस्’

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले चुनौती दिने भएका छन् । पोखरेलले मंगलबार वक्तव्य जारी गर्दै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले तेस्रोपटक अध्यक्ष बन्ने तयारीमा रहेका अध्यक्ष ओलीलाई अभिभावक बन्न सुझाव पनि दिएका छन् । एमालेको महाधिवेशन मंसिर २७–२९ काठमाडौंमा हुँदैछ ।

‘शक्तिमा होइन, विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु। ११औं राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उम्मेदवारका रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु,’ पोखरेलले मंगलबार जारी वक्तव्यमा भनेका छन्, ‘पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हूँ ।’

मंसिर १३ मा एमालेले महाधिवेशन प्रतिनिधि चयन गर्दैछ । अध्यक्षको उम्मेदवारी घोषणा गर्दै पोखरेलले प्रतिनिधि छनोटमा उच्च विवेकको प्रयोग, स्वस्थ, मर्यादित र निर्भयताका साथ सक्रिय सहभागी हुन पार्टी सदस्यहरूलाई आह्वान गरेका छन् । उनले अध्यक्ष ओलीलाई उनैले अघि सारेको लोकतन्त्रसम्बन्धी मान्यताको स्मरण गराउँदै मैदान खाली गर्न आग्रह पनि गरेका छन् । उनले भनेका छन्, ‘पार्टीको आन्तरिक लोकतन्त्रसम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड के पी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।’

दुई कार्यकाल पदाधिकारी, जबजको समीक्षा

पोखरेलले अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै पार्टीको मुख्य नेतृत्वमा दुई कार्यकालको प्रावधानलाई पार्टी विधानमा पुनस्र्थापित गरिनुपर्ने प्रस्ताव अघि सारेका छन् । ओलीलाई तेस्रो कार्यकालका लागि प्रतिस्पर्धा गर्न बाटो खोल्ने गरी गत भदौ तेस्रो साता एमालेको विधान संशोधन गरिएको थियो । संशोधनका क्रममा दुई कार्यकाल मात्र कार्यकारी पदमा रहन पाइने र ७० वर्षे उमेर हदको प्रावधान हटाइएको थियो ।

पोखरेलले उम्मेदवारी घोषणा गर्दै २ कार्यकालको व्यवस्था ब्यूँताउने बताएका हुन् । कार्यकालको व्यवस्थाबारे बोलेपनि यसअघि हटाइएको ७० वर्षे उमेरहदबारे भने पोखरेल मौन छन् । पोखरेल आफैं ७३ वर्ष पुगिसकेका छन् ।

त्यस्तै, पोखरेलले मदन भण्डारीको अगुवाइमा स्थापित नेपाली विशेषता र मौलिकतामा आधारित जनताको बहुदलीय जनवादको कार्यान्वयनमा पार्टीले विगतमा प्राप्त गरेको अनुभवको वस्तुनिष्ठ समीक्षा हुन आवश्यक रहेको पनि बताएका छन् । ‘म जनताको बहुदलीय जनवादका विगत ३३ वर्षका अभ्यास र अनुभवहरूका समीक्षा गर्दै जबजलाई सिर्जनात्मक ढंगले कार्यान्वयन गर्न तमाम कमरेडहरूमा अपिल गर्दछु,’ उनले भनेका छन् ।

यसका लागि महाधिवेशनपश्चात् पार्टी स्कूल विभाग र नीति अध्ययन प्रतिष्ठानको आयोजनामा देशव्यापी अन्तरक्रिया, छलफल, गोष्ठी आयोजना गर्ने, अन्तर्राष्ट्रिय अनुभवहरूको अध्ययन गर्ने, बौद्धिक तथा राजनीतिक व्यक्तिहरूसँग समेत छलफल र अन्तरक्र्रिया गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले निर्वाचनमा अन्तरघात गर्ने, पार्टी अनुशासन उल्लंघन गर्ने, राज्यका कानूनबाट दण्डित हुने प्रकृतिका घटनामा संग्लनहरू माथि कार्वाही गरिनुपर्ने पनि बताएका छन् ।

एमाले अध्यक्ष ओलीले उठ्छु भन्नेलाई नरोक्ने र आफ् नो दाबी रहने सन्देश दिइसकेकाले महाधिवेशनमा ओली–पोखरेल प्रतिस्पर्धा हुने पक्का देखिएको छ । पोखरेलको उम्मेदवारीका विषयमा ओलीका विश्वासपात्र मानिने एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत भन्छन्, ‘उहाँहरूलाई मेरो आग्रह छ, यसपटक हामी ओलीमै समाहित हौं ।’

विद्या रोकिँदा मैदानमा ईश्वर

पार्टीभित्र ओलीको विकल्पका रुपमा हेरिएकी विद्या भण्डारी ओलीको असहमतिपछि एमाले आउन रोकिएकी छन् । विद्या रोकिएपछि ओलीको विकल्पका रूपमा यो समूहले वरिष्ठ उपाध्यक्ष पोखरेललाई अघि सारेका हुन् । विद्याको बलियो साथपछि पोखरेल अध्यक्षका लागि अघि बढेको चर्चा एमाले वृत्तमा छ ।

राजनीतिक विश्लेषक जैनेन्द्र जीवन एमाले फर्कने विद्याको चाहना पूरा नभएपछि उनको पक्षमा उभिएका पोखरेललाई उनैले अघि सारेको ठान्छन् । ‘यो विद्या र ओलीजीको व्यक्तिगत र राजनीतिक टकरावकै उपज हो । ओलीले आफ्नो प्रभाव प्रयोग गरेर विद्याजीलाई आउन नदिएपछि उहाँले ईश्वरजीलाई अघि सार्नुभएको छ,’ उनी भन्छन्,‘ओली अलोकप्रिय भए भनिरहँदा पोखरेलको व्यक्तित्व पनि वाउ भन्ने छैन । उनको उम्मेदवारीले ओलीलाई चुनौती चाहिँ थपेको छ ।’

विद्याको सदस्यताको पक्षमा वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षहरू सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराई खुलेका थिए । उनीहरूले सार्वजनिक रूपमै नेतृत्व पुनर्गठनको वकालत गरिरहेका छन् । नेतृत्व पुनर्गठनको पक्षमा उभिएका उनीहरू अध्यक्षमा पोखरेलको पक्षमा उभिने पोखरेल पक्षको दाबी छ ।

उता ओलीलाई अध्यक्षमै कायम राख्ने पक्षमा महासचिव शंकर पोखरेल, विष्णु पौडेल, उपाध्यक्ष गुरु बराल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल, पोलिटब्युरो सदस्य महेश बस्नेत लगायतका नेताहरू देखिन्छन् । जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक अवस्थामा ओलीको विकल्प खोज्न नहुनेमा उनीहरूको जोड छ ।

२०६५ फागुनमा बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा अध्यक्षका लागि ओली र झलनाथ खनालबीच प्रतिस्पर्धा भएको थियो । त्यसबेला खनालसँग ओली पराजित भएका थिए । २०७१ असारमा काठमाडौंमा भएको नवौं महाधिवेशनमा ओली र माधवकुमार नेपालबीच प्रतिस्पर्धा हुँदा ओली अध्यक्ष निर्वाचित भएका थिए भने उनकै समूहबाट पोखरेल महासचिव बने ।

त्यस्तै, मंसिर २०७८ मा सम्पन्न १०औँ महाधिवेशनमा ओली र भीम रावलबीच प्रतिस्पर्धा भएको थियो । त्यतिबेला दोस्रो कार्यकालका लागि ओली अध्यक्ष निर्वाचित हुँदा उनकै प्रस्तावमा पाखरेल सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन भएका थिए । भएका थिए । पोखरेल ११औं महाधिवेशनमा भने ओलीसँगै अध्यक्षको प्रतिस्पर्धामा उत्रिएका छन् ।

ओली र पोखरेल प्यानलकै गृहकार्यमा

एमाले अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेल पक्ष प्यानल नै बनाएर चुनावी प्रीतस्पर्धामा जुटेका छन् । स्रोतका अनुसार पोखरेलको टिममा उपाध्यक्षमा सुरेन्द्र पाण्डे, महासचिवका लागि सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्ट आकांक्षी रहेको बुझिएको छ । नेतृ बिन्दा पाण्डेले सचिवमा उम्मेदवारी दिने तयारी गरेकी छन् । पदाधिकारीसहित सबै पदमा उम्मेदवार दिने गरि प्यानल बन्ने पोखरेल पक्षको दाबी छ । त्यस्तै, ओलीको टिममा उपाध्यक्षमा विष्णु पौडेल र महासचिवमा शंकर पोखरेल नै दोहोरिने चर्चा छ । उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले पनि महासचिवमा आकांक्षा देखाएको र महासचिवमा पोखरेल दोहोरिए ज्ञवाली र गुरुङलाई उपाध्यक्ष बनाउने गरी छलफल भइरहेको बताइन्छ । एक जना महिला उपमहासचिव बनाउँदा सचिव पद्मा अर्यालको सम्भावना छ ।

सचिवमा भीमप्रसाद आचार्य, लालबाबु यादव, किरण गुरुङ, भानुभक्त ढकाल, खगराज अधिकारी, शेरधन राई र राजन भट्टराईले दाबी गरेको ओली निकट स्रोत बताउँछ । एमालेमा १५ जना पदाधिकारीसहितको २५१ सदस्यीय केन्द्रीय कमिटी हुनेछ । महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष ३, महासचिव, उपमहासचिव ३, सचिव ७ सहित २५१ सदस्यीय केन्द्रीय कमिटीको निर्वाचन गर्ने छ । प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीको पदेन सदस्य हुने व्यवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्